• १३ असोज २०८१, आइतबार

परम्परागत र जातीय खाना बनाउन जान्नेको अभाव

blog

धिमालका परिकारसहित धिमाल युवती। फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल

दमक, फागुन ७ गते। विभिन्न जातीय परिकार बनाउने र परम्परागत भान्सामा पाक्ने पकवान बनाउन जान्नेको अभाव खड्कन थालेको छ। आधुनिक खानाका परिकारमात्र होटल तथा रेष्टुरेन्टमा पाइने गरेकाले पछिल्लो समयमा परम्परागत खाद्यान्नका परिकार हराउँदै गएको पाइएको छ।

झापाको दमकमा हरेक वर्ष लाग्ने गरेको ‘खाना महोत्सव’मा यस्ता परिकार बनाउन जान्ने तथा परिकार राख्नेको खोजी गर्दा भेटिन छाडेको होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश १ का अध्यक्ष राजन दंगालले जानकारी दिनुभयो। निःशुल्क स्टल उपलब्ध गराउँछौँ र दैनिक पारिश्रमिक दिन्छौँ भन्दा पनि मानिस पाउन मुस्किल भएको उहाँको भनाइ छ। 

आफूहरूले जातीय परिकारको प्रवर्द्धन गर्नका लागि खाना महोत्सव गर्ने गरेको भए पनि उद्देश्य अनुरूप हुन नसकिरहेको उहाँको भनाइ छ। दमकमा रहेका धिमाल, सतार, कुमाल, उराव, राई, लिम्बु, नेवारलगायतका जातजातिका परिकारलाई प्रवर्द्धन गर्न भनेर विगत ९ वर्षदेखि लगातार दमकमा महोत्सव हुँदै आएको छ। 

यस वर्ष पनि आउँदो फागुन ११ गतेदेखि नवौँ ‘फुड फेस्टिवल’ हुँदैछ। १९ गतेसम्म सञ्चालन गरिने फुड फेस्टिवलका लागि जातीय र परम्परागत खाद्यान्नका परिकार बनाउनेको खोजी गर्दा नपाएको होटल व्यवसायी सङ्घ दमकका अध्यक्ष योगराज दंगालले जानकारी दिनुभयो। 

सङ्घले हरेक वर्ष महोत्सव गर्दै आएको छ। जातीय सङ्घ सङ्गठनसँग समेत समन्वय गरिँदा धिमाल र नेवार बाहेकका जातीले यस्तो परिकार बनाउने मानिस उपलब्ध गराउन नसकेको उहाँको भनाइ छ। यहाँ रहेका होटल र स्टलमा यस्ता जातजातिका खाद्यान्न खानको लागि दर्शक तथा उपभोक्ता नआउने भएकाले पनि चासो नदिएको उहाँको भनाइ छ। 

फुड फेस्टिवलका संयोजक तथा होटल व्यवसायी सङ्घका केन्द्रीय सदस्य भूपेन्द्र न्यौपानेका अनुसार दमकको वडा नम्बर ७ स्थित पशुहाटको मैदानमा आयोजना गरिने फूडफेस्टिबलमा विभिन्न जाति, जनजातिका खानाका स्टल राख्ने प्रयास छ। साथै कृषि उत्पादन लगायतका व्यावसायिक स्टल पनि राखिनेछन्।  करिब ५० हजार दर्शक आउने अनुमान रहेको उहाँको भनाइ छ।