• २३ चैत २०८२, सोमबार

तामाकोशी गाउँपालिकाद्वारा खर्च कटौतीमा कडाइ

blog

तामाकोसी गाउँपालिकाको कार्यालय ।

सुजन काफ्ले

चरीकोट, चैत २३ गते । दोलखाको तामाकोशी गाउँपालिकाले प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन र सेवा प्रवाहलाई थप चुस्त बनाउन इन्धन तथा सवारीसाधन प्रयोगमा नयाँ नियमावली लागू गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको अध्यक्षतामा बसेको कर्मचारी बैठकले पालिकाको स्रोत र साधनको दुरुपयोग रोक्न यस्तो निर्णय लिएको हो।

​अधिकृत दर्जीका अनुसार अबदेखि कार्यालयबाट करीब ३० मिनेटसम्मको पैदल दूरीमा पर्ने कामका लागि सरकारी सवारी साधन प्रयोग गर्न पाइने छैन। यस्तो अवस्थामा कर्मचारीहरूले पैदलै गएर कार्य सम्पादन गर्नुपर्ने प्रतिबद्धता जनाएका छन्। दर्जीले पालिकाको सीमित स्रोतलाई अधिकतम सदुपयोग गर्न र अनावश्यक खर्च घटाउन यो कदम चालिएको बताउनुभयो।

​इन्धन खर्च कटौतीलाई प्राथमिकता दिँदै प्राविधिक कर्मचारीहरूले पाउँदै आएको १५ लिटर इन्धन कोटालाई घटाएर १० लिटरमा झारिएको छ।

अन्य कर्मचारीको हकमा भने स्पष्ट प्रयोजन खुलेको र कार्यालय प्रमुखले अनुमति दिएको खण्डमा मात्र इन्धन उपलब्ध गराइने दर्जीले जानकारी दिनुभयो।

सवारी साधनको प्रभावकारी उपयोगका लागि 'एकै प्रयोजनका लागि एउटै सवारी' नीति समेत तय गरिएको छ, जुन नियम जनप्रतिनिधिहरूको हकमा समेत समान रूपमा लागू गर्न अनुरोध गरिएको छ।

​यसका साथै संघीय सरकारको निर्णय बमोजिम बिहान ९स्०० बजेदेखि अपराह्न ५:०० बजेसम्मको कार्यालय समयलाई कडाइका साथ पालना गराइने भएको छ।

दर्जीले कर्मचारीहरूलाई निर्धारित समयमै उपस्थित भई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ । चालु तथा पुँजीगत तर्फका विकास योजनाहरूलाई बजेट र समयसीमा भित्रै सम्पन्न गर्न कुनै पनि बहानामा ढिलासुस्ती नगर्न समेत उहाँले कर्मचारीहरूलाई सचेत गराउनुभएको छ।