• २५ चैत २०८२, बुधबार

गाउँमा पानी आउने भएपछि बसाइँसराइ रोकिने विश्वास

blog

फाइल तस्बिर

ललित बसेल

सुर्खेत, चैत २५ गते । वर्षौंदेखि खानेपानीको चरम अभाव भोगिरहेको पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चा गाउँमा खानेपानी ल्याउने तयारीपछि बसाइँसराइको क्रम रोकिनेमा स्थानीय आशावादी बनेका छन् । 

गाउँबाट करिब तीन किलोमिटर टाढा रहेको खोलाको मुहानबाट पानी ल्याएर आगामी साउनदेखि पानी वितरण गर्ने लक्ष्यसहित ट्याङ्की निर्माणलगायतको काम भइरहेको छ । गाउँमा पानी आउने भएपछि पानीको अभावमा बसाइँ सर्ने क्रम पनि रोकिनेमा स्थानीय आशावादी बनेका छन् । 

बेलायतका पूर्वगोरखा सैनिकको संस्था कादुरी एग्रिकल्चरल एसोसिएसनको सहयोगमा खारगाडीको तुसारेपानीको मुहानबाट पानी ल्याइँदै छ । त्यसअघि कादुरी संस्थाका निर्देशक डा. नारायण गुरुङलगायतको टोलीले स्थलगत अवलोकन गरेको थियो । रेक्चाका स्थानीय तपेन्द्रबहादुर बुढाक्षेत्रीका अनुसार अहिले पानीका लागि चार वटा ट्याङ्की बनाउने काम भइरहेको छ । उहाँले डबल लिफ्ट गरेर गाउँमा पानी ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । 

मुहानबाट २५ हजार लिटरका दुई वटा ट्याङ्कीमा लिफ्ट गरेर पानी ल्याउनुका साथै गाउँको अग्लो डाँडामा ५० हजार लिटरको एउटा ट्याङ्की तथा २५ हजार लिटरको थप एउटा ट्याङ्की निर्माणका लागि बेसमेन्ट निर्माण गरेर सोलिङ गर्ने काम भइरहेको वडा नं. ५ का वडा सदस्यसमेत रहनुभएका बुढाक्षेत्रीले बताउनुभयो । करिब पाँच करोड रुपियाँ लागतमा पानी ल्याउने काम भइरहेको उहाँले बताउनुभयो । आगामी असार १५ गतेभित्र सबै काम सक्ने गरी काम थालिएको भन्दै उहाँले साउनमा पानी वितरण सुरु गरिने उल्लेख गर्नुभयो । 

मुहानबाट पानी ल्याउने योजना अगाडि सो गाउँमा डिप बोरिङको काम पनि थालिएको थियो । कादुरी संस्थाले  डिप बोरिङ गरेर पानीको समाधान खोज्ने अभियान थालेको थियो । गत फागुनको अन्तिम साता करिब ९० मिटर गहिरो डिप बोरिङ गरिए पनि पानी आउन सकेको थिएन । पछि स्थानीयले मुहान खोज्दै जाँदा तुसारेपानी खोलाबाट पानी ल्याउने योजना बनेको बुढाक्षेत्रीले बताउनुभयो । त्यहाँसम्म पुग्ने बाटो नभएकाले कच्ची सडक भए पनि निर्माण गरिदिन गाउँपालिकालाई आग्रह गरिएको उहाँको भनाइ छ । मुहानको पानी ल्याउने तयारी भएपछि स्थानीय अब पानीको अभावबाट बसाइँ सर्ने क्रम रोकिनेमा आशावादी बनेका छन् । 

गाउँमा पानीको चरम अभाव भएपछि पाँच वर्षको अन्तरमा ५० भन्दा बढी घरधुरी बसाइँ सरिसकेका छन् । त्यहाँको त्रिपालामा करिब २० घर, खेलेको १० घरलगायत अन्य गाउँका गरी करिब ५० घरधुरी पानीको अभावमा अन्यत्र सरेको बुढाक्षेत्रीले बताउनुभयो । पानीको अभावमा बर्सेनि चार÷पाँच घर रेक्चाबाट बसाइँ सर्ने गरेका छन् । अहिले सो गाउँमा एउटा इनार छ । खडेरीको बेलामा सो इनारको पानी पालो लगाएर बाँड्ने गरिन्छ । अहिले ६०/६५ घर रहेको रेक्चामा पानीको अभाव बढ्दै गएपछि प्रतिदिन ६० लिटर पानी बाँड्ने गरिन्छ । उहाँले भन्नुभयो, “गाउँमा पानी आएपछि अब रेक्चाबाट बसाइँ सर्न रोकिन्छ कि ।”