• १३ साउन २०८१, आइतबार

सांसद भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त

blog

काठमाडौं, फागुन ६ गते । ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् ।

नेता भण्डारीको उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्नुहुँदै कांग्रेस नेता योगराज कँडेलले उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएको जानकारी दिनुभयो ।

नेता कँडेलका अनुसार सांसद भण्डारीलाई सोमबार भेन्टिलेटर निकाल्ने योजना रहेको छ । साथै मुख र हातको जलेका भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएकाले हाललाई तुरुन्तै अर्को सर्जरी नगर्ने चिकित्सकले जनाएको पनि उहाँले बताउनुभयो ।

ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ । शुक्रबार दिउँसो भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको थियो । सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा जलेर घाइते हुनुभएको थियो । उहाँलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।