• १३ असोज २०८१, आइतबार

पाथीभरा याङ्वरकले बनाइदियो विपन्न परिवारको घर

blog

एक विपन्न परिवारलाई हस्तान्तरण गरिएको घर ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन ९ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले विपन्न परिवारको घर निर्माण गरी दिएको छ । गाउँपालिकाले पालिकाभित्रका अति विपन्न परिवारको पहिचान गरी घर निर्माण गरेर हस्तान्तरण गरेको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार हालसम्म विपन्न तीन परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । गाउँपालिकाद्वारा निर्माण गरिएको घर पाउनेमा वडा १ नाङ्खोल्याङका मदनकुमार कामी, वडा ३ तिरिङ्गेका बीर्खबहादुर लिम्बू र वडा ५ चाक्सिबोटेका मनबहादुर राईको परिवार रहनुभएको निरौलाले जानकारी दिनुभयो । 

पालिकाभित्रका अति विपन्न परिवारलाई घर निर्माण गरिदिने गाउँपालिकाले अभियान नै सुरुवात गरेको हो । सो अभियानअन्तर्गत वडाबाट सिफारिस भएका विपन्न परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गर्न थालेको गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले जानकारी दिनुभयो । 

गाउँपालिकाका छवटा वडामध्ये बाँकी अन्य वडामा पनि वर्गीय परिवारको छनोट भइरहेको र छनोट भएकामध्ये अति विपन्न परिवारको घर निर्माण गरिदिने गाउँपालिकाले जनाएको छ ।

हाल चाक्सिबोटेका एक विपन्न परिवारको घर निर्माण कार्य अन्तिम चरण पुगेको छ । एउटा घर निर्माणमा न्यूनतम दुई लाखदेखि चार लाख रुपियाँसम्म खर्च गर्दै आएको पनि गाउँपालिकाले जनाएको छ ।