• २४ चैत २०८२, मङ्गलबार

पूर्वी नाकामा पर्यटक र बिरामी तानातान गर्ने कार्य बन्द

blog

मेचीपुल ।

विष्णुप्रसाद पोखरेल

दमक, चैत २४ गते । नेपालको पूर्वी नाका झापाको काँकरभिट्टा भएर नेपाल प्रवेश गर्ने पर्यटक तथा बिरामी यात्रीलाई तानातान गर्ने कार्य रोकिएको छ । भारतका विभिन्न स्थानबाट आँखाको उपचार तथा अन्य विभिन्न प्रयोजनका लागि आएका यात्रीलाई बसपार्क तथा बजार क्षेत्रमा तानातान गरी दुर्व्यवहार हुने गरेको गुनासोपछि प्रहरीले कडाइ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सीमा नाका काँकरभिट्टामा यात्रीलाई तानातान गरी दुःख दिने २४ जनालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरिएको छ । पुनः यस्तो कार्य दोहोर्‍याएमा आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

मेची भन्सार कार्यालय, बसपार्क तथा बजार क्षेत्रमा बिहानैदेखि होटल तथा आँखा अस्पतालमा लैजान जबरजस्ती गर्ने, धार्मिक स्थल लगायत विभिन्न ठाउँमा सम्पर्क गराइदिने भन्दै झुक्याएर हैरानी दिने गतिविधि बढेपछि प्रहरीको विशेष टोली परिचालन गरिएको थियो । प्रहरीको यो सक्रियतापछि नाकामा हुने अस्तव्यस्तता र यात्रीको सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ ।