• १४ जेठ २०८१, सोमबार

सन्दर्भ पनौतीका केही जात्रापर्वहरूको

blog

प्राकृतिक सौन्दर्यले सजिएको ऐतिहासिक एवं सांस्कृतिक नगर हो पनौती । कलापूर्ण मूर्तिहरू र मन्दिरहरूले सजिएको यो नगर कलात्मक छ । शचीतीर्थ, उत्तरप्रयाग, पावनधाम आदि उपनाम पाएको यो नगर धार्मिक आस्थाको केन्द्रविन्दु हो । यो नगर प्रकृति र संस्कृतिको बेजोड मेलबाट बनेको छ । प्राचीन समयमा अश्मनगर, पलाँती, पलाती, अश्मपुर, पाञ्चाल, पुण्यमतीजस्ता नाम पाएको पनौती नगर आफैँमा खुला पुरातात्त्विक सङ्ग्रहालय हो । अनेकौँ रोमाञ्चक एवं उपदेशप्रद किंवदन्तीहरू बोकेको यो पनौती इतिहासपुरुषदेखि देवताहरूसम्मको प्यारो तीर्थस्थल हो– तपोभूमि हो । यसै पनौती नगरमा वर्षभरिमा मनाइने अनेकौँ जनत्रापर्वहरूका बारेमा जानकारी दिने उद्देश्यले साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले पनौतीका केही जात्रापर्वहरू नामक पुस्तक हालै प्रकाशनमा ल्याएका छन् । 

सूर्यप्रसाद लाकोजू पनौतीमा जन्मेका साहित्यकार हुन् । उनको कलम अनुसन्धान, संस्कृतिजस्ता विषयमा पनि निरन्तर चलिरहेको छ । उनका करिब तीन दर्जन पुस्तक प्रकाशित छन् । अक्षरमार्गका सम्पादकसमेत रहेका उनले सांकृतिक अनुसन्धानमा पनि उत्तिकै सक्रिय रहेका छन् । उनको हालै प्रकाशित कृति पनौतीका केही जात्रापर्वहरूले प्राचीन नगर पनौतीको परिचय मात्र दिएको छैन, त्यहाँको ऐतिहासिक पृष्ठभूमि, त्यहाँ मनाइने जात्रापर्वका विषयमा ज्ञान दिने काम गरेको देखिन्छ ।

पुस्तकमा जम्मा चार खण्ड छन् । पहिलो खण्ड ‘क’मा हाम्रो पनौती राम्रो पनौती र पनौतीको इतिहास रहेका छन् भने दोस्रो खण्ड ‘ख’मा पनौती नगरभित्र मनाइने विभिन्न जात्राहरूका बारेमा वर्णन गरिएको छ । जस्तै पनौती जात्रा, कृष्ण जात्रा, खोपासीको भीमसेन जात्रालगायतका तेह्रवटा जात्राहरूको बारेमा उल्लेख गरिएको छ । त्यस्तै तेस्रो खण्ड ‘ग’मा पनौतीका केही पर्वहरू नाम दिई इही, मातृऔँसीलगायतका २९ वटा पर्वहरूका बारेमा जानकारी दिइएको छ । त्यसैगरि खण्ड ‘घ’मा पनौतीमा देखाइने केही मकुण्डो नाचहरूका बारेमा वर्णन गरिएको छ । यसरी समावेश गर्ने क्रममा हरेक जात्रा, पर्व र नाचहरूलाई मनाइने समयअनुसार मिलाएर प्रस्तुत गरिएको छ । 

पनौती सम्भवत काठमाडौँ उपत्यकामा मनाइने चाडपर्व र जात्रापछि नेपालकै विविध चाडपर्व र जात्राहरू मनाइने धार्मिक तथा सांसकृतिक महत्त्वको सहर हो । यसै सहरको बारेमा विविध जानकारी पाठकहरूलाई दिनु पनि एउटा असल कर्म हो । यो असल कर्मलाई लेखक सूर्यप्रसाद लाकोजूले केही मात्रामा पूरा गरेका छन् । पुस्तक लेख्ने क्रममा उनले थुप्रै अध्ययन गरेका छन् । थुप्रै सन्दर्भ सामग्री बटुलेर ज्ञानार्जन गरेका छन् । अनि थुप्रै संस्कृतिविद्हरूसँग प्रत्यक्ष जानकारी लिएका छन् । यसरी उनले पुस्तक तयार गर्न धेरै पसिना खर्चेका देखिन्छन् । जात्रापर्वहरूका तस्बिरहरूले पुस्तकलाई जीवन्त पारेका छन् । यस पुस्तकभित्र रहेका हरेक सांस्कृतिक निबन्धले परम्परागत कुरा मात्र गरेको छैन, ती हाम्रा संस्कृतिलाई विज्ञानसँग जोड्ने प्रयास पनि उनले गरेको देखिन्छ । हाम्रा जात्रापर्वहरूको धार्मिक, सांस्कृतिक महत्त्व त छँदैछ साथै ती चाडपर्वहरूको वैज्ञानिक महत्त्व समेत रहेको कुरा पुस्तकमा पाइन्छन् । पुराना प्रचलनभित्र पनि विज्ञान रहेको कुरा लेखकले प्रस्तुत पुस्तकमार्फत देखाउन खोज्नु यो पुस्तकको विशेषता हो । वरिष्ठ कलाकार केके कर्माचार्यले तयार पारेको पुस्तकको आवरण आकर्षक रहेको छ । 

साँच्चै प्रकृति, संस्कृति, धर्म र इतिहासका दृष्टिले महत्त्वपूर्ण स्थल पनौतीको बारेमा बुझ्न यस्तै महत्त्वपूर्ण पुस्तक आवश्यक पर्दछ । यसरी पनौतीबारेमा विविध जानकारीसहित पुस्तक लेख्नु र प्रकाशन गर्नु कम्तीको चुनौतीको विषय थिएन । पठनीय कृति पाठकहरूलाई सुम्पेकोमा लेखक सूर्यप्रसाद लाकोजूलाई हार्दिक बधाई । 

कृति  : पनौतीका केही जात्रापर्वहरू

लेखक  : सूर्यप्रसाद लाकोजू

प्रकाशक :अक्षरमार्ग

प्रकाशन : २०७९

पृष्ठ :१६+२६०

मूल्य  : रु. १०००।– (हार्ड कभर) ।


Author

रामसुन्दर देउजा