• २५ चैत २०८२, बुधबार

सुनवलमा लुम्बिनी प्रदेशको अटिजम नमुना विद्यालय स्थापना प्रयास

blog

मन्त्रालयको बजेटमार्फत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूका लागि सुनवलमा निर्माणाधीन भवन।तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत २५ गते ।
नेपाल सरकारले सातै प्रदेशमा बौद्धिक अपाङ्गता र अटिजम भएका बालबालिकाका लागि एक–एक नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेसँगै लुम्बिनी प्रदेशका लागि पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी माध्यमिक विद्यालयलाई प्रदेश स्तरीय नमुना विद्यालय बनाउने पहल सुरु भएको छ।

विगत दुई वर्षदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत बजेट विनियोजन भई यस विद्यालयमा विशेष पूर्वाधार निर्माणको कार्य भइरहेको छ। लामो समयदेखि बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई शिक्षा दिँदै आएको यस विद्यालयलाई अब प्रदेशभरिका यस्ता बालबालिकाका लागि आवासीय व्यवस्थासहितको नमुना केन्द्र बनाउने आवश्यकतालाई सरोकारवालाहरूले जोड दिएका छन्।

सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्यालले भन्नुभयो, “लुम्बिनी माध्यमिक विद्यालयमा लामो समयदेखि बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूले सेवा पाउँदै आएका छन्। हाल सरकारको लगानीमा विशेष भौतिक संरचना निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ। यसैले यो विद्यालय लुम्बिनी प्रदेशकै नमुना आवासीय विद्यालयका लागि उपयुक्त र योग्य स्थान हो। नगरपालिकाको तर्फबाट यसलाई प्रदेशस्तरीय पहिचान दिलाउन र यहाँ अध्ययनरत बालबालिकाका लागि आवासीय सुविधा सुनिश्चित गर्न उच्चस्तरीय समन्वय जारी राख्नेछौं। यो परियोजना हाम्रो नगर मात्र नभई लुम्बिनी प्रदेशकै गौरवको मानवीय कार्य बन्नेछ।”

स्थानीय युवा जीवन पौडेलले भन्नुभयो, “हामी स्थानीय युवा र नागरिक समाजका तर्फबाट यो अभियानको पूर्ण समर्थन गर्दछौं। यो विद्यालय मोडल स्कुल बन्नुपर्छ। अब यो परियोजनालाई केवल बजेट र भवनमा मात्र सीमित नराखी आवासीय सुविधासहितको उत्कृष्ट केन्द्र बनाउन दबाबमूलक र रचनात्मक दुवै किसिमका पहल जारी राख्नेछौं।”

प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले पनि यसलाई प्रदेशस्तरीय नमुना विद्यालयको रूपमा विकास गर्नु बुद्धिमानी हुने बताउनुभयो। उहाँले भन्नुभयो, “शून्यबाट नयाँ ठाउँ खोज्ने वा पूर्वाधार तयार गर्नुभन्दा यहाँ भइरहेको प्रगतिलाई अपग्रेड गर्दा छोटो समयमा परिणाम आउँछ। प्रशासनिक तहबाट यसलाई आवासीय केन्द्र बनाउन व्यवस्थापकीय सहजीकरण गर्ने प्रतिबद्धता छ। यसलाई केवल भवन निर्माण मात्र नभई लुम्बिनी प्रदेशकै मानवीय र सामाजिक परियोजनाको रूपमा अगाडि बढाउनुपर्नेमा सबै सरोकारवालाहरूको साझा मत छ।”

सुनवलमा रहेको लुम्बिनी माध्यमिक विद्यालयमा विगत दुई वर्षदेखि मन्त्रालयको बजेटमार्फत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य चलिरहेको छ। यसले अब प्रदेशस्तरीय नमुना आवासीय विद्यालयको रूपमा विकासको बाटोमा अघि बढिरहेको छ।