• १३ जेठ २०८१, आइतबार

ग्रेगोर स्याम्साको कायान्तरण

blog

सन् २०१५ तिर पेस युनिभर्सिटी न्युयोर्कको पहिलो तलामा रहेको पसल बान्र्स एन्ड नोेबेलमा केही पुस्तक खोज्ने क्रममा रामचन्द्र केसीले एक दशक पहिले आफैँले नेपाली भाषामा अनुवाद गरेको सचित्र उपन्यासिका फेला पारे, ‘द मेटामोर्फसिस’ । उत्सुकतावश उनले आफ्ना अमेरिकी सहपाठीसँग यसबारे सोधपुछ गरे । फ्रान्ज काफ्काकृत बीसौँ शताब्दीको अद्भुत आख्यान अन्तर्राष्ट्रिय बजारमा अहिले पनि उत्तिकै लोकप्रिय रहेको चाल पाएर निकै हौसिए । 

केसीलाई लाग्यो– काफ्काको भाव र शैलीलाई यथासम्भव न्याय हुने हिसाबले फेरि काम गर्नुपर्छ र अन्तर्राष्ट्रिय पाठकका लागि फेरि प्रकाशित गर्नुपर्छ । जीवनकालमा काफ्का एक पटक पढ्नु र पढाउनुपर्छ । उनले सन्दिपन संत्रको चित्रसहित अमेरिकाको रिस्टार्ट पब्लिसिङबाट निकाले, ‘मेटामोर्फसिस’ । पूर्वप्रकाशित अनुवादको शीर्षक ‘रूपान्तरण’ भए पनि पाठकको मनमुटुमा बस्न सफल भएकाले अनुवादकले देवनागरीमा ‘मेटामोर्फसिस’ नै रोजे । पछि नेपालको प्रकाशक बुल हिलबाट छाप्दा भने यसको नाम ‘कायान्तरण’ कायम भएको छ । 

अहिलेको दुनियामा न काफ्का अपरिचित छन्, न त ‘द मेटामोर्फसिस’ नै । स्वैरकल्पनाको माध्यमबाट सपनारूपी संसारलाई विपनाजस्तै देखाउने बिछट्ट खुबी भएकाले आजपर्यन्त काफ्का र ‘द मेटामोर्फसिस’ अमर छन् । सन् १९१५ मा प्रकाशित यो उपन्यासिका सय पृष्ठ पनि छैन । तर यसको उचाइ भने हजार पृष्ठका आख्यानले पनि भेट्न सकेका छैनन् । 

पश्चिमा साहित्यमा यसको पहिलो वाक्यले नै हलचल ल्याइदियो, ‘अनौठो सपनाबाट एकाबिहानै ओछ्यानमा ब्युँझिँदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो ।’ त्यसपछि ‘मेटामोर्फसिस’ रोचक हुने कुरै भएन । कपडाको नमुना देखाउँदै हिँड्ने घुमुवा व्यापारी गेग्रोर स्याम्सा अजङ्गको साङ्लामा कायान्तरण भएपछिका दुर्दान्त र विद्रुप अवस्था कल्पनातीत छ । 

खासगरी ग्रेगोरको टाट पल्टिएको व्यापारी बाबुको असंवेदनशील व्यवहारले पाठकलाई द्रवित बनाउँछ । पाठक सोच्न बाध्य हुन्छ, आफ्नै सन्तानमाथि भेदभाव किन ? अभिभावक किन यति संवेदनशून्य र स्वार्थी ? ग्रेगोरका आमा र बहिनी मायालु नै भए पनि घरकी बूढी नोकर्नीले समेत ग्रेगोरलाई गुह्येकीरो भनेर तिरस्कार गर्छे र ग्रेगोरको शवलाई खुसीसाथ तह लगाउँछे । 

पिठिउँको कडा खोलमा उत्तानो परेपछि स्याम्साले त दुःख पायो नै, घुमन्ते व्यापारी हुँदा पनि उसलाई चैन कहाँ थियो र ! जोगीपाराको जागिर झ्याउलाग्दो नै थियो । बिहानदेखि साँझसम्म डुलेको डुल्यै गर्नुपथ्र्यो । रेलका रेल कुद्नुपरेको थियो । जहिल्यै रेल छुट्ला भन्ने पिरलो हुन्थ्यो । न खानको ठेगान, न बस्नको ठेगान, न साथेको ठेगान । एक हिसाबले कायान्तरणपछि त्यो हस्याङफस्याङले विश्राम त पायो । 

त्यो बिहान स्याम्साको रेल छुट्छ । आमा र बहिनी बोलाउन आउँछन् । चुकुल लगाएर सुतेको ग्रेगोर स्याम्साले कसरी खोलोस् ? ग्रेगोर कीरा भएर खाटबाट ओर्लिंदा लडेको, अबेरसम्म कार्यालय नपुगेपछि आफैँ बोलाउन आएको नाइके कारिन्दा आदि दृश्यले द्रविभूत बनाउँछ नै । 

कतिपयले यसलाई फ्रान्ज काफ्काकै आत्मवृत्तान्त पनि भन्ने गरेका छन् । किनभने जर्मनभाषी यहुदी परिवारका काफ्काका बाबु हर्मन आफैँ पनि व्यापारी थिए । उनी हुकुमी शैलीमा चल्थे । साह्रै झोँकी स्वभावका थिए, छोराछोरीको हुर्मत लिन्थे । आफूबाहेक सबैलाई नालायक ठान्थे । त्यसैले काफ्काको हृदयमा बाबुप्रति गहिरो विषाद थियो । ‘मेटामोर्फसिस’मा मात्र नभएर उनले आफ्ना अन्य कृतिमा पनि पिता–पुत्र तिक्त सम्बन्धको चित्रण गरेका छन् । स्याम्साकी बहिनीमा उनकै बहिनी ओल्गाको छाया छ । 

परिवार, मित्रमण्डली र समाजदेखि विरक्तिएर स्वैच्छिक एकान्तवास, उद्दीग्नता, निराशा, असुरक्षा, घृणा, तिक्तता, अविश्वास, मोहभङ्गता र महìवहीन अन्त्य काफ्काकै जीवनका प्रतिध्वनि मानिन्छन् । यसमा मानवीय विद्रूपता र विडम्बनाको भयानक र कारुणिक कथा छ । एक्लिनुको अत्यासलाग्दो पीडाबोध, जीवनको खोक्रोपन र अर्थहीनतालाई काफ्काले जति प्रभावशाली रूपमा सायद कसैले लेख्न सकेको छ । 

काफ्काकृत यो विसङ्गतिबोधी उपन्यासलाई अतियथार्थवाद, जादुयी यथार्थवाद र अस्तित्ववादको त्रिवेणी मानिएको छ । अवचेतन मनका गहिरा र त्रासदीपूर्ण सत्य अनि पुँजीवादी समाजका विरोधाभासप्रति उनले कटुव्यङ्ग्य गरेका छन् । उनको प्रभाव कामुदेखि किर्केगार्ड, मार्खेजसम्मका विश्वका महान् साहित्यकारहरूमा छ । 

फ्रान्ज काफ्काले आफ्नो जीवनकालमा प्रशस्तै कथा र उपन्यास लेखे । तर थोरै मात्र प्रकाशित भए । उनले अमेरिका, द ट्रायल र द कासल आदि उपन्यास अधुरा छाडेर गए । म्याक्स ब्रडले उनको मृत्युपछि सम्पादन गरेर छपाइदिएका छन् । 

अनुवाद पक्कै पनि सजिलो काम होइन । सजिलो भए त सबै लेखक अनुवादक भइहाल्थे । लेखक हुनु र अनुवादक हुनुमा फरक छ । लेखक हुनलाई एउटा भाषाको ज्ञान भए पुग्छ, अनुवादक हुन कम्तीमा दुईवटा भाषाको ज्ञान चाहिन्छ । एकपल्ट अनुवाद गर्दैमा त्यो पूर्ण हुन्छ भन्ने पनि होइन । त्यसो त केसीले मूल जर्मन भाषाबाट यसको उल्था–अनुवाद गरेका होइनन् । अङ्ग्रेजी यसको स्रोतभाषा हो ।

अनुवादका लागि अनुवाद मात्र होला भन्ने डर पनि रहेछ केसीलाई । त्यसकारण उनले काफ्काको जीवनी पढे, उनका रचनामाथि बनेका फिल्म र वृत्तचित्रका साथै इन्टरनेटमा भेटिएका सामग्री अध्ययन गरे । काफ्काका लम्बे बान्कीका नेपाली लोलीबोली अनि शैलीमा ढालेर अनुवादको आत्मा पनि देखाए । 

रामचन्द्र केसी हाई प्रोफाइलका अनुवादक होइनन् । तर उनले जति काम गरेका छन्, नगरी नहुने काम गरेका छन् । अनुवादमा उनको दोहोरो भूमिका छ, नेपाली भाषाबाट अङ्ग्रेजीमा पनि लैजाने र अङ्ग्रेजी भाषाबाट नेपालीमा पनि ल्याउने । उनी फगत शब्दको अनुवाद होइन, भावना, विचार र संस्कृतिको पनि अनुवाद गर्छन् । त्यसैले त यो अनूदित कृति आफैँमा नौलो कृतिजस्तो बन्न गएको छ । 

पेस युनिभर्सिटी न्युयोर्कबाट पुस्तक प्रकाशनमा एमएस र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए गरेका केसी इमरजेन्सी चिकित्सकहरूको विश्वव्यापी संस्था एसेपमा एडुकेसनल कन्टेन्ट म्यानेजर र म्यानेजिङ एडिटर रहिसकेका छन् । हाल उनी अमेरिकाको टेक्सासमा रहेर बुक पब्लिसिङ प्रोजेक्टमा काम गरिरहेका छन् ।

उनको नामले भने पाठकलाई झुक्याइरहन्छ । नेपाली द्वन्द्वकथाहरूको सङ्ग्रह ‘रिबेल’ अनुवाद गर्दा रामचन्द्र खत्री थिए भने ‘मेटामोर्फसिस’ अनुवाद गर्दा उनी रामचन्द्र केसी भए । ग्राफिक उपन्यास ‘जस्टिस : अ टेल अफ नेपाली सिभिल वार’ लेख्दा राम खत्री मात्र भएका छन् । युद्धको अभिघातबाट उनीभित्रको लेखक निकै संवेदित छ भन्ने यसले देखाउँछ । एचजी वेल्सले भनेका रहेछन्, ‘युद्ध समाप्त भएन भने हामी आफैँ समाप्त हुन बेर लाग्दैन ।’

‘मेटामोर्फसिस’ विश्व साहित्यका खजाना नेपालीमा ल्याउने केसीको एउटा उपक्रम मात्र हो । उनले यसअघि विश्वका उत्कृष्ट कथाको स्वाद पनि नेपाली पाठकलाई चखाइसकेका छन् । ओ हेनरी, सरउड एन्डरसन, अर्नेस्ट हेमिङ्वे, ल्याङ्स्टन ह्युज, युडोरा वेल्टी, नागिब माफुज, जोन चिभर, सिन्थिया ओजिक, इजबेल आइएन्डे र ग्याब्रियल गार्सिया मार्खेजको कथाशिल्पलाई उनले नजिकबाट नियालेका छन् । 

अनुवादमा भाव र विचारको रूपान्तरण अत्यन्त महìवपूर्ण हुन्छ । यसो नहुँदा कतिपय अनुवाद ऊँट नै बन्न पुग्छन् । अधकल्चो वा कामचलाउ अनुवाद अभियान असफल हुने मात्र होइन, पाठकलाई विकर्षित नै गरिदिन्छ । ‘मेटामोर्फसिस’मा केसीले काफ्काको भावना मात्र होइन, आत्मासमेत खुट्याएका छन् । उनकै उम्दा शिल्प र अब्बल क्षमतामा यसले सग्लो औतार पाएको हो । पुस्तकमा कुमार नगरकोटीले ठीकै लेखेका छन्, ‘...यो लेखिरहँदा संसारको कुनै न कुनै कुनामा, कुनै न कुनै मनुवाले द मेटामर्फोसिस अवश्य पनि पढिरहेको छ ।’