गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २६ गते । नेपाल निजामती कर्मचारी सङ्गठनले निजामती कर्मचारीको सञ्चित घर बिदाबापतको रकम वार्षिक रूपमा भुक्तान गर्र्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । निजामती कर्मचारीले सेवा अवधिभर १८० दिन घर बिदा पाउने र सोबापतको रकम सेवाबाट अवकाश हुँदा मात्र पाउने व्यवस्था छ । उक्त व्यवस्था परिमार्जन गरी सञ्चित घर बिदाबापतको रकम वार्षिक रूपमा भुक्तान गर्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरेको हो । कर्मचारीको सञ्चय कोषबाट उपलब्ध गराइँदै आएको घर सापटी रकमको ब्याजदर न्यूनीकरण गर्दै प्रिमियममा आधारित घर सापटी रकम उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको छ । कर्मचारीलाई एक पटक भन्सार छुटमा सवारीसाधन खरिद गर्ने व्यवस्था मिलाउन सङ्गठनले सरकारको ध्यानाकर्षण गराएको हो ।
सङ्गठनका महासचिव रामचन्द्र अधिकारीले कर्मचारीका लागि दिइने सेवा सुविधा कर्मचारीमैत्री नभएकाले कर्मचारीमैत्री हुने गरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो ।