• १३ असोज २०८१, आइतबार

शङ्कास्पद अवस्थामा बालिकाको शव फेला

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २१ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा शङ्कास्पद अवस्थामा बालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार घरबाट हराएको तीन सातापछि बालिकाको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना तथा समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका गणेश लिम्बूकी छोरी छ वर्षीया सोनिया लिम्बूको शव फेला परेको हो । गत माघ २५ गतेदेखि बेपत्ता भएकी बालिकाको खोजतलास गर्ने क्रममा बिहीबार शङ्कास्पद अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक कार्कीकै नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले शुक्रबार घटनास्थलको मुचुल्का (विवरण) उठाई शव सदरमुकाम ल्याइएको थियो । घटना शङ्कास्पद भएकाले शवको पोष्टमार्टम गर्न शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको पनि उहाँले जानकारी दिनुभयो । 

यता घटना शङ्कास्पद भएपछि बालिकाकी आमा फूलमाया लिम्बू र कान्छाबाबु (झट्केलाे बाबु) पूर्णकुमार लिम्बूलाई घटनाबारे सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा झिकाइएको छ । बालिकाको घटनाबारे सोधपुछ भइरहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक बालिकाकी आमा फूलमायाले पूर्णकुमारसँग करिब तीन महिना अघिमात्र दोस्रो विवाह गरेको बताइएको छ ।