• १३ साउन २०८१, आइतबार

पर्यटनबाट वार्षिक एक करोड रुपियाँ आम्दानी गर्ने योजना

blog

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले पर्यटक आकर्षण गर्न निर्माणाधीन डम्फु जीवन्त सङ्ग्राहलय परिसरमा डम्फु । तस्विर - केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, फागुन १६ गते । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म पर्यटनबाट वार्षिक एक करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । गाउँपालिकाले आवधिक योजनामा गाउँपालिकाले वार्षिक एक करोड आम्दानी गर्नुको साथै पर्यटनको क्षेत्रमा ७० जनाले रोजगारी प्राप्त गराउने योजना तयार गरेको हो । 

गाउँपालिकाले पर्यटनको विकासको लागि आफ्नो गाउँपालिका तथा वरिपरि क्षेत्रमा रहेका पर्यटकीय स्थलको पहिचान गर्दै पर्यटन पूर्वाधार विकास गर्ने, गाउँपालिकाको पर्यटन प्रवर्धन रणनीतिक योजना तयार पार्ने, महाभारत लेकमा रहेको उच्च पहाडी गोरेटोलाई घ्याङडाँडादेखि ताराखसे लेक पर्यटकीय पैदल मार्गको रूपमा विकास गर्ने, पालिकाभित्र रहेका पर्यटकीय स्थल र सम्पदाको संरक्षण गर्ने योजना अघि बढाएको गाउँपालिकाका उपाध्यक्ष मीमबहादुर वाइवाले जानकारी दिनुभयो ।

उहाँले गाउँपालिकाभित्र पर्यटन विकास गर्नका लागि अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिले तयार गरेको पर्यटनको योजनालाई प्रदेश सरकार र सङ्घीय सरकारमा पठाएको बताउनुभयो । उहाँले ताराखसे, आहाले लेक, तीनधारे झरना, घ्याङलेकमा पर्यटनको ठूलो सम्भावना रहेको बताउनुभयो । उहाँले गाउँपालिकाभित्र पदमार्गको क्षेत्रमा पनि अध्ययनको काम गर्नुपर्ने बताउनुभयो । 

“गाउँपालिकाको तीनधारे झरना, आहाले लेक, ताराखसे लेक, निगाले डाँडा, चौकीडाँडा, सुँगुरे, भूमिचुली, घोडेचुली, घ्याङलेख, चैतेपानीलेकसम्म पदमार्ग बनाउन सकिन्छ” उपाध्यक्ष वाइवाले थप्नुभयो । रोशी गाउँपालिकामा हाल वार्षिक करिब एक सयको हाराहारीमा बाह्य र पाँच सय भन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको छन् ।

गाउँपालिकामा पर्यटनबाट करिब पाँच लाख आय प्राप्त हुनुका साथै सात जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेको गाउँपालिकाको तथ्याङ्क छ । आवधिक योजना तयार गर्दा गाउँपालिकामा हाल होटल तथा होमस्टेमा गरी दुई दर्जन रहेका छन् ।

गाउँपालिकाले आ.व. २०८०/०८१ को अन्त्यसम्ममा गाउँपालिकाभित्र वार्षिक एक हजार पाँचसय आन्तरिक, एक हजार पाँचसय जना वैदेशिक पर्यटक, ३० वटा होटल तथा होमस्टे सुचारु भई ७० वेड क्षमता हुने अपेक्षा छ । 

यस्तै, गाउँपालिकाभित्र पर्यटकीय गन्तव्य स्थल (प्राकृतिक तथा सांस्कृतिक) सात वटा पु¥याउने,  प्रत्येक वडामा एक एकका दरले १२ वटा पिकनिक स्थल ÷ सार्वजनिक उद्यानको निर्माण भएको,  महाभारत पदयात्रा मार्गको निर्माण भएको हुने, पर्यटन व्यवसाय सम्बन्धित २० जना दक्ष जनशक्ति तयार भएको हुने, एक वटा पर्यटन सूचना केन्द्र, दुईवटा सङ्ग्रहालय र दुई वटा कोसेली घर स्थापना भएको, पर्यटन क्षेत्रसँग सम्बन्धित स्थानीय सङ्घ /संस्थाहरूको संस्थागत क्षमता विकास भएको हुने अपेक्षा छ ।

गाउँपालिकाले पछिल्लो वर्षदेखि गाउँपालिकाका विभिन्न वडाहरूमा पर्यटकीय विकासका लागि भ्यू टावर निर्माण, डम्फु जीवन्त तामाङ सङ्ग्रहालय निर्माणको काम सञ्चालन गरेको छ । रोशी गाउँपालिकाभित्र १३ वटा प्रमुख पर्यटकीय स्थलमा रहेका छन् । गाउँपालिकाभित्र ताराखसे लेक, हात्ती आहाल, सितापाईला, मंगलटार बजार आदि ऐतिहासिक स्थल हुन् ।