• २३ पुस २०८१, मङ्गलबार

रेसुङ्गामा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु

blog

राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

रमेश विश्वकर्मा 

गुल्मी, फागुन ६ गते । गुल्मीको रेसुङ्गा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैको लागि खेलकुद’ भन्ने मूल नाराका साथ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा यस नगरपालिकाले स्थानीय तहस्तरीय अन्तर विद्यालयको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ ।

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गर्नुभयो ।

उहाँले खेल क्षेत्रको क्षेत्र वृहत्त्तर रहेको बताउँदै प्रतियोगितालाई स्वस्थ बनाउन आग्रह गर्नुभयो । खेलले विद्यार्थीहरुलाई अनुशान र निडर बनाउन सहयोग पुर्याउने उल्लेख गर्नुभयो । 

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले प्रतियोगिहरुलाई स्वस्थ प्रतिस्पर्धाबाट भाग लिन आग्रह  गर्नुभयो । खेलकुद र यसको विकासका लागि नगरपालिका लागि परेको बताउँदै प्रतियोगितालाई मर्यादित ढङ्गले सम्पन्न गर्ने बताउनुभयो ।

खेलकुदले अनुशासनमा बस्न सिकाउने र स्वस्थ राख्ने भएकाले मानव जीवनका लागि खेलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । प्रतियोगिताको माध्यमबाट भोलिको दिनमा गौरव गर्न सक्ने खेलाडि उत्पादन हुने पन्थीको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक र रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले प्रतियोगिता मर्यादित हुनुपर्ने बताउँदै शुभकामना व्यक्त गर्नुभयो । प्रतियोगिताको औपचारिक कार्यक्रमको सञ्चालन रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले गर्नुभयो । 

प्रतियोगितामा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, रेसुङ्गा नगरपालिकाका वडाध्यक्षहरु, शिक्षक विद्यार्थी लगायतको उल्लेखनीय सहभागितामा प्रतियोगिताको उद्घाटन गरिएको थियो । चिदिचौर खेल मैदानमा विभिन्न खेलकुदका प्रतियोगितात्मक खेलहरु सञ्चालित छन् ।