• ८ पुस २०८१, सोमबार

फुकोट कर्णालीमा एनएचपीसीको साझेदारी खोजिँदै

blog

प्रेमराज सिम्खडा

कालीकोट, फागुन ११ गते । सरकारले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा भारतीय लगानी भित्र्याउने तयारी गरेको छ । नेपाल सरकारले भारत सरकारको स्वामित्वको विद्युत् उत्पादन कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई लगानी गर्न आग्रह गरेको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सूचना अधिकारी बाबुराज अधिकारीले भारत सरकारको स्वामित्वको एनएचपीसी इन्डिया लिमिटेडलाई फुकोट कर्णालीमा सहलगानी गर्न आग्रह गरिएको बताउनुभभयो । उहाँले नेपाली कम्पनीसँग लगानीका लागि समझदारीपत्र (एमओयू)को मस्यौदा तयार भइरहेको बताउनुभयो । 

प्रस्तावबमोजिम एमओयू भए छुट्टै कम्पनी खडा हुनेछ । सो कम्पनीमा हाल काम गरिरहेको विद्युत् उत्पादन कम्पनी लिमिटेडको ४९ र एनएचपीसीको ५१ प्रतिशत सेयर स्वामित्व रहने गरी प्रस्ताव गरिएको छ ।

विद्युत् उत्पादन कम्पनीका प्रबन्ध सञ्चालक सूर्यप्रसाद रिजालले एक वर्षअघि देखि कुरा भइरहेको र समझदारीपत्रको मस्यौदा तयार गरेर मन्त्रालय पठाएको जानकारी दिनुभयो । मन्त्रालयले उक्त मस्यौदालाई अन्तिम रूप दिएर एनएचपीसीसँग छलफल अगाडि बढाउने बताएको छ । भारतीय कम्पनी एनएचपीसीले पनि लगानीका लागि सम्झौता गर्न नेपाल सरकारलाई समझदारीपत्रको मस्यौदा पठाइसकेको जनाएको छ । 

गत वर्ष चैतमा दुई देशका प्रधानमन्त्रीबीच भएको ऊर्जा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्रअनुसार सरकारी स्वामित्वका संस्थाको संयुक्त लगानीमा फुकोट कर्णाली अर्धजलाशययुक्त परियोजना अगाडि बढाउन लागिएको मन्त्रालयले जनाएको छ । 

समझदारीपत्रको मस्यौदाअनुसार आयोजनाबाट नेपालले मासिक रूपमा २१ दशमलव ९० प्रतिशत निःशुल्क ऊर्जा पाउनेछ । आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार र आयोजना बनाउन आवश्यक ऋणको प्रबन्ध प्रवद्र्धक कम्पनीका तर्फबाट एनएचपीसीले नै गर्नुपर्ने मस्यौदामा उल्लेख छ । 

आयोजनाको बिजुली नेपालले आफैँ खपत गर्न चाहेमा किन्ने अधिकार रहनेछ भने नेपालले खपत नगरेको अवस्थामा मात्रै आयोजनाको बिजुली निर्यात हुनेछ । 

आयोजनाको लाइसेन्स खर्च, अध्ययन र पहुँच मार्गलगायतमा भएका खर्च रकम आयोजना निर्माण गर्न खोलिने कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको सेयर लगानीमा पुँजीकरण गर्न प्रस्ताव गरिएको छ । 

आयोजना प्रमुख हीरामान वाइबाले भारतीय कम्पनी मात्र होइन, कोरिया र चिनियाँ कम्पनीसँग पनि छलफल भइरहेको जानकारी दिनुभयो । भारतसहित अरू देशका कम्पनीसँग पनि छलफल भइरहेकाले लगानी मोडालिटीले अन्तिम रूप नलिएको वाइबाको भनाइ छ । 

अहिले भारत सरकारकै स्वामित्वमा रहेको एनएचपीसीले पश्चिम सेती जलाशययुक्त आयोजनापछि सेती नदी–६ र फुकोट कर्णालीमा पनि लगानी गर्ने इच्छा देखाएको मन्त्रालय स्रोतको भनाइ छ । फुकोट कर्णाली जलविद्युत् आयोजना कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ मा निर्माण हुन लागेको ४८० मेगावाटको अर्धजलाशययुक्त आयोजना हो । सम्भाव्यता अध्ययनका क्रममा विद्युत् उत्पादन कम्पनीले ५२० मिटरको परीक्षण सुरुङ खनिरहेको छ ।  

सान्नीत्रिवेणी गाउँपालिका–३, सिस्नेगडामा १६० मिटर अग्लो बाँध बनाएर साढे १३ किलोमिटरको सुरुङबाट वडा नं. १ को भौतेगडामा बन्ने विद्युत्गृहमा खसाल्ने योजना छ । करिब ९२ अर्ब रुपियाँ अनुमानित लागतको यो आयोजना निर्माण सुरु भएको पाँच वर्षमा निर्माण सक्ने लक्ष्य छ ।