• १३ साउन २०८१, आइतबार

सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार हुँदै

blog

भक्तपुर, फागुन ७ गते । सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार हुने भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक तीन वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो । सडक निर्माण भएको २५ वर्षपछि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको पहिलो चरण र भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको सडकखण्ड दोस्रो चरणमा सक्नेगरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ ।

कुल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किलोमिटर सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले चार अर्ब पाँच करोड ६४ लाख रुपियाँ सक्नेगरी पाएको छ । उक्त खण्डको २०७९ मङ्सिर २७ गते ३ वर्षभित्र सक्ने ठेक्का सम्झौता भएको हो ।

दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड ७.५ किलोमिटर रहेको छ । उक्त खण्डको ठेक्का आशिष्/कुमार श्रेष्ठ/बन्धन भगवती जेभीसँग तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भइसकेको विभागले जनाएको छ ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयले सडकको बीचबाट दायाँबायाँ २५/२५ मिटरको मापदण्डअनुसार राजमार्गअन्तर्गत पर्ने चार नगरलाई पत्राचार गरी लगत सङ्कलन कार्यमा सहयोग गर्न अपिलसमेत गरेको छ । सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्ने योजनाअनुरूप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत सङ्कलन कार्य थालिएको छ ।

वि.सं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५/२५ गज अर्थात् २२.८६ मिटर कायम गरिएको थियो । सरकारले २०३१ सालमा सडक ऐन परिवर्तन गरी लोकमार्ग फराकिलो बनाउन चाहेमा क्षतिपूर्ति दिएर मात्रै अधिग्रहण गर्ने निर्णय गरेको थियो । अब उक्त सडकखण्डमध्ये काभ्रेपलाञ्चोकको बनेपा नगरको साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म ४.६ किलोमिटर सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम हुने भएको छ ।

पुल निर्माणका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा केही परिवर्तन हुँदा पुलहरु थप निर्माण गर्न आवश्यक पर्ने भएकाले एक अर्ब लागत लाग्ने आयोजनाको अनुमान छ ।

अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरका तीन पुल, जगाति र महादेवखोला पेट्रोल पम्प नजिक निर्माण गरिने आयोजनाले जनाएको छ । प्रतिमिटर १५ लाख लागत अनुमान गरिएको छ । यसको अनुमानित लागत ९० करोड रुपियाँ छ । सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडी राजमार्गका बिपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको छोटो दुरीसँग अरनिको राजमार्ग जोडिएको छ ।