निमीषा र विपिनको प्रेम सम्बन्ध स्कुले विद्यार्थीदेखिकै हो । जब निमीषा कक्षा ८ मा भर्ना हुन आइन् उनलाई देखेर विपिनको मनको ढुकढुकी तीव्र भएको थियो । कक्षा ७ बाट उत्तम श्रेणीमा उत्तीर्ण भई कक्षा ८ को पहिलो बेन्चमा बसिरहेको विपिनसँग भित्र पस्दै गरेकी निमीषाको आँखा जुध्न पुग्यो । ऊनी झसङ्ङ भइन् र पढाइरहेका शिक्षकसँग सोध्न पुगिन्, “मे आई कम इन सर ?”
“यस कम इन,” शिक्षकलाई उनी आउँदै छिन् भन्ने पहिले नै थाहा थियो । निमीषाले कक्षामा प्रवेश गर्दै सरलाई प्रणाम गरिन् । गोकुल सरले उनको परिचय दिँदै भने, “यिनको नाम निमीषा पाण्डे हो । यिनी कक्षा ६ बाट डबल प्रमोसन पाएर ८ कक्षामा आएकी हुन् । मलाई विश्वास छ तिमीहरूले यिनलाई आत्मीय व्यवहार गरी आफ्नो साथी बनाउने छौ ।” सबैले ताली बजाई उनको स्वागत गरे । सरले उनलाई विपिन, राजु र सबिनाको साथमा बस्न भने । विपिन, राजु र सबिना मिल्ने साथी थिए । त्यसमा निमीषा पनि थपिन पुगिन् ।
समयको गतिसँगै विपिन र निमीषाको मित्रता गहिरिँदै गयो । दुवै एक अर्काको अव्यक्त प्रेममा बाँधिँदै गए ।
कक्षा १२ पनि सकियो । नतिजा नआउन्जेल राजु, सबिना, विपिन र निमीषा एक अर्कासँग भेटेर बेलाबखतमा ठाउँ ठाउँमा घुमफिर गर्थे । ती सबै पढैया विद्यार्थी भएका हुनाले धेरैजसो लाइब्रेरीतिर जाने, कम्प्युटरको सानातिना क्लास लिने आदि प्रयोगवादी काममा लाग्ने गर्थे ।
रिजल्ट निस्कियो, चारै जना साथी डिस्टिङ्सन ल्याई पास भए । उनीहरूको जीवनमा हर्षोल्लास छायो । क्याम्पस भने फरक फरक प¥यो । सबिना र निमीषा एउटामा परे । विपिन अर्कैमा र राजु अर्कैमा । यो कुराले चाहिँ सबैले दिक्क माने विशेष गरी निमीषा दुःखी भइन् । एक दिन निमीषा साइन्स क्लासमा जाँदै थिइन् । पछाडिबाट कसैले हाई निमु भनेर बोलाएको सुनेर पछाडि फर्केर हेरिन् । विपिन उनको अगाडि उभिएर हाँसिरहेको थियो ।
“तिमी यहाँ ? ह्वाट अ प्लेजेन्ट सरप्राइज !” खुसीले गद्गद् हुँदै निमीषाले विपिनको हात समाइन् । उनको हात जोडसँग दबाउँंदै विपिनले भन्यो, “म तिमीबिना अर्को क्याम्पसमा पढ्न सक्छु र ? अनेक उपाय लगाएर यहीँ एडमिसन लिएरै छाडेँ ।” “अनि किङ्ग्समा एड्मिसन भइसकेको होइन र ?” “भएर के त, मान्छेले प्यार र यारका लागि दुनिया त छाड्छन्, मैले त एड्मिसन फी मात्र छाडेँ ।”
निमीषा उसको कुराले लजाइन् । “जाऊ कहीँ नभाको रोमियो !” हाहा हाहा ... !
अब दुवै जना एउटै क्याम्पसमा पढ्न थाले । समयको बहावसँगै दुवैले स्नातक सिध्याए । विपिन मास्टर्स गर्नुभन्दा पहिले एक÷दुई वर्ष काम गर्न चाहन्थ्यो । कामका आधारमा कुन विषय लिएर मास्टर्स गर्ने भन्ने विचारमा थियो । ऊ काम खोज्न थाल्यो । उसले सरकारी जागिर पायो । अब उसलाई विवाह गर्ने इच्छा भयो । निमीषासँग छुट्टिएर अब उसलाई बस्न मन लागेन । अहिलेसम्म उनीहरूको परिवारलाई उनीहरू एकअर्कासँग प्रेम गर्छन् भन्ने थाहा छैन । एकदिन विपिनले निमीषाको अगाडि प्रस्ताव राख्यो, “अब हामी बिहे गरौँ म तिमीसँग छुट्टिएर बस्न नसक्ने भइसकेँ । हामी बिहेपछि पनि त मास्टर्स गर्न सक्छौँ नि, सक्दैनौँ र ? के छ विचार, मसँग बिहे गर्न मन छ ?”
“छ नि ! मलाई कस्तो अफ्ठ्यारो परिसक्यो । कति ठाउँबाट मलाई माग्न आइराखेका छन् । मैले मास्टर्स नगरी बिहे गर्दिनँ भनेर टारिराखेकी छु । तिमी आएर बुवाममीलाई भेट न ।”
“त्यसो भए तिमीलाई पनि हतारो नै भा रै’छ ? होइन त ? म माग्न नआएर पो अड्केको रहेछ । अरू कोही मन परेन ?”
“अँ तिमी त खाली जिस्किने कुरा मात्र गर्छौं । भन न कहिले आउँछौ ?”
“साँच्ची तिमीले बुवाममीलाई हाम्रो बारेमा भन्यौ ?”
“अहँ भन्या छैन । सबै साथीलाई चिनाइसकेँ तर तिम्रोबारेमा केही भन्या छैन । कसरी भनुँ लाज लाग्छ ।”
“मसँग माया गाँस्न लाज भएन, बुवाममीलाई भन्न चाहिँ लाज लाग्यो ?” विपिनले फेरि जिस्किने पाराले भन्यो । “छ्या तिमी त चुप लाग । अनि तिमीले आफ्नो बुवाआमालाई भन्यौ कि ?”
“मैले त भनिसकेँ ।”
“साँच्ची हो ?” “हो तर तिम्रो नाम चाहिँ भन्या छैन । खाली यति भनेको छु कि मेरो लागि केटी नखोज्नु मैले आफैँ खोजिसकेँ । समय आएपछि केटी नै देखाउन लैजान्छु भनेँ । आमा त त्यति भन्दैमा खुसी हुनुभएको छ ।”
“कहिले आउँछौ त अब ?”
“पर्सि शुव्रmबार आउँछु । त्यो दिन मेरो ३ बजे अफिस छुट्टी हुन्छ, ४ बजेतिर आउँला हुन्न ? आमाबुवा र भाइ सबैलाई लिएर ।”
“होइन, पहिले तिमी मात्र आऊ । मेरो बुवाममीले तिमीलाई मन पराउनुप-यो अनि तिम्रो बुवाआमाले मलाई मन पराउनुप-यो त्यति भएपछि सबैलाई लिएर आऊ ।”
“ए हामी दुवैलाई दुवै परिवारले मन पराउँछन्, तिमी धन्दा नमान । पहिले केही नभन्ने, सरप्राइजको मजा नै अर्कै हुन्छ ।”
“ल पक्का भो है त ?”
ओके
आज शुव्रmबार निमीषाको हर्षको सीमा छैन । बिहानैदेखि फुरफुर गरिरहेकी छिन् । निमीषाको ममीले सोधिन्, “निमु आज किन यति खुसी यति चाँडै दिउँसोको खाजा पनि आफैँले बनाइसक्यौ ? के हो ?”
“आज ४ बजे मेरो साथी र उसका प्यारेन्ट्स
हजुरहरूसँग चिनापर्ची गर्न आउने भनेको छ, हजुरहरू पनि आज कतै नजानु है ।”
“को नि ? सबिना को ?”
“होइन अर्कै साथी, आएपछि थाहा हुन्छ ।”
“भन्न नहुने ?”
“सरप्राइज हो मम ।”
“ए त्यसो भएर पो जाँगर आको रैछ त ।”
निमीषाका बाबुआमा मुखामुख गरेर मुसुमुसु हास्न थाले । विपिनले पनि आफ्ना बुवाआमालाई आज दिउँसो एक ठाउँमा जानु पर्छ ठिक परेर बस्नु भनेर अफिस गएको थियो । समय बित्दै गयो । “खोइ त ? ६ बजिसक्यो तिम्रो साथी त आएन ?” निमीषाको ममीले सोध्नुभयो ।
“आउँछन् केही प¥यो होला, फोन पनि उठाउँदैन के गर्नु,” निमीषा बरन्डामा ओहोरदोहोर गर्न लागिन् । जे परे पनि मेसेज त गर्नु पर्छ नि, के भा’को होला ? निमीषालाई रिस उठ्न थाल्यो साथै डर पनि लाग्न थाल्यो । उनी चिन्ताग्रस्त भइन् । रात पनि बित्यो विपिन आएन । उसको फोन पनि आएन ।
एक्सिडेन्टमा परेको बिरामी हप्तादिनदेखि होसमा आएको छैन । बल्ल बल्ल आठौँ दिनमा उसको होस खुल्यो । उसको मुखमा अक्सिजनको बुझो छ । उसले हातखुट्टा चलाउन खोज्यो चल्दैन । हातखुट्टा, टाउको सबैतिर पट्टि बाँधिएको छ । उसको चटपटाहट देखेर नर्सले तुरुन्त डाक्टर बोलाएर ल्याइन् ।
“होस आएछ । अब खतरा छैन,” डाक्टरले बिस्तारै उसको मुखको बुझो झिकेर सोधे, “तपाईंको नाम के हो ?”
“विपिन क्षेत्री । म यहाँ कसरी आइपुगेँ,” ऊ छक्क पर्दै चारैतिर नजर घुमाउँछ । दिमागमा जोड दिँदै दुर्घटना हुँदाका कुरा सम्झन थाल्छ ।
विपिन अफिसबाट घर फर्कदै हुन्छ । मनमा निमीषाको घर कहिले पुगेर विवाहका लागि उसका ममी बुवाको स्वीकृति पाइएला भन्ने द्वन्द्व चलिरहेको छ । उसलाई हतार लागिरहेको छ । लामो ट्राफिक जामले गर्दा घर पुग्न अबेर भइरहेछ । बल्ल बल्ल आधा घन्टापछि जाम खुल्यो । ऊ आफ्नो मोटरसाइकलको रफ्तार तेज बनाउँछ ।
बाटोमा एउटा गाडी हुुइँकिएर आफूतिरै हान्निएको देखेर मोटसाइकलको गति कम गरी किनारातिर लाग्न खोज्दै हुन्छ । गाडी उसको मोटरसाइकलसँग नराम्ररी ठोकिन्छ । ऊ उछिट्टिएर सडक किनारको बारमा बजारिएर बेहोस भएछ । प्रत्यक्षदर्शीले उसलाई अस्पताल ल्याइदिएका रहेछन् । उसको मोबाइल पनि हराएछ । कतै कुनै कन्ट्याक्ट गर्न पनि मिलेनछ ।
विपिनले डाक्टरलाई आफ्नो घरको फोन नम्बर बतायो । डाक्टरले घरमा फोन गरिदिए । उसका आमाबुवा हतारिँदै अस्पताल आइपुगे । छोराको त्यो हाल देखेर विह्वल भए । नर्सले बल्ल बल्ल उनीहरूलाई समालिन् ।
विपिनलाई प्यारालाइसिस भएछ । एउटा हात र खुट्टा नचल्ने भो । ऊ ओछ्यान लाग्यो । उसका सपनाविपना सबै चकनाचुर भए । अस्पतालबाट ऊ घर आयो । अब ऊ अरूको सहाराबिना केही गर्न नसक्ने भयो । उसले निमीषासँग बिताएका क्षण झलझली सम्झन थाल्यो । उनको घरमा गई उनलाई औपचारिक रूपले उनका बावुआमासँग माग्ने वाचा गरेको थियो तर आज यो के हुन पुग्यो, कस्तो दुर्भाग्य, निमीषाले के सोची होला । कस्तो धोकेबाज भन्ठानी होली । यिनै कुराको ज्वारभाटाले उसका आँखा रसाएर आए । ऊ बेस्सरी भक्कानियो र जोरसँग चिच्च्यायो “बरु म मरेको भए हुन्थ्यो, यो अधकल्चो जीवन लिएर के गर्नु ।”
उसकी आमाले छोरालाई अँगालो हाल्दै भनिन्, “बाबु त्यसो नभन्, तँ बाचिस् यही हाम्रा लागि ठुलो छ, नआत्ती बाबु, डाक्टरले फिजियोथेरापी निरन्तर गरिरह्यो भने निको हुन सक्छ भनेका छन् ।”
धेरैबेर सोचेर विपिनले भन्यो, “आमा सक्नुहुन्छ भने मलाई यो ठाउँबाट अलि टाढा लैजानूस् जहाँ मेरा साथीभाइ कोहीसँग भेट नहोस् । म कसैसँग पनि कन्ट्याक्ट गर्न चाहन्नँ । अरूको आँखामा आफूप्रति सहानुभूति र दया मलाई हेर्न मन छैन ।” उसलाई आफ्नो मोबाइल हराएको पनि ठिकै लाग्यो । आमाबाबुले उसलाई अर्कै ठाउँमा लिएर गए । निष्ठुर समयले जे जस्तो दुःख परे पनि झेल्न सिकाउँदो रहेछ । आमा सधैँ जेठो छोरोको स्याहार गर्दैमा दिन बिताउन थालिन् ।
दिन, महिना, वर्ष गर्दै पाँच वर्ष बितिसकेछ । विपिनको भाइ प्रभास विदेशबाट आफ्नो पढाइ सकेर आइसकेको थियो । ऊ अफिसमा काम गर्न पनि थालिसकेको छ । एक दिन प्रभासले आफ्ना बुवाआमालाई आफूले कोर्टम्यारिज गर्न लागेको कुरा सुनायो । उसका बुवाआमाले पनि खुसीसाथ स्वीकृति दिए । जेठो छोरोको गति देखेर उनीहरूलाई पनि छोराको बिहे धुमधामसँग गर्ने रहर मरिसकेको थियो ।
सादासँग कोर्टम्यारिज गरी प्रभासले दुलही लिएर आयो । आमाले स्वागतसत्कार गरी दुलही भिœयाइन् । धेरै समयदेखि विरान भएको घरमा खुसियाली छायो । आमाले बुहारीलाई जेठाजुको दर्शन गर्न भनी विपिनको कोठामा लिएर गइन् । विपिन ओछ्यानमा आँखा चिम्लेर पल्टिरहेको थियो । “यी प्रभासकी दुलही तिम्रो भाइबुहारी, ढोग गर्न आएकी ।” आमाको स्वर सुनेर विपिनले आँखा खोल्छ । दुलहीको भेषमा उभिएकी निमीषालाई एक्कासि आफ्नो अगाडि देखेर झसङ्ग हुन्छ । ऊ कुनै गहिरो इनारभित्र खसेझैँ अनुभव गर्छ । निमीषा पनि अवाक् परेर हेर्छिन् । उनले विपिनलाई यो गतिमा यस्तो अवस्थामा देख्नुपर्ला भन्ने कल्पनासम्म पनि गरेकी थिइनन् । उनले त विपिनले धोका दिएर कतै विदेश पलायन भएको सम्झेकी थिइन् । आज यो कस्तो परीक्षाको घडीमा आएर उभिन पुगिन् ।
दुवैका आँखा जुधे निकैबेरसम्म केही बोल्न सकेनन् । “ओहो ! मैले त सामान नै ल्याउन बिर्सेछु, एकछिन यहीँ बस है म तुरुन्तै ल्याउँछु” भनेर आमा उनीहरूको अन्तद्र्वन्द्वदेखि अनभिज्ञतामै कोठाबाट बाहिरिन् ।
निकै बेरपछि निमीषाले रुग्णकण्ठले भनिन्, “दर्शन हजुर ! नाता बदलियो, प्रेमको रूप बदलियो तर सामीप्य मिल्यो, सेवाको अवसर पाएँ ।”