• ८ मंसिर २०८१, शनिबार

एक सङ्गीत साधकको जीवनकथा

blog

नेपाली चलचित्र इतिहासमा वा कला सङ्गीत क्षेत्रमा प्रवासी नेपालीहरूको योगदान, श्रम, मेहनतको बेग्लै महìव छ । चलचित्रमा मात्र होइन, नेपाली साहित्य, साङ्गीतिक अनि कला क्षेत्रमा पनि यो कुरा लागू हुन्छ । 

नेपाली सिने क्षेत्रको चालीसको दशकदेखि साठीको दशकमा प्रवासी नेपाली सङ्गीतकार रञ्जित गजमेरले एकपछि अर्को हिट गाना दिनुभयो । अहिलेको जस्तो सामाजिक 

सञ्जाल त्यसबेलामा हुँदो हो त सोसियल ट्रेन्डिङका माथिल्ला स्थानमा रहने अर्थात् भाइरल हुने गीतहरू उहाँकै सङ्गीत रहेको, उहाँकै धर्मपत्नीले रचना गरेको वा प्रवासकै गायक गायिकाले स्वर भरेको (अपवादमा उदित नारायण) गीत, सङ्गीत नै हुन्थ्यो होला ।

त्यसबेलाका दार्जिलिङमा सङ्घर्षरत रञ्जित गजमेरबाट सिने दुनियाँको दोस्रो नामुद बलिउडमा स्थापित रञ्जित गजमेरमा काँचुली फेर्न कति दुःख कष्ट झेल्नुप¥यो, शेखर खरेलले लेख्नुभएको मोहनी मादलको नामक पुस्तकमा सप्रसङ्ग उल्लेख गर्नुभएको छ । 

दार्जिलिङमा त्यसबेलाको अभावको जिन्दगीमा गाना बजानाप्रतिको मोहलाई कसरी काठमाडाँै अनि त्यो बेलाको बम्बईका कसरी डो¥याए, सबै इतिवृत्तान्त समेटिएको छ । शेखर खरेलले थोरै शब्दमा सबै कुरा समेट्नु भएको छ । 

रञ्जित गजमेरको बाल्यकालदेखि असामयिक निधन भएकी आफ्ना अर्धाङ्गिनीसम्मका कथाव्यथा विभिन्न बीस शीर्षकमा राखिएका छन् । यस पुस्तकको मूल चुरो वा रञ्जित गजमेर तुलनात्मक रूपमा बम्बईमा सहजै स्थापित हुनुको कारण मादल नै थियो । त्यसैले पनि पुस्तकको शीर्षक पनि यसैसँग सम्बन्धित राखियो । 

नेपाली लोकबाजा मादललाई बलिउड संसारको सङ्गीत क्षेत्रमा अभिन्न अङ्ग बनाइदिए, रञ्जित गजमेरले । सही मानिस (रञ्जित गजमेर) सही साधन (मादल) बोकेर सही समयमा (देवानन्दले हरेराम हरेकृष्णको सुटिङ नेपालमा गर्ने सोच गरिरहेका बेला पञ्चमदासँग नेपाली साङ्गीतिक साधन पनि खोजिरहेकै बेला) पुगेकाले रञ्जित गजमेरले बम्बईमा सहजै उडान भर्न सक्नुभयो । 

नभए त बर्सेनि हजारौँ मानिसहरू आफ्नो भविष्य बनाउन बम्बई पुग्ने गर्छन्, अधिकांशको सपना अङ्कुराउन नपाई नै तुहिन्छ । रञ्जित गजमेर यस मानेमा भाग्यमानी ठहरिए । 

कुसुम गजमेरसँगको माया प्रीतिको कुरा, नेपाल आउँदाका फेहरिस्त अनि एकेडेमी एवं रेडियो नेपालमा गरिएका सङ्घर्षका कथाहरू, बम्बईलाई गन्तव्य बनाई चालिएको कदम, नेपाली चलचित्रहरूमा एकपछि अर्को गर्दै भरेका साङ्गीतिक मेलोडीहरू, पञ्चमदाका बाबु छोरासँगका किस्साहरू, बम्बईको आफ्नो निवास (स्मृति बिल्डिङ)मा नेपाली भाषीहरूको नियमित जमघटसँगै नेपाली चलचित्र अनि सङ्गीतका योजनाहरू, नारायण गोपाल, गोपाल योञ्जन, प्रेमध्वज, आशा भोंसलेसँगका कहानीहरू आदि इत्यादि सबै समेटिएको छ– मोहनी मादलको शीर्षकको पुस्तकमा ।

पुस्तकभरिमा दुईटा कुरा भने साह्रै नै दुःखलाग्दो छ । एक, आफ्नो टोलीको रगत पसिनाले बनाएको सुपर डुपर हिट चलचित्र कुसुमे रुमालको नेपालमा दर्ता गर्नैपर्ने प्राविधिक बाध्यताका कारण आपूmलाई गरिएको ठगी । दुई, आधा दशकभन्दा अलि बढी समय अति निकट रहेका कुसुम गजमेरको असामयिक निधन । 

पुस्तकमा रञ्जित गजमेरको जीवनी यसरी सलल उतारिएको छ कि पुस्तक छिट्टै पढ्न सकिएला भनेर चिन्ता मान्नुपर्ने हुन्छ । नेपाली साङ्गीतिक इतिहासमा नारायण गोपाल र गोपाल योञ्जनबाहेक अन्यको यस्तो बायोग्राफी छैन जस्तो लाग्छ, सङ्गीतकारको त झनै छैन । यस मानेमा पनि शेखर खरेल अनि वी रिड (कथालयको एक शाखा)को प्रयास निकै सह्राहनीय छ । रञ्जित गजमेरको जीवनी उतार्ने योजना फुराएका श्रीभक्त खनाललाई धन्यवाद दिनुपर्छ ।

पुस्तकको पुछारतिर रञ्जित गजमेरद्वारा सङ्गीतबद्ध करिब २०२ वटा नेपाली गीतहरूको फेहरिस्त एवं अन्तिममा रञ्जित गजमेरको जीवनको उकाली ओरालीका साक्षीरूपी ४० वटा छायाचित्रले पुस्तकको वजन बढाइदिएको छ । आगामी दिनमा यस्तै कला महारथीहरूका जीवनगाथा कोरल्ने जमर्को भइरहोस् । 

पुस्तक : मोहनी मादलको

विधा : जीवनी

प्रकाशक : वी रिड (कथालयको एक शाखा)

मूल्य : रु. ५५०

पृष्ठ :२४४ ।

Author

डा. सुमनराज ताम्राकार