• १३ असोज २०८१, आइतबार

सरुवामा अब भनसुन प्रवृत्ति अन्त्य गर्छौ: मन्त्री मोदी

blog

विराटनगरमा मंगलबार नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको सम्मेलनमा सम्बोधन गर्नुहुँदै मन्त्री मोदी ।

गाेरखापत्र अनलाइन

मोरङ, फागुन ९ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बत्ताउनुभएको छ। 

विराटनगरमा मंगलबार नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, प्रदेश नम्बर १ को दोस्रो सम्मेलनमा सम्बोधन गर्दै मन्त्री मोदीले सो कुरा बत्ताउनुभएको हो । 

मन्त्री मोदीले  भन्नुभयो, “सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्यका लागि केही नीतिगत व्यवस्था गर्छौँ, सरुवामा अब भनसुन चल्दैन ।”

भर्खरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनी स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेको समेत उहाँले बत्ताउनुभयो । 

ट्रेड युनियनमार्फत राजनीतिमा सक्रिय कर्मचारीहरूले पनि पहिला जनताको सेवालाई प्राथमिकता राख्न निर्देशन दिनुभयो । जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको पाइए निर्मम भएर कानुनी रूपमा कारबाहीको दायरामा ल्याउने मन्त्री मोदीले चेतावनी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डको मुख्य प्राथमिकता मुलुकमा सुशासन कायम गर्ने भएकाले सरकारको प्राथमिकताअनुसार सेवा प्रवाह गरी सुशासन कायम गर्न उहाँले निर्देशन दिनुभयो ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसालले सो पार्टीको पदाधिकारी बैठकद्वारा पारित गरिएका निर्णयहरू र पार्टीको अभियानबारे प्रशिक्षण दिनुभएको थियो ।