• १३ साउन २०८१, आइतबार

तीन वस्तुले घटायो कुल निर्यात

blog

काठमाडौँ, फागुन १६ गते । प्रशोधित खाने तेल (पाम तेल, भटमासको तेल र सूर्यमुखी)को निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको सात महिना (साउन–माघ)मा पाम तेल र भटमासको तेलको निर्यातमा ४८ अर्ब ८० करोड रुपियाँ ह्रास आउँदा कुल निर्यातमा प्रभाव परेको हो । 

सात महिनाको कुल निर्यातमा भटमासको तेल, पाम तेल र सूर्यमुखी तेलको योगदान २४ दशमलव ०१ प्रतिशत रहेको छ । कुुल निर्यातमा पाम तेल १४ दशमलव ९ प्रतिशत, भटमासको तेल ८ दशमलव ९ प्रतिशत र सूर्यमुखी तेलको हिस्सा शून्य दशमलव २ प्रतिशत रहेको छ । 

विभागका अनुसार चालू आर्थिक वर्षको सात महिनामा पाम तेलको निर्यातमा ५९ दशमलव २ प्रतिशतले ह्रास आई १३ अर्ब ९२ करोड रुपियाँमा झरेको छ । सो अवधिमा भटमासको तेलको निर्यातमा ७७ दशमलव ५ प्रतिशतले ह्रास भई आठ अर्ब २७ करोड ७५ लाख ७४ हजार रुपियाँ र सूर्यमुखी फूलको तेलको ९१ दशमलव २ प्रतिशतले घटेर २३ करोड २८ लाख ७० हजार रुपियाँको भएको छ । 


विभागका अनुसार साउनदेखि माघसम्मको समग्र वस्तु निर्यात २९ प्रतिशतले घटेर ९१ अर्ब ४३ करोड २३ लाख ३८ हजार रुपियाँमा झरेको छ । आव २०७७/७८ को तुलनामा आव २०७८/७९ को पहिलो सात महिनाको अवधिमा भने ८८ दशमलव ३० प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपियाँ बराबरको वस्तु निर्यात भएको थियो । 

भन्सार विभागका अनुसार आव २०७७/७८ मा एक खर्ब ४१ अर्बको निर्यात हुँदा ५३ अर्ब रुपियाँको पाम तेल र भटमासको तेल निर्यात भएको थियो । यो कुल निर्यातको करिब ३८ प्रतिशत हो । 

गत आर्थिक वर्ष दुई खर्बको कुल वस्तु निर्यात हुँदा पाम तेल र भटमासको तेलको हिस्सा मात्रै करिब ९० अर्ब रुपियाँ रहेको थियो । यो कुल निर्यातको ४५ प्रतिशत हो । 

अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चीन, इजिप्ट, इन्डोनेसिया, पाराग्वे, रुस, स्विट्जरल्यान्ड, टर्की, मलेसियालगायत देशबाट पाम तेल, भटमासको कच्चा पदार्थ आयात हुुन्छ । प्रशोधित तेल थोरै मात्रामा आन्तरिक बजारमा र बाँकी सबै भारतमा निर्यात हुने गर्छ । 

अलैँची तथा चियाको निर्यात बढ्यो

चालू आर्थिक वर्षको सात महिनामा अलैँचीको निर्यात ८५ प्रतिशतले बढेर पाँच अर्ब ४६ करोड २६ लाख ६९ हजार रुपियाँ बराबरको निर्यात भएको छ । 

यस्तै चिया निर्यात २९ दशमलव ९ प्रतिशतले बढेर दुई अर्ब ७१ करोड पाँच लाख ३७ हजार रुपियाँको निर्यात भएको छ । चालू आर्थिक वर्षको सात महिनामा अदुवा निर्यात १६० प्रतिशतले बढेर ६६ करोड ९८ करोड ७१ लाख रुपियाँको निर्यात भएको छ । गत वर्ष सो अवधिमा २५ करोड ६८ लाख ७५ हजार रुपियाँको अदुवा निर्यात भएको थियो । 

कच्चा पदार्थ आयात

यी वस्तु पूर्ण स्वदेशी उत्पादन नभई कच्चा पदार्थ आयात गरी मूल्य अभिवृद्धि (भ्यालु एड) गरेर निर्यात हुनेगर्छ । व्यापारविज्ञ रविशङ्कर सैँजूले भारतले पाम तेल र भटमासको तेल आयातमा भन्सार शुल्क घटाएसँगै निर्यात ह्वात्तै घटेको बताउनुुभयो । 

स्वदेशी उत्पादन नभई कच्चा पदार्थ आयात गरी पुनः प्रशोधन गरेर निर्यात हुने यी वस्तुको निर्यात गत आर्थिक वर्ष बढेको थियो, भारतले भन्सार महसुल घटाउँदा पाम तेल र भटमासको तेल निर्यात घटेको उहाँले बताउनुभयो । 

चालू आर्थिक वर्षको सात महिनामा पाम तेल ५९ दशमलव २ प्रतिशत, भटमासको तेल ७७ दशमलव ५ प्रतिशत र सूर्यमुखी तेलको ९१ दशमलव २ प्रतिशतले घटेको छ । कुुल निर्यातमा पाम तेल १४ दशमलव ९ प्रतिशत, भटमासको तेल ८ दशमलव ९ प्रतिशत र सूर्यमुुखी तेलको हिस्सा शून्य दशमलव २ प्रतिशत रहेको छ । 

मुलुकको निर्यात बढाउन निर्यातयोग्य वस्तुको पहिचान गरेर उत्पादन बढाउन जोड दिनुका साथै कृषिजन्य वस्तुको आयातमा भन्सार महसुल बढाउनुपर्ने उहाँको भनाइ छ ।

नेपालले भारतको कृषिजन्य वस्तुको आयातमा न्यून भन्सार महसुल लिँदा नेपाली बजारमा भारतीय उत्पादन सस्तो र स्वदेशी वस्तुको लागत उच्च हुँदा प्रतिस्पर्धा गर्न नसकेको उहाँले बताउनुभयो । 

नेपालले कृषिजन्य वस्तुको आयातमा कृषि विकास शुल्क भनेर ७ प्रतिशत लगाउने गर्छ । चामल, तरकारी, फलफूल, तरकारी भारतबाट नेपालमा ठूलो परिणाममा आयात हुने गर्छ । 

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका प्रमुख कार्यकारी निर्देशक शरदविक्रम राणाले निर्यात बढाउन निर्यातयोग्य वस्तुको पहिचान गरेर उत्पादन बढाउनुपर्ने बताउनुभयो । “स्वदेशी वस्तुको निर्यात न्यून छ, अधिकांश वस्तुको कच्चा पदार्थ आयात गरेर दीर्घकालीन रूपमा निर्यात बढाउन उत्पादनमै जोड दिनुपर्छ,” उहाँले भन्नुभयो । 

उत्पादन वृद्धि गरी निर्यात प्रवद्र्धन गर्ने कार्यक्रम नीति, कार्यक्रम र बजेटमै समावेश गर्नुपर्ने उहाँको भनाइ छ । विश्वमा देखा परेको आर्थिक सङ्कट, बैङ्कको उच्च ब्याजदर, लगानीको उपयुक्त वातावरण नहुँदा निर्यात बढ्न नसकेको उहाँले बताउनुभयो ।