• १७ भदौ २०८१, सोमबार

भूकम्पको विनाश लीला

blog

यस शताब्दीकै विनाशकारीमध्ये एक मानिएको टर्किए भूकम्पबाट टर्किए र छिमेकी सिरियामा ठूलो जनधनको क्षति भयो । यही फेब्रुअरी ६ को बिहान र अपराह्न त्यहाँ दुईवटा शक्तिशाली भूकम्प गए । बिहान गाजियान्टेपलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टर स्केल र अपराह्न एकिनोजुलाई केन्द्रबिन्दु बनाएर गएको ७.५ रेक्टर स्केलको भूकम्पले अकल्पनीय जनधनको क्षति भएको हो । टर्किएमा ४० हजार र सिरियामा छ हजारभन्दा बढी मानिसको मृत्यु भयो भने एक लाखभन्दा बढी मानिस घाइते भएका छन् । टर्किएमा फेरि फेबु्रअरी २० (यही सोमबार) ६.४ र ५.८ रेक्टर स्केलको भूकम्प जाँदा तीन जनाको मृत्यु, छ सयभन्दा बढी घाइते भएका छन् । टर्किए युरोपेली र सिरिया एसियाली मुलुक हुन् । 

यो भूकम्पलाई सन् १९३९ पछिकै शक्तिशाली मानिएको छ । टर्किएका ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ । त्यहाँको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी भूकम्पमा परी ज्यान जानेको सङ्ख्या अरू बढ्नेछ किनभने सबै भग्नावशेष हटाउन महिनौँ लाग्न सक्छ । पछिल्लो भूकम्पले उद्धार तथा राहत कार्यक्रमलाई थप प्रभावित पारेको छ । 

सिरियाको सीमानजिकै गएको भूकम्पबाट १४ लाख बालबालिकासहित करिब दुई करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको छ । स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मा भूकम्प जाँदा अधिकांश मानिस घरभित्रै सुतिरहेकाले मानवीय क्षति बढी भएको हो । टर्किएको सुन्दर सहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ । यहाँका बासिन्दा आफ्ना सपनाका घर खरानीमा परिणत भएकोमा दुःखित छन् । त्यहाँको सुन्दर मस्जिद पनि भूकम्पले ध्वस्त भयो । 

संयुक्त राष्ट्रसङ्घका राहत प्रमुख मार्टिन ग्रिफिथ्सले दक्षिणी टर्किए र उत्तरपश्चिमी सिरियामा गएको शक्तिशाली भूकम्पलाई शताब्दीकै ‘सबैभन्दा नराम्रो घटना’ भन्नुभएको छ । 

भूकम्प प्रतिरोधी भवन पनि ढले

भूकम्प प्रभावित क्षेत्रमा चोरी र लुटपाट भएको छ । प्रहरीले दुई सयभन्दा बढीलाई पक्राउ गरेको छ । भूकम्पमा भूकम्प प्रतिरोधी नयाँ भवन पनि ढलेका छन् । यसले भवन सुरक्षाको मापदण्डबारे प्रश्न उठेको छ । आधुनिक निर्माणको प्रविधिअनुसार निर्माण भएका भवनमा यो हदसम्मको धक्काबाट ठूलो क्षति हुन नहुने भन्दै निर्माण व्यवसायीसँग सरकारले स्पष्टीकरण मागेको छ । सरकारले भूकम्पमा भत्किएका भवन निर्माण गर्ने ११३ ठेकेदारलाई पक्राउ पुर्जी जारी गरेको छ । तीमध्ये टर्किए प्रहरीले निर्माण ठेकेदारसहित कम्तीमा २१ जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ ।

सरकारले भूकम्प प्रतिरोध घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनीहरूले भूकम्प प्रतिरोधी घर नबनाउँदा र त्यसमा भ्रष्टाचार गरेका कारण विशाल संरचना भत्कन पुगेको सरकारका अधिकारीले निष्कर्ष निकालेका छन् । ठेकेदारले भूकम्प प्रतिरोधी घर नबनाएका कारण धेरैको ज्यान गएको सुरक्षा अधिकारीले निष्कर्ष निकालेपछि निर्माण कम्पनी र त्यसका ठेकेदारलाई पक्राउ गरिएको हो । भूकम्पका क्रममा टर्कीका हजारौँ विशाल भवन भत्किएका छन् ।

सन् १९९९ मा देशको उत्तरपश्चिमी भूभागमा गएको भूकम्पले १७ हजार मानिसको ज्यान लिएपछि भवन निर्माणको मापदण्डमा कडाइ गरिएको हो । कडा भूकम्प प्रतिरोधी मापदण्ड लागू भएको क्षेत्रमा धेरै भवन ढलेपछि त्यहाँ धेरै मानिसले भवन निर्माण गुणस्तरबारे प्रश्न गरिरहेका छन् । भूकम्प शक्तिशाली भए पनि राम्रोसँग बनाइएका भवनले यसको धक्का बहन गर्न सक्नुपर्ने विज्ञ बताउँछन् । “यो भूकम्पको धक्का निकै ठूलो भए पनि राम्रोसँग बनाइएका भवन ढाल्ने किसिमको थिएन”, लन्डनस्थित युनिभर्सिटी कलेजका विज्ञ डेभिड एलेक्जान्डरले भन्नुभयो । 

ठूल्ठूला भूकम्प आइरहने विगत भए पनि जापानजस्ता देशमा दसौँ लाख मानिस घना जनसङ्ख्या भएको क्षेत्रमा अग्ला भवनमा बसिरहेका छन् । यसले पनि भूकम्प प्रतिरोधी निर्माणको मापदण्ड पालनाले कसरी मानिसहरूलाई विपत्बाट जोगाउन सकिन्छ भन्ने देखाउँछ ।

टर्किएमा भवन आचारसंहिता उल्लङ्घन गरेर नयाँ भवन बनाइएकाले यस्तो विपत् सहनु परेको हो । एक प्रतिवेदनमा सन् २०१८ मा त्यहाँ करिब एक करोड ३० लाख भवन मापदण्ड उल्लङ्घन गरेर निर्माण गरिएको उल्लेख गरेको छ । 

सङ्कटकाल लगाएर राहत र उद्धार

प्राचीन सभ्यताको केन्द्रसमेत रहेको सम्पन्न युरोपेली मुलुक टर्किएमा भूकम्प गएलगत्तै राष्ट्रपति रिसिप तैयप एर्डोगानले मुलुकभर सङ्कटकाल घोषणा गरी राहत र उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभयो । त्यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्धार टोलीले अहोरात्र खटिएर भूकम्पग्रस्त क्षेत्रमा उद्धार तथा राहतका लागि काम गरिरहेका छन् । देशमाथि आइपरेको यो विपत्बाट मुक्तिका लागि राष्ट्रपति एर्डोगानले अथक प्रयास गर्नुभएको छ । 

यसअघि सन् २०१६ मा त्यहाँ राजनीतिक विपत्ति आइलाग्यो । राष्ट्रपति एर्डोगानलाई अपदस्थ गर्न सैन्य ‘कु’ को प्रयास भयो । जसलार्ई जनताको बलिदानीले असफल पारिदियो । त्यस घटनामा २६५ जनाको ज्यान गयो भने १५ सयभन्दा बढी घाइते भए । सरकारले तीन महिना सङ्कटकाल लगाएर परिस्थितिलाई नियन्त्रणमा लियो । 

एर्डोगान सन् २००२ मा सत्तामा आउनुभएको हो । उहाँ १३ वर्षसम्म प्रधानमन्त्री चलाइसकेपछि शक्तिशाली राष्ट्रपति बन्नुभएका हो । उहाँले आठ दशकभन्दा बढी समयसम्म धर्मनिरपेक्षता स्वीकार गरेको मुलुकलाई फेरि इस्लामिक राष्ट्र बनाउने अभियान चलाउनुभएको छ । यो कुरा सेनालाई पटक्कै मन परेको छैन । सेना सुरुदेखि नै धर्मनिरपेक्षताको पक्षमा उभिँदै आएको छ । टर्किएमा विविध जातीय र धार्मिक संस्कृति भए पनि बहुसङ्ख्यक मानिस भने इस्लाम धर्मावलम्बी छन् । युरोपेली सङ्घ, उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो र जी–२० मा आबद्ध टर्किएलाई इस्लामीकरण गर्न लागिएकोमा राष्ट्रपति एर्डोगानसँग पश्चिमी मुलुक खुसी छैनन् ।

रोमन महान् योद्धा अलेक्जेन्डरद्वारा एघारौँ शताब्दीमा राज्य गरेको यो देश मुस्तफा कमालको नेतृत्वमा सन् १९२० देखि १९२२ सम्म चलेको स्वतन्त्रता सङ्गामबाट सन् १९२३ मा स्वतन्त्र भएको हो । मुलुक स्वतन्त्र भएयता सन् १९६०, १९७१ र १९८० मा मुुलुक सङ्कटमा परेको भन्दै सेनाले विद्रोह गरी सत्ता हातमा लिएको थियो । 

साढे आठ करोड जनसङ्ख्या रहेको, ७,८३,३५६ वर्ग किमि क्षेत्रफलमा फैलिएको, आठ देशसित सीमा जोडिएको विविध संस्कृतिले युक्त यो मुलुक ग्रिक, रोमन र पर्सियन सभ्यता ओगटेको प्राचीन सभ्यताको केन्द्र हो । सुल्तानको घर भनेर पनि चिनिने टर्किएलाई धर्मनिरपेक्षताविरुद्ध इस्लाम राज्य बनाउन खोज्नु नै पछिल्लो द्वन्द्वको प्रमुख कारण बनेको छ । इस्लाम राजनीतिक छवि बनाउनुभएका राष्ट्रपति एर्डोगान मुलुकलाई आधुनिक प्रणालीमा लैजाने कुरामा विमति राख्दै आउनुभएको छ । यो कुरा गणतन्त्रवादी स्वतन्त्रताप्रेमीलाई मन परेको छैन । यस्तो बेला आइलागेको यो प्राकृतिक विपत्तिबाट पार पाउन सबैसित हातेमालो गर्नुको विकल्प छैन ।

सिरियामा राहत र उद्धारमा समस्या 

त्यस्तै भूकम्पले तहसनहस भएको द्वन्द्वग्रस्त सिरियामा राहत र उद्धारमा समस्या देखिएको छ । पश्चिमी देशबाट एक्लिएको यो मुलुक अस्तव्यस्त छ । सन् २००० देखि सत्तामा रहनुभएका राष्ट्रपति बसर अल असदलाई हटाउन त्यहाँ सन् २०११ देखिको आन्दोलन गृहयुद्धमा परिणत हुँदा पनि सफल भएन ।                

अमेरिका र युरोपेली सङ्घले त्यहाँका विपक्षी दललाई हतियार र आर्थिक सहयोग दिई असदविरुद्ध आन्दोलनमा उतारे । अर्कोतर्फ रुस, इरान र चीनले असदलाई समर्थन गरे । सन् २०११ को मार्चदेखि सुरु भएको आन्दोलन गृहयुद्धमा परिणत भयो । पाँच लाख मानिस मारिए । १० लाखभन्दा बढी मानिस घाइते भए । ५० लाख मानिस घरबारविहीन बने । अर्बौं डलरको भौतिक संरचना ध्वस्त भयो । एक दशक चलेको यो गृहयुद्धमा अन्ततः अमेरिका र युरोपेली सङ्घले हात झिकेपछि अहिले मत्थर भएको छ । असद हटाउ आन्दोलन अब उठ्नै नसक्ने अवस्थामा पुगेको छ । असदको अडान र रुसको सहयोगले सिरियामा विपक्षी आन्दोलन विफल भयो । 

सिरियाका बहुसङ्ख्यक जनता स्वयंले आन्दोलनको गरेको भए सायद आजसम्म असदको सत्ता टिक्ने नै थिएन । विदेशीको इशारामा आन्दोलनको उठान गरिएकाले चर्को मूल्य चुकाइसक्दा पनि त्यहाँ आन्दोलन सफल भएन, अकल्पनीय क्षति मात्र भयो । मुलुक तहसनहस भयो । असदलाई हटाउन गरिएको आन्दोलन अन्त्यमा प्रत्युत्पादक बन्यो । उहाँलाई टक्कर दिने भरपर्दो अर्को नेता देखिएन । राष्ट्रपति असदले अहिले मुलुकमाथि आइपरेको प्राकृतिक विपत्तिबाट मुक्त गर्न राहत र उद्धार कार्यमा मुलुकको पुनर्निर्माण, विकास र शान्तिका लागि सहकार्य गर्नुपर्छ । युद्धपीडित र भूकम्पपीडित सिरियालीलाई तत्काल राहतसहित पुनर्वास गराउनुपर्छ । सन् १९४६ मा फ्रान्सबाट स्वतन्त्र भएको सिरिया १,८५,१८० वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । मुख्य भाषा अरबी, धर्म इस्लाम र इसाई रहेको यहाँको जनसङ्ख्या दुई करोड २० लाख छ ।

भूकम्प जानुको कारण 

पृथ्वीको भूगर्भ विभिन्न तह मिलेर बनेको हुन्छ । चट्टानको त्यस्तो तहलाई प्लेट भनिन्छ । ती एकअर्कासँगै टाँसिएर रहेका हुन्छन् । कहिलेकाहीँ प्लेट यताउता हलचल गर्न खोज्छन् तर एकअर्का हुने घर्षणका कारण रोकिन्छन् । कहिलेकाहीँ यस्तो दबाब सिर्जना हुन्छ, जसका कारण प्लेटहरू एकअर्कामाथि खप्टिन पुग्छन् र अचानक सतहमा हलचल हुन्छ । जसलाई भूकम्प भनिन्छ । अहिले टर्किएमा अरेबियन प्लेट उत्तरतर्फ सरेर एनाटोलियन प्लेट थिचिएका कारण भूकम्प गएको भूगर्भविद्को भनाइ छ ।