• ६ जेठ २०८१, आइतबार

राष्ट्रपति भण्डारीबाट अस्पतालको नवनिर्मित भवन उद्घाटन

blog

हेटौँडा अस्पतालको नवनिर्मित भवनको मङ्गलबार हेटौँडामा उद्घाटन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : राममणि दाहाल, हेटौँडा ।

राममणि दाहाल

हेटौँडा, फागुन ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौँडा अस्पतालको हेटौँडा उपमहानगरपालिका १ मा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । हेटौँडा अस्पताल परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले ७० शय्याको अस्पतालको नवनिर्मित भवनको मङ्गलबार उद्घाटन गर्नुभएको हो ।

मूल्य अभिवृद्धि करसहित सङ्घीय सरकारको ३५ करोड ३२ लाख रुपियाँको लागतमा नयाँ भवन निर्माण गरिएको हो । सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि उक्त अस्पताललाई प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालन गर्दै आएको छ ।

अस्पतालको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रतिष्ठानमातहत रहेको अस्पताल अध्ययन, अनुसन्धान र नागरिकलाई गुणस्तरीय सेवा दिने अस्पतालको रूपमा विकास हुने विश्वास गर्नुभयो ।

उहाँले स्वस्थ नागरिक भएमात्र स्वस्थ र समृद्ध नेपाल बन्ने भन्दै गुणस्तरीय स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । ‘सेवा नै धर्म हो’ भन्ने हाम्रो सामाजिक मान्यताका साथ काम गर्नुपर्ने बताउँदै उहाँले स्वास्थ्य सेवा र शिक्षाका नाममा हुने ठूलो पुँजी विदेश पलायनको अवस्थामा प्रतिष्ठानले त्यसलाई रोक्न भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति शालिकराम जम्कट्टेलले अझै ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित रहेको भन्दै प्रदेश सरकार गुणस्तरीय सेवा नागरिकलाई उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र प्रतिष्ठानका डीन प्रा. दुर्गाकुमारी खड्का मिश्रले प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने र अस्पतालले गुणस्तरीय सेवा उपलब्ध गराउने बताउनुभयो । अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि राष्ट्रपति भण्डारीले अस्पताल भवनको अवलोकन गर्नुभएको थियो ।