• ६ जेठ २०८१, आइतबार

मीठा शब्द र सुन्दर भावनाको धाराप्रवाह

blog

श्रीबाबु कार्कीको नवीनतम निबन्धकृति हो ‘सन्दिग्ध शताब्दी’ । आत्मपरक शैलीमा लेखिएका निबन्धहरूको सङ्ग्रह ‘सन्दिग्ध शताब्दी’भित्र मध्यम आकारका जम्माजम्मी १४ वटा निबन्ध सङ्गृहीत छन् । फरक विषय र फरक सन्दर्भमा लेखिएका भए पनि हरेक निबन्धको विषयको केन्द्रविन्दु जीवन र जगत् नै रहेको छ । जीवन र जगत्लाई विभिन्न कोण र दृष्टिकोणबाट हेर्ने र केलाउने प्रयास श्रीबाबुले गरेका छन् । 

‘सन्दिग्ध शताब्दी’ सङ्ग्रहभित्रका निबन्ध पढ्दै गर्दा पठनको आनन्द मात्रै प्राप्त हुने होइन मृत्युचिन्तन र जीवनदर्शनका विषयमा गहिरोसँग घोत्लिन पनि बाध्य पार्छन् । उनका निबन्ध पढ्दै गर्दा मनमा आनन्द हुन्छ तर मस्तिष्कमा चाहिँ झनन्न हुन्छ । जीवनको यथार्थलाई सुन्दर शब्दका थुँगाहरूको संयोजन गरेर एकदमै काव्यात्मक शैलीमा लेखिएका निबन्धहरूले पाठकलाई मनमुग्ध पार्नेछन् । निबन्धपठनका बेला पाठकले पटक–पटक आहा ! र वाह ! भन्नेछन् । उनको सुन्दर लेखनशिल्पको हृदयतः तारिफ गर्नेछन् ।

सङ्ग्रहका हरेक निबन्ध शक्तिशाली छन् र प्रभावशाली छन् । हरेक निबन्धमा वैयक्तिक आत्मप्रकटीकरण र अनुभूतिका निजात्मक अभिव्यक्ति छन् । ख्याति प्राप्त समाचोलक डा. लक्ष्मणप्रसाद गौतमका शब्दमा श्रीबाबुका निबन्धमा अनुभूतिको तरलता छ, विचार र चिन्तनको ठोसपन छ, निश्छल अभिव्यक्ति छ र निबन्धका केन्द्रीय विचारलाई कतै साङ्केतिक, कतै अन्योक्तिमूलक र कतै गम्भीर बनाएर प्रस्तुत गर्ने पृथक् कला पनि छन् । 

वर्तमान समाज, संस्कृति, प्रकृति, मान्छे र उसको चरित्र श्रीबाबुका निबन्धका विषय बनेर आएका छन् । अनि ती निबन्धहरूमा उनका गहन चिन्तन, भावना, विचार र कल्पनाशीलता छताछुल्ल पोखिएका छन् । लेखनमा कवितात्मक शब्द–सुन्दरता, ठेट नेपाली शब्दको प्रयोग, ग्रामीण जनजीवनका विषय र सन्दर्भहरूलाई टपक्क टिपेर शब्दका माला उनेर चिटिक्कको कलात्मक निबन्ध लेख्ने उनको छुट्टै शैलीले निबन्धमा उनको निजी वैशिष्ट्य स्थापित गरेको छ भन्न सकिन्छ । हरेक विषयवस्तुलाई अन्तरङ्ग बनाएर निबन्ध लेख्ने उनको भिन्न विशेषता छ । उनले हरेक निबन्धमा आफ्नोपन छोडेका छन् । 

निबन्धको शीर्षक चयनमा उनको लेखकीय कुशलता झल्किन्छ । गम्भीर अर्थ बोक्ने कवितात्मक शीर्षकहरूले नै निबन्धभित्र पनि कवितापठनको स्वाद पाउन सकिन्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ । आत्मपरक अनुभूतिको धाराप्रवाह अभिव्यक्तिले पाठकलाई चकित पार्नेछ । पठनको आनन्द प्रदान गर्नेछ । मनलाई आल्हादित तुल्याउनेछ । 

सन्दिग्ध शताब्दी स्वयं नै आकर्षक शीर्षक हो । सय वर्षको समयलाई शताब्दी भनिन्छ । यति लामो समय नै सन्दिग्ध अर्थात् शङ्कालु अर्थात् अनिश्चित भएपछि अरू धेरै कुरा सन्दिग्ध नै बन्न पुग्छन् । जस्तो सौन्दर्य सन्दिग्ध छ । सभ्यता सन्दिग्ध छ । सम्बन्ध सन्दिग्ध छ ।

विचारको बहुलता र भावनाको सबलताले निबन्धहरू निकै ओजपूर्ण बनेका छन् । यद्यपि विचार र भावनाप्रधान निबन्ध भईकन पनि सरल र बोधगम्य छन् । निबन्धमा हार्दिकता र कोमलतासँगैसँगै विचार, चिन्तन र कल्पनाशीलता अनि सरलता र बोधगम्यता निबन्धकार श्रीबाबु कार्कीको निबन्धकारिताका विशेषताका रूपमा आएका छन् ।

जीवन र जगत्लाई सकारात्मक सोचसहित विभिन्न कोण र दृष्टिकोणबाट नियाल्ने र आफ्ना अनुभव, अनुभूति र सुन्दर भावनालाई लयात्मक र काव्यात्मक शिल्पले सजाएर अत्यन्तै प्रभावशाली ढङ्गले सम्प्रेषण गर्ने क्षमता श्रीबाबु कार्कीको निबन्धमा झल्किाएका छन् । निबन्धहरू काव्यात्मक छन् । निबन्धको क्षेत्रमा उनको आफ्नो विशिष्ट पहिचान स्थापित गर्न यी निबन्धहरूले विशिष्ट भूमिका निर्वाह गर्नेछन् । 

कृति : सन्दिग्ध शताब्दी

विधा : निबन्ध

निबन्धकार : श्रीबाबु कार्की

प्रकाशक: साझा प्रकाशन

प्रकाशन: २०७९

पृष्ठ: ८४

मूल्य : रु. २३५–

Author

रत्न प्रजापति