• १४ पुस २०८१, आइतबार

प्रेम र पैसा

blog

ओ हेनरी (वास्तविक नाम विलियम सिड्नी पोर्टर, सन् १८६२–१९१०) विख्यात अमेरिकी कथाकार हुन् । प्रेम कथाका अमर शिल्पी हेनरीले ‘म्यामन एन्ड द आर्चरी’ शीर्षकमा यो कथा सर्वप्रथम सन् १९०६ मा प्रकाशित गरेका थिए । 

रकवाल साबुनको उत्पादन र बिक्रीमार्फत दसौँ लाख डलर आम्दानी गरेका वृद्ध एन्थोनी रकवाल न्युयोर्कको आफ्नो भव्य फिफ्थ एभेन्यु घरको झ्यालनिर उभिए । उनी आफ्ना छिमेकी जी भान सुइलाइट सुफोल्क–जोन्सलाई हेरिरहेका थिए । ती छिमेकी प्रतिष्ठित रैथाने न्युयोर्क परिवारका एक सदस्य थिए । सुफोल्क–जोन्सले सधैँझैँ पुलुक्क एकपल्ट एन्थोनी रकवालको घरमा नजर लगाए । त्यो हेराइले सुफोल्क–जोन्स एक अत्यन्त प्रभावशाली मान्छे दर्साउँथ्यो, जसका सामुन्ने साबुन निर्माता नवधनाढ्य रकवाल केही पनि होइनन् ।

“म अर्को गृष्मयाममा यो घरलाई रातो, सेतो र नीलो रङले रङ्ग्याउनेछु,” साबुन सम्राटले मनमनै भने, “अनि देखाँैला, उसले कसरी हेर्नेछ ।”

त्यसपछि एन्थोनी रकवाल फरक्क फर्किए र चिच्याए, “माइक !” उनी नोकरलाई बोलाउन कहिल्यै घन्टी थिच्दैनथे ।

“मेरो छोरालाई भन्दे,” उनले नोकर हाजिर हुनासाथ भने, “ऊ घरबाट हिँड्नुअघि मलाई भेट्न जानु रे ।” 

जसै तन्नेरी रकवाल बुवाको कक्षभित्र छिरे, बूढाले आफूले पढ्दै गरेको अखबार टेबलमा राखे । ‘रिचर्ड’, एन्थोनी रकवालले सोधे, “तिमीले आफूले प्रयोग गर्ने साबुनका निम्ति कति खर्चिन्छौँ ।” रिचर्ड छ महिनाअघि जति कलेजको पढाइ सकेर बुवासँग बस्न आएका थिए । त्यसैले उनले आफ्ना बुवाका तौरतरिका जानिसकेका थिएनन् । 

“बाह्रवटाका लागि छ डलर,” उनले भने ।

“अनि तिम्रा लुगाका लागि नि ?,” बुवाले फेरि सोधे ।

“यस्तै, समान्यतया साठी डलर ।”

“तिमी भलाद्मी मान्छे रहेछौ,” एन्थोनीले भने, “मैले त ठिटाहरूले बाह्रवटा साबुनका लागि चौबीस डलर र कपडामा सय डलरभन्दा बेसी खर्चिने सुनेको थिएँ । फुक्काफाल खर्चिनका लागि तिमीसँग अरूहरूभन्दा बढी पैसा छ । तर तिमीले जे गरेका छौ त्यो मुनासिब छ । म आफैँ पनि रकवाल साबुन नै प्रयोग गर्छु किनकि यो उत्तम छ । जब तिमी एउटाका लागि दस सेन्टभन्दा बढी तिर्दछौ, तिमी साबुनको मीठो सुवास र नामका लागि पैसा खर्चिरहेका हुन्छौ ।”

उनले फेरि थपे, “तर पनि, तिमीजस्ता तन्नेरीका लागि पचास सेन्ट उचित हो । तिमी भलाद्मी मान्छे हौ । मानिसहरू भन्छन् पनि, भलाद्मी बुवाका छोरा पनि भलाद्मी नै हुन्छन् । हुनसक्छ उसका छोराका छोरा पनि भलाद्मी नै हुनेछन् । तर तिनीहरू गलत हुन् । किनकि त्यसभन्दा पनि छिटो चाहिँ पैसा हो । पैसाले नै तिमीलाई भलाद्मी बनाएको हो । यसले नै मलाई लगभग भलाद्मी बनाइसकेको छ । हाम्रा घरको दायाँ र बायाँ घरहरूका भद्र पुरुषहरूकै हाराहारीमा म पनि भद्र मानिस बनिसकेको छु । मेरा आदतहरू पनि उनीहरूका झैँ खराब बनिसकेका छन् । उनीहरू अझै पनि रातमा मस्त निदाउन सक्दैनन्, किनकि एउटा साबुनवाला यो घरम बस्दै आएको छ ।”

“केही त्यस्ता कुरा पनि छन्, जसलाई पैसाले किन्न सक्दैन,” तन्नेरी रकवालले खिन्नतापूर्वक भने ।

“तिमी त्यसो नभन,” बूढा एन्थोनीले भने, “प्रत्येक पल्ट पैसा सफल हुन्छ । मलाई तिमीले यसबाट किन्न नसक्ने कुरा केही छन् जस्तो लाग्दैन । पैसाले किन्न नसकिने कुनै कुरा छन् भने मलाई बताऊ । म तिमीबाट थप कुराहरू सुन्न चाहन्छु । तिमीमा केही न केही त गडबड पक्कै छ । मैले दुई हप्तादेखि यस्तो महसुस गर्दै आइरहेको छु । मलाई बताऊ । म तिमीलाई मद्दत गर्न चाहन्छु । चौबीस घण्टाभित्रै एक करोड दस लाख डलर म हात पार्न सक्छु । तिमी बिमार त छैनौ ?”

“कतिपयले यसलाई प्रेमरोग भन्छन् ।”

“अहो !” एन्थोनीले भने, “अनि उनको नाम के हो नि ? उसलाई तिमीले विवाह गर्न किन भनेनौ ? उनी त्यस निम्ति खुसी हुन्थिन् । तिमीसँग पैसा छ, तिमी सुन्दर छौ र तिमी असल छौ । तिम्रा हातहरू सफा छन् । तिनमा रकवाल साबुन परेका छैनन् ।

“मलाई उनीसँग सोध्ने मौका नै परेन,” रिचर्डले भने ।

“मौका खोज,” एन्थोनीले सुझाए ।

“उनलाई पार्कतिर लैजाऊ अथवा चर्चबाट सँगसँगै घर फर्किऊ,” बुवाले थपे ।

“तर बुवा तपाईंलाई सम्भ्रान्त केटीहरूका जीवन थाहा छैन । उनीहरूका प्रत्येक घण्टा र मिनेट योजनाबद्ध हुन्छन् । मैले उनलाई पाउनै पर्दछ । होइन भने, यो संसार मेरो निम्ति केही पनि होइन । म उनलाई मन पराउँदछु भनेर चिठी लेख्न पनि सक्दिनँ । त्यस निम्ति अब उनीसँग समय पनि छैन,” छोराले भने ।

“तिमीले मलाई भन्नुपर्छ त,” बूढाले भने, “मेरा सबै पैसाले तिम्रा निम्ति एउटी केटीको एक वा दुई घण्टा पनि नमिलोस् ?”

“मैले उनलाई धेरै पर्खिएँ । उनी पर्सि युरोप जाँदैछिन् । त्यहाँ उनी दुई वर्ष रहनेछिन् । मलाई भोलि साँझ उनलाई केही मिनेटका लागि मात्र एक्लै भेट्ने अनुमति छ । उनी रेलबाट सहर आउँदै छिन् । म गाडी लिएर भेट्न जाँदै छु । त्यसपछि हामी तत्कालै थियटर जाने छाँैं, जहाँ उनले आफ्नी आमा र केही अन्य मानिसलाई भेट्नुपर्ने छ । तपार्इंलाई लाग्छ, त्यहाँ उनले मेरो कुरा सुन्लित ? अहँ । अथवा थिएटरमा ? अहँ । अथवा थिएटर पछि ? अहँ । होइन बुवा, तपाईंको पैसाले सुल्झाउन नसक्ने यो एउटा समस्या हो । हामीले एक मिनेट मात्र पनि पैसाले किन्न सक्दैनौँ । यदि त्यस्तो हुन्थ्यो भने धनीहरूको आयु लामो हुन्थ्यो । मिस ल्यान्ट्री हिँड्नुअघि कुराकानीको कुनै गुञ्जाइस छैन ।” 

“रिचर्ड, मेरो बुवा,” बूढा एन्थोनीले भने, “म खुसी छु, तिमी बिमार नै रहेनछौ । तिमी पैसाले समय किन्न सकिँदैन भन्छौ । हुनसक्छ यसले सबै समय किन्न नसकिए पनि मैले टुक्राटाक्री समय किनेको देखेको छु ।”

त्यस साँझ एन्थोनीकी बहिनी एलेन प्रेमीहरूका समस्याहरूबारे यसो कुराकानी गर्ने उद्देश्यले दाइलाई भेट्न आइपुगिन् ।

“रिचर्डले मलाई यस विषयबारे बताएको थियो,” दाइ एन्थोनीले भने, “मैले उसलाई चाहेजति पैसा लग पनि भनेको थिएँ । तर उसले यसमा पैसाको केही काम छैन पो भन्यो ।”

“ओहो ! एन्थोनी,” एलेनले भनिन्, “तिमीले पैसाबारे त्यतिविघ्न सोच्ने नगरेकै जाति । प्रेममा पैसाको कुनै काम छैन । प्रेम सबैभन्दा शक्तिशाली हुन्छ । यदि उसले पहिले नै कुरा गरेको भए, उनले हाम्रो रिचर्डलाई नाइँ कदापि भन्ने थिइनन् । तर अहिले धेरै ढिला भइसक्यो भन्ने मलाई लाग्दछ । तिम्रा भएभरका सम्पत्तिले तिम्रै छोराको खुसी किन्न सक्दैन ।” 

भोलिपल्ट बिहान आठ बजे एलेनले एउटा पुरानो औँठी निकाल्दै रिचर्डलाई थमाइन् ।

“यसलाई आज राति पहिरिऊ,” उनले भनिन्, “तिम्री आमाले मलाई दिएकी थिइन् । तिमीले आफूलाई मन परेकी केटी फेला पारेपछि तिमीलाई दिन भनेर मलाई अह्राएकी थिइन् ।” 

तन्नेरी रकवेलले औँठी हत्केलामा लिए र आफ्नो कान्छी आँैलामा घुसाउने कोसिस गरे । तर औँठी निकै सानो थियो । उसले सुरक्षित ठह¥याएको कोटभित्रको एउटा खल्तीमा औँठी राख्यो । अनि आफ्नो गाडी बोलायो ।

स्टेसनमा उसले मिस ल्यान्ट्रीलाई भेट्यो ।

“हामीले आमा र अरूलाई पर्खाइराख्नु हुँदैन,” उसले भनी । “बालाक थिएटरतिर, सकेसम्म छिटो है,” रिचर्डले आफ्नो ड्राइभरलाई भन्यो ।

उनीहरू फोर्टी–सेकेन्ड स्ट्रिट हुँदै ब्रोडवे र त्यहाँबाट थर्टी–फोर्थ स्ट्रिटतिर हुइँकिए ।

त्यसपछि रिचर्डले एक्कासि ड्राइभरलाई गाडी रोक्न भने । 

“मैले औँठी बाटोमा खसाएँ,” गाडीबाट ओर्लंदै उसले भन्यो, “त्यो मेरी आमाको थियो र मैले हराउन हुँदैनथ्यो । एक मिनेट जति पर मात्र होला, मैले खस्दै गर्दा देखेको हुँ ।”

एक मिनेटभन्दा कम समयभित्रै ऊ औँठीसहित गाडीमा फर्कियो ।

तर एकै मिनेटभित्र, एउटा गाडी उनीहरूको गाडी अगाडि रोकियो । ड्राइभरले देब्रे मोड्न कोसिस ग¥यो तर त्यता पहिल्यै अर्को गाडी थियो । उसले फेरि दाहिने मोड्ने प्रयास ग¥यो, त्यहाँ पनि अर्को गाडी थियो । पछाडि मोडिने त ठाउँ नै थिएन । उनीहरू जहाँको त्यहीँ अड्किए । 

यस्ता अकस्मात्का व्यवधान सहरमा हुने गर्दछन् । आफ्ना गन्तव्यतर्फको निर्दिष्ट गुडाइभन्दा पनि सबै गाडीहरू एकअर्काका लेनमा मिसिन पुगेपछि गाडीहरू रोकिन पुग्छन् । 

“तिमी किन अगाडि बढ्दैनौ ?” मिस ल्यान्ट्री आत्तिइन्, “नभए हामी ढिला हुनेछौ ।” 

रिचर्डले उभिएर गाडीको झ्यालबाट सबैतिर ह¥यो । उसले निजी र भाडाका गाडीहरूका लहर ब्रोडवे, सिक्थ एभेन्यू र थर्टी–फोर्थ स्ट्रिट मिल्ने कुनातिर लम्किन खोजेको देख्यो । ती सबै दिशातिरबाट आउँदै थिए । अनि एकपछि अर्को गर्दै थपिँदै थिए । निजी र भाडाका सवारी चालकहरू कराइरहेका थिए । न्युयोर्क सहरमा गुडिरहेका सबै मानिसहरू त्यसै ठाउँतिर पुग्न तँछाड–मछाड गरिरहेका थिए ।

“मैले ठूलो भूल गरँे,” रिचर्डले सिटमा थचक्क बस्दै भने, “हामी अघि बढ्न सक्दैनौँ । यो सुल्झिन अझै एक घन्टा लाग्छ । मैले औँठी नखसाएको भए.. ।”

“खै म औँठी हेरू त,” मिस ल्यान्ट्रीले भनिन्, “अब यसै पनि हामीलाई हतार गरेर काम छैन । यसै पनि मैले थिएटर जान चाहेकी थिइन् । मलाई नाटक मन पर्दैन ।” 

त्यसै दिनको रातको ११ बजे कोही एन्थोनीको कोठाको ढोकासम्म पुग्यो । “भित्र आऊ,” एन्थोनीले ठूलो आवाजमा भने । अनि उनले आफूले पढिराखेको पुस्तक बिसाए ।

ती व्यक्ति अरू कोही नभएर एलेन रहिछिन् । “उनीहरू विवाह गर्दैछन्, एन्थोनी,” एलेनले भनिन्, “उनले हाम्रो रिचर्डसँग विवाह गर्ने वाचा गरेकी छन् ।” उनीहरू थिएटर जाँदै गर्दा गाडी दुई घण्टासम्म जाममा फसे । 

“अनि एन्थोनी दाइ, अब फेरि पनि पैसाको ताकतबारे कुरा नगर । त्यो सानो आँैठी, साँच्चिकै प्रेमको आँैठी नै रिचर्डलाई खुसी दिलाउने कारक बन्यो । उसले त्यसलाई बाटोमा खसाएकाले खोज्नका लागि जानुपर्ने भयो । तर जसै उनीहरूलाई त्यहाँबाट अघि बढ्नुथियो, गाडी जाममा फस्यो । उसले त्यही गाडीमा रहँदा रहँदै आफ्नो प्रेम प्रकट ग¥यो एन्थोनी, साँचो प्रेम नै सबै कुरा हो ।”

“मलाई खुसी छ, केटाले जे चाहेको थियो, आखिर पाइहाल्यो,” बूढाले भने, “मैले उसलाई मसँग कति पैसा छ त्यो वास्तै गर्न छाडिसकेको बताइसकेँ ।”

“तर दाइ, तिम्रो पैसाले के नै पो गर्न सक्थ्यो र ?”

“बहिनी”, एन्थोनीले भने, “हेर अहिले म राम्रो कथा रहेको पुस्तक पढ्दैछु । हुन त यो जङ्गलको साहसिक कथा हो तर मलाई मन प¥यो अब अगाडि के हुन्छ भनेर कौतुहल जगाउने । त्यसैले तिमी मलाई एकछिन यसलाई सिध्याउन देऊ ।”

अर्को दिन राता हातहरू र नीलो टाई लगाएको केली नामको व्यक्ति एन्थोनीलाई भेट्न उनको घर आए ।

“त्यो हामीले उत्पादन गरेको राम्रो साबुन थियो,” एन्थोनीले भने, “मैले तिमीलाई हिजो पाँच हजार डलर दिएको थिएँ ।”

“तर मैले त आफ्नै खल्तीबाट तीन सय डलर खर्च गर्नु प¥यो त,” केलीले भने, “मैले सोचेभन्दा बढि खर्च भयो । मैले ट्याक्सी लिएँ, सबैजसोको भाडा पाँच डलर थियो । दुईवटा घोडाको दस डलर । मैले धेरै चाहिँ प्रहरीलाई दिन प¥यो, एउटालाई ५० अर्का दुईलाई ७६, अनि फेरि अरूहरूलाई २० र २५ । तर काम राम्रो भएन र मिस्टर रकवाल ? तिनीहरू सबै समयमै आए ।”

“ल १३०० डलर लिऊ केली,” पैसा थमाउँदै एन्थोनीले भने, “एक हजार तिम्रा लागि र तीन सय चाहिँ तिम्रो खर्चको सोधभर्ना । तिमीलाई चित्त त बुझ्यो, केली ?”

“पक्कै,” केलीले भने ।

केली ढोकानिर पुग्दै गर्दा एन्थोनीले बोलाए ।

“तिमीले देख्यौ त,” उनले सोधे, “हिजो सडकमा कतैतिर, धनुकाण लिएको एउटा फुच्चे मोटे केटा, जसको शरीरमा लुगा थिएन ?”

केली अलि चकित देखिए । “अहँ देखिनँ । यदि ऊ नाङ्गै हो भने त सायद प्रहरीले समातिहाल्थे नि !”

“मलाई लाग्छ कामदेव त्यहाँ थिएनन,” एन्थिनीले हाँस्दै भने, “ल त है, केली ।” 

 भाषान्तर : शेखर खरेल ।