• १३ असोज २०८१, आइतबार

सदरमुकाम बाहिर राष्ट्रपति रनिङ शिल्ड

blog

उद्घाटन कार्यक्रममा सहभागी सूर्योदय नगरपालिकाको टोली ।

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम) फागुन २३ गते। १३ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड २०७९ मंगलबारदेखि इलामको फाकफोकथुम गाउँपालिकामा सुरु भएको छ। फाकफोकथुम गाउँपालिका ३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले गर्नुभएको हो। 

उक्त प्रतियोगिता जिल्ला सदरमुकाम बाहिर पहिलो पटक आयोजना गरिएको हो। यस अघिका सबै प्रतियोगिता इलाम सदरमुकाम इलाम बजारमा हुँदै आएका थिए। सधैं इलाम सदरमुकाममा संचालन हुँदै आएको प्रतियोगिता प्रदेश सरकार खेलकुद विकास बोर्ड अन्र्गत जिल्ला खेलकुद विकास समितिले पहिलो पटक सदरमुकाम बाहिर संचालन गरेको हो। 

यसअघि राष्ट्रिय खेलकुद परिषद अन्तरगत ११ औं संस्करणको प्रतियोगिता भने सूर्योदय नगरपालिकाको करफोक माध्यमिक विद्यालयको खेल मैदानमा संचालन भएको थियो। प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका बमोजिम चार वटा र जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा एक गरेर पाँच वटा विधाको खेल संचालन हुनेछन्। 

राष्ट्रपति रनिङ शिल्ड संचालन निर्देशिका बमोजिम प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट संचालन हुनेछन्। एथलेटिक्स अन्तरगत दौड (ट्रयाक) तर्फ र उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ एवम् मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसु संचालन हुनेछन्।

जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा रग्वी खेल संचालन हुनेछ। प्रतियोगिताका लागि १० वटै स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरेर छनोट भएका खेलाडी सहभागी भएका छन्। प्रतियोगितामा खेलाडी र व्यवस्थापन टिमका करिब एक हजार जनाको उपस्थिती रहेको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो्।

जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले खेल पर्यटनको समेत विकास गर्नका लागि प्रतियोगिता गाउँमा संचालन गरिएको जानकारी दिनुभयो। प्रतियोगिता उद्घाटन कार्यक्रमको अवसरमा लिम्बू जातिको मौलिक नाच च्याब्रुङ एवम् पञ्चेबाजासहितको टोलीले स्वागत गरेको थियो। 

कार्यक्रममा फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलसहित सुरक्षा निकायका प्रमुख लगाउत उपस्थित हुनुहुन्थ्यो।