यो युवा र अवसरको समय हो । यो निर्णयको घडी पनि हो । नेपाल आज यस्तो ऐतिहासिक मोडमा उभिएको छ, जहाँ सानो निर्णयले पनि ठुलो दिशा तय गर्न सक्छ । विश्व तीव्र गतिमा प्रविधि, ज्ञान र नवप्रवर्तनमा आधारित अर्थतन्त्रतर्फ अघि बढिरहेको छ । कृत्रिम बुद्धिमत्ता, हरित ऊर्जा, जैवप्रविधि, डिजिटल सेवा र स्वचालन जस्ता क्षेत्रमा भइरहेका तीव्र विकासले विश्व अर्थतन्त्रको स्वरूप नै परिवर्तन गरिरहेको छ । यस्तो परिवर्तित परिदृश्यमा नेपालले आफ्नो विकासको मार्ग पुनर्परिभाषित गर्न अब ढिलाइ गर्नु हुँदैन । यो केवल नीतिगत बहसको समय होइन, यो कार्यान्वयन, परिणाम र नेतृत्व देखाउने समय हो । यसको केन्द्रमा छन्, नेपाली युवा । नेपालको सबैभन्दा ठुलो पुँजी यसको प्राकृतिक स्रोत मात्रै नभई युवा जनसङ्ख्या पनि हो । ऊर्जा, सिर्जनशीलता, नयाँ सोच, सिक्ने क्षमता र जोखिम लिन सक्ने आत्मविश्वास, यी सबै गुण नेपाली युवामा प्रशस्त छन् । सूचना प्रविधि, इन्जिनियरिङ, कृषि प्रविधि, नवीकरणीय ऊर्जा, डिजिटल उद्यमशीलता र सेवा क्षेत्रमा नेपाली युवाले आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् ।
आजका धेरै नेपाली युवा विश्वस्तरका कम्पनीमा काम गरिरहेका छन्, आफ्नै स्टार्टअप सञ्चालन गरिरहेका छन् । सीमित स्रोतका बिच पनि नवीन समाधान विकास गरिरहेका छन् । फ्रिलान्सिङ, डिजिटल सेवा निर्यात र प्रविधिमा आधारित व्यवसायले देखाइरहेका छन् कि अवसरको अभाव होइन, उचित वातावरणको अभाव मुख्य समस्या हो । सकारात्मक पक्ष नेपालमा परिवर्तनको आधार क्रमशः तयार हुँदै छ । इन्टरनेट पहुँच बढ्दो छ, डिजिटल साक्षरता विस्तार हुँदै छ । नयाँ पुस्ता विश्वसँग प्रत्यक्ष जोडिएको छ । सामाजिक सञ्जाल, अनलाइन शिक्षा, र डिजिटल प्लेटफर्मले ज्ञान र अवसरको पहुँचलाई लोकतान्त्रिक बनाएका छन् । यिनै सम्भावनालाई ठोस उपलब्धिमा रूपान्तरण गर्न आवश्यक छ, दृढ नीति, स्पष्ट प्राथमिकता र प्रभावकारी कार्यान्वयन । यथार्थ भने अझै चुनौतीपूर्ण छ, नेपालमा अनुसन्धान तथा विकासमा लगानी अत्यन्त न्यून छ । कुल गार्हस्थ उत्पादनको सानो अंश मात्र यस क्षेत्रमा खर्च हुने गरेको छ । जुन विश्वका विकसित तथा उदीयमान राष्ट्रहरूको तुलनामा निकै कम हो । यसले अनुसन्धानको गुणस्तर, प्रविधि विकास र नवप्रवर्तन क्षमतालाई प्रत्यक्ष असर पारिरहेको छ ।
जबसम्म लगानी बढ्दैन, तबसम्म ज्ञान उत्पादन, प्रविधि हस्तान्तरण र उद्योगसँगको सहकार्य प्रभावकारी बन्न सक्दैन । परिणामतः देशभित्रै समाधान खोज्ने क्षमता कमजोर रहन्छ र विदेशी प्रविधिमा निर्भरता बढ्दै जान्छ । प्रशासनिक संरचना जटिल, ढिलो र प्रक्रियामुखी छ, परिणाममुखी छैन । अनुसन्धान परियोजना स्वीकृतिमा अनावश्यक ढिलाइ, बजेट निकासामा अनिश्चितता, उपकरण खरिदमा झन्झटिला प्रक्रिया र समन्वय अभावले वैज्ञानिक तथा प्राविधिक जनशक्तिलाई निरुत्साहित बनाइरहेका छन् । यस्तो वातावरणमा सिर्जनशीलता फस्टाउन सक्दैन भने नवप्रवर्तनले गति लिन सक्दैन । यस्तो भएपछि प्रतिभा पनि टिक्न सक्दैन । यसको प्रत्यक्ष परिणाम हो, प्रतिभा पलायन । यसलाई केवल ‘ब्रेन ड्रेन’ भनेर सामान्यीकरण गरेर मात्र पर्याप्त हुँदैन । यो राष्ट्रिय लगानीको क्षति हो, संस्थागत कमजोरीको सङ्केत हो । भविष्यका अवसर गुमाउनु हो । देशले शिक्षामा लगानी गरेर तयार पारेका युवा जनशक्ति विदेशमा गएर योगदान दिन बाध्य हुनु दीर्घकालीन रूपमा विकासको बाधक बन्छ ।
युवा, विज्ञान र नवप्रवर्तन
यद्यपि यो सम्पूर्ण कथा नकारात्मक मात्र छैन । अवसर अझै जीवित छन्, बलियो रूपमै जीवित छन् । वर्तमान सरकारले समयमै दूरदर्शी र साहसिक निर्णय गर्न सक्छ । यही चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्छ । नेपालले विकासको परम्परागत ढाँचा पार गर्दै प्रविधिमार्फत छलाङ मार्ने सम्भावना अझै राख्छ । यसका लागि अब स्पष्ट, मापनयोग्य र कार्यान्वयनयोग्य नीति आवश्यक छ । पहिलो अनुसन्धान तथा विकासमा लगानी उल्लेखनीय रूपमा वृद्धि गर्नु पर्छ । कम्तीमा एक प्रतिशत जिडिपी यस क्षेत्रमा विनियोजन गर्ने स्पष्ट लक्ष्य तत्काल लिनु पर्छ । यसलाई केवल बजेटको अङ्कमा सीमित नराखी, प्रभावकारी खर्च, परिणाममूलक मूल्याङ्कन, र दीर्घकालीन रणनीतिसँग जोड्नु पर्छ ।
दोस्रो, युवाकेन्द्रित नवप्रवर्तन पारिस्थितिकी निर्माण गर्नु पर्छ । ‘युवा नवप्रवर्तन कोष,’ स्टार्टअप इन्क्युबेसन, एक्सेलेरेसन कार्यक्रम, अनुसन्धान अनुदान र प्रोटोटाइप विकासका अवसरलाई संस्थागत रूप दिनु पर्छ । युवालाई अवसर दिनु भनेको केवल रोजगारी सिर्जना गर्नु होइन, यो नयाँ उद्योग, नयाँ बजार र नयाँ अर्थतन्त्र निर्माण गर्नु हो । तेस्रो, प्रशासनिक सुधार अपरिहार्य छ । डिजिटल गभर्नेन्स, एकद्वार प्रणाली, समयसीमा आधारित स्वीकृति प्रक्रिया, र पारदर्शी अनुगमन प्रणाली लागु गर्नु पर्छ । प्रक्रियालाई सहज बनाउनु भनेको केवल सुविधा दिनु होइन, यो उत्पादकता बढाउनु हो । चौथो, उद्योग विश्वविद्यालय–अनुसन्धान संस्थाबिचको सहकार्यलाई मजबुत बनाउनु आवश्यक छ । अनुसन्धानलाई बजारसँग जोड्न सके मात्र नवप्रवर्तन दिगो हुन्छ । निजी क्षेत्रको लगानी, प्राविधिक सहकार्य र उत्पादनको व्यावसायीकरणलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ । पाँचौँ, विश्वभर रहेका नेपाली वैज्ञानिक तथा प्राविधिकलाई आकर्षित गर्ने दीर्घकालीन रणनीति आवश्यक छ । ‘ब्रेन ड्रेन’ को अवधारणालाई व्यवहारमा ल्याउन प्रतिस्पर्धात्मक सुविधा, अनुसन्धान अनुदान र सहकार्यका अवसर प्रदान गर्नु पर्छ ।
ज्ञानको सञ्जाल निर्माण गरेर विदेशमा रहेका नेपालीलाई देशको विकाससँग जोड्न सकिन्छ । समाजमा विज्ञान र प्रविधिप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता पनि उत्तिकै महìवपूर्ण छ । विकासको आधार केवल सडक, पुल र भवन होइन, ज्ञान, अनुसन्धान र नवप्रवर्तन पनि हो भन्ने सोचलाई विद्यालयदेखि नीतिनिर्माण तहसम्म संस्थागत गर्नु पर्छ । आज देखिएका सकारात्मक सङ्केतलाई पनि बेवास्ता गर्न मिल्दैन । नेपालमा डिजिटल अर्थतन्त्र विस्तार भइरहेको छ । सूचना प्रविधि सेवा निर्यात बढिरहेको छ । स्टार्टअप संस्कृतिले क्रमशः गति लिइरहेको छ । युवापुस्ताले परिवर्तनको नेतृत्व गर्न सक्ने क्षमता देखाइसकेको छ । यी प्रयास अझै विखण्डित छन् । एकीकृत दृष्टिकोण, स्पष्ट रणनीति, र प्रभावकारी समन्वयबिना यी पहल दिगो परिणाममा परिणत हुन सक्दैनन् ।
सरकार र नीति निर्मातासामु प्रश्न छ, के हामी यो युवाको समयलाई अवसरमा बदल्ने छौँ ? कि फेरि पनि ढिलाइ गरेर सम्भावना गुमाउने छौँ ? आजको समय प्रतीक्षाको होइन, निर्णयको हो । यो समय बहसको मात्र होइन, परिणाम दिने समय हो । सरकारले अब हेर्ने मात्र होइन, अघि बढेर नेतृत्व गर्ने समय आएको छ । नीति, लगानी, र संस्थागत संरचनामा स्पष्ट र साहसिक परिवर्तनबिना समृद्ध नेपालको सपना साकार हुन सक्दैन । विज्ञान, प्रविधि र नवप्रवर्तनलाई विकासको केन्द्रमा राख्न सकियो भने, नेपालले केवल क्रमिक प्रगति मात्र होइन, गुणात्मक छलाङ मार्न सक्छ, त्यो छलाङ सम्भव छ, जब युवालाई विश्वास गरिन्छ, अवसर दिइन्छ र नेतृत्व गर्न दिइन्छ ।