• १४ पुस २०८१, आइतबार

एकलव्य अभ्यासमा (कविता)

blog

चारैतिर कति रङ्गीचङ्गी वातावरण, परिस्थिति

कति मनोरम दृश्य, मनमोहक उपस्थिति

आहा ! डुबूँ भनेको मनको दहमा

तरङ्ग नतैरिएर र नउब्जिएर हो कि

सुस्ताएँ, अल्छी भएँ

चेत समाल्न छोडेर त्यसै फाल हानेँ

कता पुगेँ, पुगेँ थाहा भएन

के भयो हँ ? भनेर सोध्छु भनेको त

दिमाग उसै भौँतारी रह्यो

फुर्सदले सोच्दै चिन्तन गरेर

कतै पनि भागलिन नसक्ने भएँ

...

तारनतारको हानथापमा परेर

उदास भएको बखत

एक्कासि कोही उफ्रिएर आउँछ भने

कसको के लाग्छ र !

...कराउने कराइरहून्

...गाउने गाइरहून्

...नाच्ने नाचिरहून्

...हाँस्ने हाँसिरहून्

...रुने रोइरहून्

म भने चुपचाप गमला खेलाइरहन्छु,

फूल रोपिरहन्छु

उम्रे उम्रियोस्, नउम्रे नउम्रियोस्

कसैसँग केही गुनासो छैन

एक तमास माटो चलाइरहन्छु,

मल, पानी हालिरहन्छु,

खोस्रिरहन्छु र गोडमेलमा व्यस्त भइरहन्छु

के थाहा कतै टुसाइ पो हाल्छ कि !

. . 

अज्ञान र अबोधगम्य स्पर्शमा

पिल्सिरहेको कोही दौडिँदै आयो

अनायास प्रफुल्लित भयो

म छक्क परेर हेरिरहेँ

उसले जुरुक्क मेरो गमला उचालेर बोक्यो

कता लाग्यो, लाग्यो

...के भन्यो, के भनेन

...के सुनेँ, के सुनिँन

...के कथ्यो, के कथेन

...के बुझेँ, के बुझिनँ

थाहै भएन

...

कस्तो गन्तव्य ज्ञात नभएर

एकलव्य अभ्यासमा सामेल हुन पुगियो । 


चावहिल, काठमाडौँ