• १६ असार २०८१, आइतबार

प्रहरी अधिकृतको विकास गरी दक्ष जनशक्ति परिपूर्ति गर्ने लक्ष्य : निमित्त प्रहरी महानिरीक्षक

blog

‘पोस्ट ग्राजुएट डिप्लोमा इन पुलिस साइन्स’ कार्यक्रममा समावेश भएका प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको उद्घाटन समारोहमा आफ्नो भनाइ राख्नुहुँदै निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा । तस्बिर : नेपाल प्रहरी

काठमाडौं, माघ २५ गते । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले सामाजिक उत्तरदायी, सिर्जनशील र परिणाममुखी व्यावसायिक प्रहरी अधिकृतहरूको विकास गरी नेपाल प्रहरीको दक्ष जनशक्ति परिपूर्ति गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजञ्जमा त्रिविको सम्बन्धमा सञ्चालित ‘पोस्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स’ कार्यक्रममा समावेश भएका प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको उद्घाटन गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।


प्रहरी निरीक्षक दर्जा नेपाल प्रहरीको मेरुदण्ड भएकोले प्रहरीलाई नागरिकसँग प्रत्यक्ष रूपमा जोड्न अहम् भूमिका निर्वाह गर्नुपर्ने चर्चा निमित्त प्रहरी महानिरीक्षक थापाले गर्नुभयो ।

उहाँले प्रशिक्षार्थीहरूले यस्तो महत्त्वपूर्ण जिम्मेवारीलाई हृदयङ्गम गर्दै भविष्यमा कुशल प्रहरी अधिकृतको रूपमा व्यावसायिक कार्यसम्पादन गरी सङ्गठन तथा राष्ट्रका लागि महत्त्वपूर्ण योगदान दिन सक्ने काबिल अधिकृतको रूपमा रूपान्तरणका लागि पूर्ण बफादारीताका साथ तालिम सम्पादन गर्ने विश्वास लिएको बताउनुभयो ।

अहिलेको बद्लिँदो परिस्थितिमा पुलिसिङ ज्यादै चुनौतीपूर्ण रहेको बताउनुहुँदै वर्तमान समयमा प्रहरी शान्ति सुरक्षाका साथै सामाजिक विकासका हरेक पक्षहरूसँग सरोकार राख्ने भएकोले प्रहरी अधिकृतहरू बौद्धिक रूपमा रचनात्मक कार्य अघि बढाउन सक्ने हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 


प्रहरी निरीक्षक आधारभूत तालिम प्रहरी सङ्गठनको सबै भन्दा माथिल्लो प्रवेश विन्दुमा दिइने आधारभूत प्रहरी तालिम भएकाले प्रतिष्ठानले विशेष अभिरुचि र प्राथमिकताका साथ हेर्ने गरेको निमित्त प्रहरी महानिरीक्षक थापाको भनाइ छ ।

तालिम मापदण्ड बमोजिम सरल, सहज र प्रभावकारी ढङ्गबाट प्रशिक्षण सञ्चालनको व्यवस्थापन मिलाउन तथा अथक मेहनत, परिश्रम र लगावका साथ कटिबद्ध हुन प्रतिष्ठानमा कार्यरत प्रशिक्षक वर्गहरूलाई उहाँले आग्रह गर्नुभयो । साथै प्रशिक्षण अवधिभर उच्च अनुशासन, कडा मेहनत, लगनशीलता र व्यावसायिक निष्ठाका साथ हरेक प्रशिक्षण क्रियाकलापहरूमा सहभागी भई सफलतापूर्वक तालिम सम्पन्न गर्न प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो ।