• ८ मंसिर २०८२, सोमबार

स्वाभिमान (कथा)

blog

अञ्जली अफिसको कामले दमौली जानुपर्ने भयो । दमौली भन्नेबित्तिकै झट्ट उनलाई मनिलाको सम्झना आयो । उनमा बाल्यकालीन स्मृतिहरू फटाफट आउन थाले । अञ्जली र मनिला बाल्यकालदेखिकै साथी हुन् । कर्मको खेलले मानिसलाई कहाँबाट कहाँ पु¥याउँछ, एउटा गोरखा पुगी, अर्की लमजुङ । फोन र म्यासेजमा सामान्य हाइहेलो भए पनि यिनीहरूबिच प्रत्यक्ष भेट नभएको आठ वर्ष भइसकेको थियो । यिनीहरूले निर्धक्कसँग मनको पोको नखोलेको पनि धेरै भइसकेको थियो । धेरै वर्षपछि आफ्नो मनपरेको साथीलाई भेटेर सुखदुःख बाँडौँला भनी उनमा हर्षको सीमा नै रहेन । एकछिन पनि छुट्टिन नसक्ने साथी लामो समयको अन्तरालपछि भेटघाट हुनेवाला थियो । कतिखेर भेटेर अँगालो हाली खुसी साटौँला जस्तो भएको थियो अञ्जलीलाई । 

अञ्जली पोखरा जाने बस चढिन् । लगभग पाँच घण्टाको यात्रापछि दमौली पुगिन् । अञ्जलीलाई निकै हतार भएको थियो त्यसैले यताउता नहेरी फटाफट मनिलाको डेरातिर लागिन् ।

मनिला खटट्ट मेसिन चलाएर कपडा सिलाउँदै थिइन् । झोला भुइँमा राखेर ‘ओइ मनिला’ भन्दै दुवै एकअर्काका अँगालामा बेरिन पुग्छन् । धेरैबेरसम्म उनीहरूका हात एकअर्काबाट छुट्दैनन् । एकअर्कालाई हेर्दै दुवै हाँस्न पनि थाल्छन् । कतिबेला आँखामा मोतीका दाना पनि टल्केको आभास हुन्थ्यो ।

ए अञ्जली ! के छ तेरो खबर ? आज कसरी यहाँ आइपुगिस् ? 

मेरो खबर ठिक छ मनिला । ठिकै भएर त यहाँसम्म तेरो मायाले डो¥याएर ल्याएको नि । म त तँलाई सरप्राइज दिनका लागि खबरै नगरी आएँ । केही त बिग्रेको छैन नि ? मेरो अफिसको कामले म दमौली आएकी हुँ । यहाँ आउँदा तँलाई नभेटी त भएन नि । त्यसैले बसबाट झरेपछि दायाँबायाँ कतै नहेरी, झोला कतै नबिसाई तँ भएकै ठाउँमा आएकी हुँ । अनि के छ तेरो खबर ?

मलाई पनि ठिकै छ भन्नुप¥यो । 

मनिलाको भनाइमा केही गम्भीर भाव लुकेको अञ्जलीलाई महसुस भयो । उनले कोठाको चारैतिर आँखा घुमाउन लागिन् । एउटा सानी नानीमा उसको आँखा टक्क रोकिन पुग्छ । 

अचम्म लाग्छ । नानीको शारीरिक अवस्था सामान्य थिएन । 

मनिला को हुन् यिनी ? 

मेरी छोरी । मलाई माफ गर ल । मैले तँलाई फोनमा कहिल्यै पनि यिनको बारेमा केही जानकारी गराइनँ ।

ठिक छ त । अब यहाँ नै आएपछि सबै कुरा थाहा भइहाल्छ नि । 

ओहो अञ्जली ! तँ त टाढादेखि आएकी भोक लाग्यो होला ? मैले त गफैगफमा भुसुक्कै बिर्सिइछु । अब खाना बनाउँछु ल ।

ठिक भनिस् । मलाई भोक लागेको थियो, तँलाई भेट्ने भोक । त्यो पूरा भयो । अब खानाको भोक पनि लागे जस्तो छ । 

अञ्जली ग्यार्र सटर बन्द गरेर अर्को कोठातिर लागी । साथी आएको खुसीमा उसले मिठा मिठा परिकार बनाई । खाना खाइसकेपछि मनिलाले छोरीलाई सुताई । छोरी सुतेपछि यिनीहरू निर्धक्कसँग आफ्ना विगत साटासाट गर्न लाग्दछन् । विगतका रमाइला क्षण सम्झँदै दुवै जना खुब हाँस्छन् पनि । हाँस्दाहाँस्दै मलिनाको हाँसो अचानक टक्क रोकिन्छ । अकस्मात् उसको अनुहार पनि मलिन हुन पुग्छ । 

अनुहार किन मलिन ? के भो मनिला ?

थामिँदै, त्यस्तो केही होइन अञ्जली । तेरोे विवाह भएपछि मेरो पनि विवाह भयो । हामी दुई श्रीमान् श्रीमतीबिच अगाध प्रेम र स्नेह थियो । पानीबिनाका माछा जस्तै हामी एकछिन पनि छुट्टिदैनथ्यौँ । सबैले भन्थे श्रीमान् श्रीमती त मनिला र मञ्जिलको जस्तो पो । हुन पनि श्रीमान्को पूरा सहयोग र साथ थियो मलाई । आहा ! यस्तो दुःखसुख बुझ्ने र माया गर्ने श्रीमान् त मैले कुनै जुनीमा पनि पाउँदिनँ । नारीको मर्म बुझ्ने श्रीमान् पाउने म मात्रै हुँ कि जस्तो लाग्थ्यो । यसरी नै हाँसीखुसीका साथ हाम्रो जीवनयात्रा अगाडि बढ्दै गयो । हाम्रो खुसीमा खुसी थप्नका लागि लक्ष्मीको आगमन भयो । लक्ष्मी बढ्दै गइन् । हाम्रो खुसी पनि बढ्दै गए । छोरी एक वर्षकी भइन्, दुई वर्षकी भइन् तर उनमा देखिनुपर्ने शारीरिक वृद्धि र विकास हुन सकेन । उनी बस्न, हिँड्न र बोल्नुपर्ने हो तर यी कुनै पनि कार्य गर्न सकिनन् । कसै कसैमा ढिला शारीरिक र मानसिक विकास पनि हुन सक्छ भन्दै हामी दुवै चित्त बुझाउँदै थियौँ । अर्को एक वर्ष पनि बित्यो तर छोरीको अवस्थामा सुधार हुन सकेन । डाक्टरकोमा लग्यौँ तर उनको शारीरिक परिवर्तन नआउने सम्भावना बढिरहेको जानकारी पायाँै ।

मन अमिलो भयो । कति कष्टले जन्माएको सन्तान । भोक निद्राले विश्राम लिन थाले । काममा मन जान छाड्यो । घर परिवारमा तनाव सुरु भयो । मेरो पीडा घरका अन्य सदस्यले बुझ्न सकेनन् । घरको काम गर्न छाडी भनेर श्रीमान्लाई गुनासो गर्न थाले । सधैँ मेरा भए नभएका कुरा सुनिँदै र सुनाउँदै गए । यस्ता कुराले श्रीमान्को मनमस्तिष्क पनि खलबलिएछ क्यार ! उहाँको स्वभावमा पनि परिवर्तन आउन थाल्यो । मसँग खुलेर बोल्न छाड्नुभयो । उहाँकै आड र भरोसामा आफ्नो दुःख बिर्सेकी थिएँ मैले तर उहाँको अस्वाभाविक व्यवहारले मेरो जीवनको सूर्य अस्तायो । आखिर जीवन सङ्घर्षकै मैदान हो । कुनै दिनले खुसी पनि बोकेर आउला नि भन्दै आसमा पीडा बिर्सन खोजेँ । मैले त आफूलाई समालेँ तर उहाँले झन् ममाथि शङ्का उपशङ्का गर्न थाल्नुभयो । सधैँ जाने ठाउँ र गर्ने काममा पनि बढी सोधखोज र निगरानी हुन थाल्यो । कहीँकतै काम विशेषले जाँदा पनि कहाँ गएकी ? किन गएकी ? किन यति ढिला ? कोसँग भेट भयो ? मलाई समय किन नदिएकोे ? आदि प्रश्नहरू मेराअगाडि तेर्सिन थाले । म अचम्ममा परेँ । 

म सम्झाउन खोज्थेँ उहाँलाई । म सदा उस्तै छु । परिवर्तन त हजुरको सोचमा भएको छ त्यो पनि नकारात्मक । किन मलाई र यो अवोध छोरीलाई वास्ता गर्नुहुन्न ? के गल्ती गरेकी छन् यिनले ? यिनको शारीरिक अपाङ्गताले कहाँ ठेस पु¥यायो ? कताको प्रगति 

रोकियो ? म त सधैँ हजुरको भक्तिमा हाजिर छु । मेरो भाग्य र भविष्य नै हजुरलाई ठानेकी छु । 

यहाँभन्दा कति समय दिने हो र ? कि अफिस नगई तिमीहरूलाई हेरेर बसूँ ?

बिस्तारै श्रीमान्को छत्रछाया हामीबाट अलि टाढा हुँदै गयो । उहाँको ममाथि शङ्का झन् बढ्दै गयो । जीवनभर साथ दिन्छु भनेर वाचा निरर्थक लाग्न थाले । सासूससुराका झर्कीफर्की बढ्न थाले । म घरका सबैको आँखी भएँ ।

म त यथार्थवादी मान्छे । तैँले मलाई त जान्दछेस् नि । जे कुरा थियो त्यही प्रस्ट रूपमा भन्थेँ तर मेरो कुरामा उहाँको विश्वास अडिन सकेन । बिनानिहुँ झगडा गर्न थाल्नुहुन्थ्योे । मेरो अस्तित्व र अस्मितामाथि नै दोषारोपण हुन थाल्यो । म सम्झाउने प्रयास गर्थें । मेरो सल्लाह उहाँलाई विष बनिरहेको थियो । कि ममा, कि उहाँमा केही हुने सम्भावना देखेँ । यो सम्भावना मैले टार्नु नै थियो । योभन्दा बढी बोल्नु वा अरू कदम चाल्नु दुर्घटना निम्त्याउनु हो भन्ने मलाई लाग्यो । म उहाँसँगै बस्ने वातावरण नै भएन । मैले मुटुमा गाँठो पारेर कर्मघर बिर्सनुपर्ने अवस्था आयो । म छोरी बोकेर माइतीघरतिर लागेँ । छोरीचेलीको दुःख पोख्ने ठाउँ माइतीघर नै त रहेछ ! एक वर्ष जति बाबाआमाको छत्रछायामा बसेँ । 

विवाह भइसकेकी चेली माइत बसिरहँदा छरछिमेकी र आफन्तजनले चेलीप्रति र माइतीपक्षप्रति नै औँला ठड्याउन थाले । मैले माइतीलाई दुःख दिनुहुँदैन भन्ने मलाई लाग्यो । बाबाआमालाई सम्झाएर म छोरी बोकेर दमौली आएँ । बेरोजगारी र परनिर्भरताले गाँजिएकी म कामको खाजीमा भौँतारिएँ । आमाछोरीलाई दुईछाक टार्न पनि कठिन भयो । धेरै जनासँग हात जोडेँ कामको लागि तर ... । वाक्य रोकियो । 

अञ्जलीले उसको अनुहारमा हेरी । तप तप आँसुका ढिका आँखाका डिलबाट झरिरहेका थिए । ऊ पनि भावविह्वल भई । ओहो ! यति पीडा हुँदा पनि एक शब्द मलाई आजसम्म नचुहाएकी ।

मैले नचाहेरै नभनेकी हुँ । तँसँग यसको समाधान त थिएन नि । फेरि समस्या अर्कालाई भनेर मात्र पनि समाधान हुने होइन, जसलाई प¥यो उसैले भोग्नै पर्छ । मेरो जीवनमा आएको आँधी मैलै नै सामना गर्ने हो । मेरो समस्या तँलाई भनेर तेरो अनुहारको चमक धमिल्याउन मैले नचाहेकै हो । यसमा अन्यथा नसोच् । लामो सास तानेर मनिला फेरि बोल्न लागी । एक जना दिदीले सानो काम दिनुभयो । त्यही बसेर मैले सिलाईसम्बन्धी केही सिप सिकेँ । जब जीवनमा दुःख आइपर्छ तब मात्र मानिसले केही सिक्दो रहेछ भन्ने कुरा मैले बल्ल बुझेँ । 

मेरो पारिवारिक तथा आर्थिक अवस्था दुवै कमजोर भएकाले मैले केही गर्नुपर्छ भन्ने सोच ममा रह्यो । जीवन सङ्घर्ष नै हो तापनि मेरो जीवनमा अली बढी नचाहिँदो सङ्घर्ष गर्नुपर्ने भयो । तैपनि भाग्यको फल नै भन्नुपर्ला मैले कुन जुनीमा के अपराध गरेकी रहेछु र आज यो दुःख बेहोर्दै छु भनी आफैँ शान्त भए । ममा सङ्घर्ष गर्नुपर्ने बाध्यता नै भएका कारण कुनै पनि सिप सिक्नमा मेरो मन बढी जान थाल्यो । मैले सहजै काम सिक्न थालेँ । म अब आफैँ सिलाई केन्द्र खोलेर बस्छु भन्ने आँट ममा पलायो । मैले एउटा सटर लिएर त्यही पेसा अपनाएर बसेकी छु । आज म यहाँ आएर बसेको पनि लगभग तीन वर्ष जति भयो । 

छोरीको शारीरिक अवस्थामा केही परिवर्तन भएन । यिनै छोरीलाई आमा र बाबु दुवैको ममता दिएर राखेकी छु । मैले त श्रीमान्को सेवा गर्न पाइनँ, माया पनि पाइनँ तर बिचरा, यी छोरीको के दोष ? यिनले बाबाको मायाबाट वञ्चित हुनुप¥यो । मलाई यसैमा बढी चिन्ता छ । श्रीमान्को अवस्था के छ ? कहाँ हुनुहुन्छ ? अर्को विवाह गर्नुभयो या भएन ? म अनभिज्ञ नै छु । विगतमा उहाँले दिएको पीडा र दुःखलाई भुलेर उहाँको साथ सहयोग माया र ममतालाई सम्झेर दिन बिताएकी छु । उहाँ जहाँ भए पनि सुख र समृद्धिको कामना गर्दछु । मैले जस्तोसुकै कठिनाइमा पनि आफ्नो स्वाभिमानलाई तलमाथि पर्न दिएकी छैन र दिने पनि छैन । उहाँले दिएको सिन्दूर, पोते र चुरा नै मेरो जीवनसाथी बनेका छन् । यिनलाई मैले मेरो जीवनको सौभाग्य ठानेकी छु । उहाँले जति घृणा मलाई गर्नुभयो त्यति बढी माया अझ पनि मैले उहाँलाई गरिरहेकी छु । आशा छ, मेरो माया र ममताले जीवनको कुनै समयमा, कुनै मोडमा फेरि हाम्रो भेटघाट गराउने छ । म यही विश्वासमा छु ।

रातको १ बजिसकेको थियो । धेरै ढिला भएछ । दुवै जना सुते । 

७ बजे उठेर नुवाइधुवाई गरी दुवै जना छाब्दीवाराहीको दर्शन गर्न गए । अञ्जलीले मनमनै मनिला र उसको श्रीमान्को पुनर्मिलन होस् भनी भगवान्सँग प्रार्थना गरी । बाटाभरि भगवान्सँग पुनर्मिलनको कामना गर्दै दुवै जना कोठातिर आए । हतार हतार खाना बनाए । खाना खाए । अञ्जली अफिसको कामले शिक्षा कार्यालयतिर लागी र काम सकी त्यसैदिन काठमाडौँ फर्की । दुई महिनापछि अञ्जलीको मोबाइलमा घण्टी बज्छ ।

हेलो मनिला ! सञ्चै छस् ?

अँ सञ्चै छु । मैलै तँलाई एउटा खुसीको खबर सुनाउन फोन गरेकी । 

ए तँ काठमाडौँ आएको मलाई भेट्न ? 

होइन हो, आएको छैन । 

अनि के त, ल भन ।

एकछिन पख् है । 

मनिलाले म्यासेन्जरमा मिडियो अन गर्दै एउटा लोग्नेमान्छेतिर फोकस गर्दै देखाउँछे, उहाँ मेरो श्रीमान् ।

अञ्जली अवाक् भई । आँखा चिम्लेर छाब्दीवाराहीलाई धन्यवाद दिई । अनि मनिलाको श्रीमान्लाई नमस्कार गर्दै फोनबाट बिदा भई । 

अञ्जलीले पछिसम्म सम्झी रही, धन्य छ मनिला तिम्रो स्वाभिमानलाई ।