गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २१ गते । गत भदौँ २३–२४ गतेको जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्था र भइरहेको उपचारबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ अस्पताल पुग्नुभयो ।
मन्त्री गुरुङले काठमाडौँ मेडिकल कलेजमा उपचाररत जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सक, घाइतेका परिवारसँग जानकारी लिनुभएको थियो ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका र कतिपय अचेत अवस्थामा रहेका बिरामीको काठमाडौँ मेडिकल कलेजले निःशुल्क उपचार गरिरहेको जनाएको छ । सो अवसमा मन्त्री गुरुङले घाइतेको निःशुल्क उपचार गरेर पु¥याएको सहयोगप्रति अस्पतालका सञ्चालक डा. सुनील शर्मालाई धन्यवाद दिनुभयो । घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिएकाबारे डा. शर्माले गृहमन्त्री गुरुङसमक्ष जानकारी गराउनुभएको थियो ।
डा. शर्माका अनुसार अस्पतालमा भर्ना भएका अधिकांश घाइते डिस्चार्ज भइसकेका छन् । केही घाइतेको अवस्थामा सुधार हुन बाँकी रहेको र केही अझै होसमा नआएकाले अस्पतालमै राखेर उपचार भइरहेको डा. शर्माले जानकारी गराउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण सकेर फर्किने क्रममा मन्त्री गुरुङ जेनजी घाइेतको स्वास्थ्य अवस्था बुझ्न र परिवारका सदस्यलाई भेट्न उक्त अस्पताल पुग्नुभएको थियो ।