जेनजी आन्दोलनका कारण फागुन २१ गते भएको विशेष निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ सिटमा विजय हासिल ग¥यो । यो विजयपछि रास्वपा पहिलो मन्त्रीपरिषद् बैठकबाट नै सरकारका सयबुँदे कार्यसूची ल्याइएको छ । नयाँ सरकार गठन भएको १० दिन मात्र भएको छ । सरकारले देशको ओज उँचो राख्ने आशा यतिखेर सबैले गरेका छन् । सरकारका थुप्रै नवीन कार्यक्रम आउलान्, जसले देशको मुहार फेरिएला । सरकारले विभिन्न क्षेत्रमा केकस्ता काम गर्नु उचित होला, यसबारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
शिक्षा क्षेत्र
क) प्रारम्भिक बाल विकास केन्द्रमा स्थायी शिक्षक व्यवस्था : बाल विकास केन्द्र शिक्षा क्षेत्रको मूल जरो हो । यसमा जति राम्ररी मलजल ग¥यो बालबालिका उति ऊर्जावान् भएर हुर्कन्छन् । अहिले बाल विकास केन्द्रमा काम गर्ने शिक्षक अस्थिर मनस्थितिमा छन् । यसका लागि उचित तलब व्यवस्थासहित स्थायी दरबन्दी र पदपूर्तिको व्यवस्था हुनु जरुरी छ ।
ख) विद्यालय कर्मचारीको व्यवस्था : हाम्रा सामुदायिक विद्यालयमा सरकारको करोडौँ रुपियाँ लगानी छ तर त्यसको हिसाबकिताबका लागि छुट्टै लेखा प्रशासन हेर्ने व्यवस्थित कर्मचारी छैनन् । यसले प्रधानाध्यापकलाई तनावको वातावरण सिर्जना हुने गरेको छ । कम्तीमा खरिदार सरहको कर्मचारीको स्थायी व्यवस्था हुँदा विद्यालय व्यवस्थापनमा सहजता आउने छ ।
ग) आधार सूचकको कार्यान्वयन : कक्षा १–३ का लागि २०७९ सालमा मन्त्रीस्तरीय निर्णयबाट प्रारम्भिक कक्षा राष्ट्रिय आधार सूचक पारित भइसकेको छ । यसमा कक्षागत रूपमा बालबालिकाले के कति शुद्ध र द्रुत गतिमा पढ्नु पर्छ, जान्नु पर्छ भन्ने सूचकहरूको व्यवस्था गरिएको छ । यसलाई देशव्यापी रूपमा लागु गर्ने पहल गरेमा बालबालिकाको पठन स्तर सजिलै माथि उठ्ने छ ।
वन तथा वातावरण क्षेत्र
क) डढेलो नियन्त्रण : डढेलोले बर्सेनि खर्बौं रुपियाँ बराबरको आर्थिक क्षति र जैविक विविधताको अपूरणीय विनाश तथा वातावरण प्रदूषण गर्दै आएको छ । यसका लागि प्रत्येक हिउँदमा वन सफाइ कार्यक्रमको योजना हुनु पर्छ । हिउँदको बेला वनका पतकर, खर, झार, ढलेका रुख निकालेर किसानका लागि कम्पोस्ट मल, पशुहरूका लागि घाँस, इन्धनका रूपमा दाउरा र फर्निचरका लागि काठको व्यवस्था गर्न सकिन्छ । यसो गरेमा जङ्गलमा आगो लाग्ने डर हुँदैन ।
ख) बोटबिरुवा व्यवस्थापन : गोरेटोलाई चक्रेटो बनाउँदा होस् वा चक्रेटो विस्तारका क्रममा बाटो किनारामा विभिन्न आस्था, प्रथाका आधारमा लगाइएका वर, पिपल, समी, आँप, डुम्री, पाँकुरी, कदम, राजवृक्ष जस्ता छहारीदार बोटबिरुवा मासिएर उजाड भएको अवस्था छ । यस्ता विरुवा रोप्ने योजना गरेर बाटोलाई पुनः हराभरा बनाउनु पर्छ ।
ग) माटो व्यवस्थापन : विशेष गरी पहाडी क्षेत्रमा बाटो बनाउँदा माटो जथाभाबी फाल्नाले वनका गोरेटा मासिएर गाई, भैँसी, बाख्राभेडा चर्ने वन भीर बनेको छ । यसले ग्रामीण जनताले वन्य उपज उपयोग गर्न पाएका छैनन् । वन्यजन्तु पनि बाटोको अभावले विस्थापित हुने अवस्था छ । त्यसैले बाटो खन्दा माटो व्यवस्थापनमा विशेष ख्याल राख्नु पर्छ ।
घ) पोखरी तथा तालतलैया संरक्षण : गाउँघर सहरबजारमा रहेका पोखरी तालतलैया व्यापक रूपमा मासिएका छन् । कतिपय अनधिकृत रूपमा हडपिएका छन् । यसले हाम्रो भूमिगत जल आपूरण चक्र अवरुद्ध भएर पानी पँधेराका मूल सुक्ने, इनार सुक्ने समस्या व्यापक बन्दै छ । हाम्रो स्थानीय जलवायु चक्र प्रणाली बिग्रिएको छ, जसले कम वर्षा हुने र वर्षाको पानी थाम्ने वा रोक्ने पोखरी तालतलैया नहुँदा बाढी, पहिरो र डुबानको समस्या बढ्दै गएको छ । त्यसैले पोखरी तालतलैयाको पुनरुत्थान कार्यक्रम राख्नु पर्छ ।
ङ) मेचीकाली जलप्रवाह अन्तर मिलन : हाम्रो जस्तो पूर्व–पश्चिम फैलिएको मुलुक जहाँ सबैजसो नदीनालाहरू उत्तरदेखि दक्षिणतिर बग्छन् । पूर्वबाट मनसुनी वर्षा सुरु हुन्छ, पश्चिमबाट हिउँदे वर्षा सुरु हुन्छ । यस्तो अवस्थामा पूर्वको पानी पश्चिमतिर र पश्चिमको पानी पूर्वतिर ओहोरदोहोर गराउने प्रणाली विकास गरेमा तराईको सुक्खापन हराउने छ र कृषि उत्पादन बढ्ने छ । त्यसै गरी कुनै नदीमा आउने बाढीलाई यस प्रणालीले तितरबितर पारी हाम्रो देशका साथै छिमेकी देश भारतलाई पनि राहत दिन सकिन्छ । उदाहरणका लागि मेचीको पानीलाई हामीले पश्चिमतिर ल्याउँदा यो नदीमा ठुलो बाढी आउँदा पनि बाढी मत्थर हुन्छ । त्यसैगरी कोशीमा जलप्रवाह उच्च हुँदा केही पूर्वतिर लैजाने र केही पश्चिमतिर लैजाने प्रणाली भएमा बाढी स्वतः मत्थर हुन्छ । यो प्रणालीले हिउँदको सुख्खा खहरेलाई जलयुक्त बनाउन सकिन्छ, जसले बनेली पशुपक्षीलाई पानी, जङ्गलको हरियाली, डढेलो नियन्त्रण र ठाउँ ठाउँमा विद्युत् उत्पादन गर्न सकिन्छ । झट्ट हेर्दा यो प्रणाली विकास गर्न अलि अस्वाभाविक लाग्न सक्छ तर आँटेपछि नहुने भन्ने कुरै हुन्न ।
कृषि क्षेत्र
अन्न, तरकारी, फलफूल उब्जाउने र पशुपक्षी हुर्काउने जीवनको आधार कृषि क्षेत्रको संरक्षण गर्ने र विचौलियको चपेटाबाट कृषकलाई रक्षा गर्नु यस क्षेत्रको ठुलो चुनौती हो । वन सफाइ प्रणालीबाट आएको मल, विभिन्न ठाउँमा सञ्चालित गौशालाको मलले खेतबारी प्राङ्गारिक पदार्थयुक्त बनाउने योजना गर्नु पर्छ । तराईको ग्रामीण बस्तीमा वन सफाइबाट आएका दाउरा सहज रूपमा उपलब्ध गराएर गोबरका दाउरा बाल्ने झन्झटबाट मुक्त हुने वातावरण सिर्जना गर्नु पर्छ । यसले जलेर जाने मल पनि खेतबारीलाई थप हुने अवस्था आउँछ । कृषि क्षेत्रको उत्पादन सरकारले किनेर वितरण गर्ने व्यवस्था भएमा कृषकलाई ढुक्क भएर आफ्नो पेसामा लाग्ने वातावरण मिल्छ । यो व्यवस्था हुनु पर्छ ।
सामाजिक क्षेत्र
क) वृद्धाश्रम व्यवस्थापन : जन्म, वृद्धि, वृद्ध, मृत्यु प्राणीका जीवनचक्रका मुख्य चरण हुन् । आफू हुर्केको बढेको ठाउँबाट बाहिर जान सामान्य जन्तुजनावरले त खुसी मान्दैनन् भने मान्छेको के कुरा गरौँ । मुखले जेसुकै भने पनि व्यक्ति आफ्नै घरमा, आफ्नै आँगनमा मर्न चाहन्छ । वृद्धाश्रम हाम्रो संस्कार हुँदै होइन । वृद्धाश्रममा जान बाध्य पार्ने आफ्ना सन्तान तथा आफन्तको खोजी गरी वृद्धवृद्धालाई जीवनभर आफूले पसिना सिँचेको आफ्नै माटो, आफ्नै झोपडीमा बस्ने योजना मिलाइदिनु पर्छ । समाजमा मानवीय गुण भरिन समय लाग्छ तर सरकारको योजनामा यो काम पनि समावेश हुनु पर्छ ।
ख) प्रत्येक वडामा सार्वजनिक व्यायामशाला वा योग ध्यान आरोग्य भवन, सार्वजनिक पुस्तकालय र शौचालय : चौपारी, पाटी, पौवा जस्ता सार्वजनिक स्थल मासिनाले अहिले मान्छे फुर्सतको बखत पनि आफ्नै घरमा थुनिएर बस्न बाध्य छ । व्यायामशाला, पुस्तकालय भएमा व्यक्ति स्वस्थ, निरोगी र बौद्धिक हुन सहयोग हुने छ । यसले समाजमा कुरीति, कुलत हटाउन सहयोग मिल्छ ।
तुइन विस्थापन
तुइन विस्थापन गर्नुका साथै पुराना झोलुङ्गे पुलको पुनर्प्रयोग गर्न सकिन्छ । विशेष गरी हिमाली तथा पहाडी क्षेत्रमा तुइन, काठेपुलले जोखिमयुक्त यात्रा गर्नु परेको हामी सबैले देखे भोगेको कुरा हो । धेरै ठाउँमा पक्की पुलले झोलुङ्गे पुल विस्थापित भए पनि ती झोलुङ्गे पुल त्यसै खेर गइरहेका छन् । यस्ता पुललाई फुकालेर तुइन र काठेपुललाई विस्थापन गर्न सकिन्छ । यसले त्यसै रहेका सामग्री सदुपयोग हुने र सुविधा दिँदा आर्थिक भार पनि कम हुन्छ ।
कवाडी व्यवस्थापन
कवाडी भन्नाले फोहर मोहरको कुरा आउँछ । कुहिने वस्तुलाई मल बनाउन सकिन्छ । फालिएका प्लास्टिक प्रशोधन गरेर चकटी, लम्पट बनाउने योजना गर्न सकिन्छ । पुराना कपडा सङ्कलन केन्द्र बनाएर आर्थिक रूपले कमजोर क्षेत्रमा सहयोग गर्न सकिन्छ । सरकारी कार्यालयमा रहेका प्रयोगविहीन सरसामग्री हटाई पुनर्प्रयोगका लागि पठाउने र कतिपय त मर्मत गरी प्रयोग गर्न सकिन्छ । विशेष गरी यातायातका साधन यसमा मुख्य रूपमा रहेका छन् ।
भाषा
मुलुकमा भाषा आयोग छ । यसले देशका विभिन्न भाषा निधिलाई पुनरुत्थान तथा संरक्षण गर्न ठुलो भूमिका खेलेको छ । अबका दिनमा सबै भाषाको अन्तरसम्बन्ध स्थापित गर्ने बहुभाषिक शब्दकोश निर्माण गर्नु आवश्यक देखिएको छ । नेपाली एउटा शब्दलाई विभिन्न भाषिका वा भाषामा के भनिन्छ भन्ने जान्न बहुभाषिक शब्दकोश वरदान साबित हुने छ । यसले हिमाल, पहाड, तराई र पूर्वपश्चिम जहाँसुकै बसेका नेपालीको आत्मा बुझ्न सकिने स्वर्णद्वार खोल्ने छ । गोरखापत्र संस्थानले बहुभाषिक क्षेत्रमा निकै राम्रो कामको सुरुवात गरेको छ तर जति फाइदा लिन सकिन्थ्यो त्यति फाइदा लिन सकिएको छैन ।
अन्त्यमा, काम सहृदयताका साथ सुरु गर्नु पर्छ । कुनै दिन अवश्यै लक्ष्यमा पुगिन्छ । यहाँ उल्लिखित काम प्रत्यक्ष जनसरोकारका विषय भएकाले नयाँ सरकारको ध्यान अवश्यै जाने छ ।