गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २५ गते । मुलुकभित्र सूचना प्रविधि (आइटी) सँग सम्बन्धित गतिविधिको प्रवर्धनका लागि नियामकीय प्रबन्ध क्रमशः खुकुलो बनाउन थालिएको छ । सरकारले बजेटमार्फत र नियामक नेपाल राष्ट्र बैङ्कले पुराना व्यवस्थामा संशोधन गर्दै यस्ता कम्पनीलाई सुविधा सुनिश्चित गरेको हो ।
यसअघि सरकारको खासै प्राथमिकतामा नपरे पनि पछिल्ला वर्षमा आइटी कम्पनीलाई कानुनी दायरामा ल्याउन सुविधामार्फत आकर्षित गरिएको हो । राष्ट्र बैङ्कले आइतबार मात्रै पुरानो व्यवस्था संशोधन गर्दै आइटी कम्पनीलाई अनलाइनमार्फत सफ्टवेयरलगायतका सूचना प्रविधिसँग सम्बन्धित सेवा खरिद गर्दा तीन हजार अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड पाउने सुविधा थप गरेको हो । यसअघि समूलमा बढीमा पाँच सयसम्मको डलर कार्ड जारी गर्न पाउने व्यवस्था थियो । राष्ट्र बैङ्कले आइटी सेवा निर्यात गर्ने कम्पनीका लागि संशोधित व्यवस्थामार्फत थप सुविधा प्रदान गरेको छ । जस अन्तर्गत आइटी सेवा निर्यात गरेर विदेशी मुद्रा आर्जन गरेमा त्यस्ता कम्पनीले थप दुई हजार डलर गरी कुल पाँच हजार अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन सक्ने व्यवस्था गरेको छ । यो सुविधा आइटी सेवा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिका हकमा पनि लागु हुने केन्द्रीय बैङ्कले जनाएको छ ।
त्यसअघि पनि नेपाल राष्ट्र बैङ्कले गत पुस १४ गते सेवा निर्यात गर्ने आइटी कम्पनीलाई विदेशमा २० हजार अमेरिकी डलरसम्म लगानी गर्न निःसर्त विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराएको थियो । विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनिवयमावली २०७८ संशोधन गर्दै राष्ट्र बैङ्कले यस्तो सुविधा दिएको थियो । विदेशी मुद्रा सटहीका लागि केन्द्रीय बैङ्क नै जानुपर्ने बाध्यता पनि सोही संशोधनमार्फत हटाइएको थियो ।
आइटी कम्पनीको प्रवर्धनका लागि सरकारले पनि चालु आव २०८२/८३ को बजेटमा कर व्यवस्थामा उल्लेख्य छुट सुविधा घोषणा गरेको थियो । जसमध्ये सूचना प्रविधिमा आधारित उद्योगलाई विशेष उद्योगसरह आयकर र विद्युत् महसुल छुट दिने व्यवस्था गरिएको छ । त्यस्तै सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशत मात्र आयकर लाग्ने र त्यो कर अन्तिम हुने व्यवस्था बजेटमार्फत गरिएको छ ।