बेनी समाचारदाता
बेनी, चैत २५ गते । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गाका महिलालाई ‘परम्परागत पन्चैबाजा’ को सिपसँगै पन्चैबाजाका सामग्री हस्तान्तरण गरिएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रद्वारा वडाभित्रका महिला र आमा समूहका प्रतिनिधिलाई एकमहिने पन्चैबाजा तालिम प्रदान गरिएको हो ।
सिङ्गाको राक्सेमा पाँच वर्षदेखि पन्चैबाजा बजाउन सुरु गरेका महिलालाई क्षमता अभिवृद्धि र नयाँ सदस्यलाई बाजा बजाउने सिप विकास गर्न सञ्चालित तालिम समापन समारोहमा आइतबार दुई लाख बराबरको पन्चैबाजा हस्तान्तरण गरिएको हो ।
परम्परागत संस्कृतिको संरक्षण र महिलालाई व्यावसायिक रूपमा बाजा बजाउने पेसामा क्रियाशील बनाउन कर्नाल, नरसिङ्गा दमाहा, झ्याली, ट्याम्को, ढोलकी, सहनाईलगायतका पन्चैबाजाका सामग्री खरिद गरी सहयोग गरिएको सिकाइ केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले बताउनुभयो । १६ जना महिलाले सहभागिता रहेको प्रशिक्षणमा चर्चित पन्चैबाजावादक प्रकाश परियार र सतप्रसाद नेपालीले पन्चैबाजा बजाउने सिप सिकाउनुभएको थियो ।
बेनी नगरपालिकाका उपमेयर ज्योति लामिछाने पौडेलले परम्परागत पन्चैबाजा बजाउने सिपलाई व्यावसायिक रूपमा उपयोगमा ल्याउन सकेमा परम्परागत संस्कृतिको संरक्षण र महिलाको आयआर्जनमा समेत टेवा पुग्ने बताउनुभयो ।
परम्परागत रूपमा पन्चैबाजा पुरुषले बजाउने भए पनि पछिल्लो समय महिलाले समेत पन्चैबाजा बजाउन सुरु गरेका छन् । नेपाली धार्मिक एवं सांस्कृतिक बाजाका रूपमा रहेको पन्चैबाजा विवाह, छेवर, व्रतबन्ध, चौरासी पूजालगायत अतिथिको स्वागत सत्कारमा समेत बजाउने गरिन्छ ।