• ९ मंसिर २०८१, आइतबार

सामाजिक परिवर्तनको स्वरूप

blog

समाज भन्नाले मानिसको समूह तथा घरबस्तीको संरचनालाई लिन सकिन्छ। ‘समाज’ शब्दको अर्थ यतिमा मात्र सीमित छैन। यसअन्तर्गत मानिस, संस्था, पक्ष र अनेकौँ तह रहेका छन्। यसभित्र व्यक्तिका विभिन्न अन्तत्र्रिmया तथा उद्देश्य रहेका हुन्छन्। मानिससँग रहेका समान मूल्य र मान्यता, नाता, धर्म, आर्थिक संस्था, राजनीतिक क्रियाकलापले गर्दा समाजमा विद्रोह, द्वन्द्व तथा परिवर्तन हुने गर्छ। आजको समाज निर्माण हुनुमा आधुनिकीकरण प्रक्रियाले ठूलो भूमिका निर्वाह गरेको छ। आधुनिकीकरण प्रक्रियाले गर्दा सामाजिक प्रणाली, सामाजिक सम्बन्ध, परम्परागत विचार, व्यवहार आदिमा परिवर्तन आउँछ। यही परिवर्तनले नै समाजलाई रूपान्तरण गर्दै लगेको छ।

नेपाली समाजको सन्दर्भमा लिनुपर्दा २०४६ सालपछि समाजमा राजनीतिक, आर्थिक, सांस्कृतिक पक्षमा ठूलो परिवर्तन आएको स्पष्ट देख्न सकिन्छ। २०६२/६३ को आन्दोलनपछि यो परिवर्तन तीव्रतर गतिमा भएको छ। यसअन्तर्गत जातीय मूल्यमान्यता, विश्वास, प्रथा, प्रचलन, खानपानको शैली, बानी, पहिरन, भाषाको प्रयोग, रोजाइ, विचार, छनोट, मनोरञ्जनको तरिकामा ठूलो परिवर्तन भएको छ। यसले गर्दा समाजमा विचलन आएको प्रत्यक्ष रूपमा देख्न सकिन्छ। विचलन भन्नाले आफ्नो धर्म, संस्कार, परम्परा, मूल्यमान्यताभन्दा बाहिर गएर गरिने क्रियाकलापलाई बुझाउँछ। यसअन्तर्गत समाजमा गरिने हत्या, आत्महत्या, डकैती, हिंसा, जुवा, तास, यौन शोषण, सहजीवन, बालविवाह, बालअपराध, वेश्यावृत्ति

लगायतलाई जनाउँछ। यसलाई गैरकानुनी कार्यका रूपमा लिन सकिन्छ। यी कार्यले गर्दा आदर्शको रूपमा रहेको नेपाली समाज १५ वर्षयता आएर छिन्नभिन्न भएको देखिन्छ। समाजलाई विभिन्न पक्षले असर गरेको देखिन्छ। 

सम्बन्ध विच्छेद

वैधानिक रूपमा रहेका पतिपत्नीको वैवाहिक सम्बन्धलाई कानुनी रूपमा अन्त्य गरिने व्यवस्था सम्बन्ध विच्छेद हो। पछिल्लो समयमा आएर सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या वृद्धि भएको देखिन्छ। महिलाको हकमा शारीरिक र मानसिक यातनाका कारण देखाउँदै सम्बन्ध विच्छेद गर्ने क्रम बढेको छ भने पुरुषको हकमा श्रीमती घर छोडेर हिँडेको, माइती बसेको, घरपरिवारको सम्पर्कमा नरहेको र छोराछोरीको पालनपोषणमा समस्या भएको भन्दै मुद्दा दर्ता गराउनेको सङ्ख्या अधिक रहेको पाइएको छ।

पछिल्लो तथ्याङ्कअनुसार दुर्गम ग्रामीण क्षेत्रको तुलनामा राजधानी र वरपरका जिल्लामा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या क्रमिक रूपमा बढेको देखिन्छ। प्रायः गरी यातायातको दृष्टिकोणले सुगम जिल्लामा वार्षिक २०० वटा मुद्दा दर्ता हुने गरेको पाइन्छ। वर्तमान समयमा आएर सम्बन्ध विच्छेद गर्ने क्रममा वैदेशिक रोजगारलाई प्रमुख कारण मानिन्छ। सम्बन्ध विच्छेद प्रक्रियाले पतिपत्नीसँगै तिनका सन्तान र परिवारमा समेत ठूलो चोट पुग्छ भने सन्तान अभिभावकविहीन हुन पुग्छन्।

हत्या/आत्महत्या 

विपक्षीले आफ्नो स्वार्थ पूर्ति गर्नका लागि ज्यान मार्ने कार्य हत्या हो। समाज विस्तार हुने क्रममा आफ्नो स्वार्थ पूरा गर्न आपराधिक मनोवृत्तिका मानिसले अनेकौँ उपाय अपनाएर सम्पत्ति र यौनका कारण हत्या गरेको देखिन्छ। प्रहरीको तथ्याङ्कअनुसार पाँच वर्षमा देशभरि तीन हजार जनाको हत्या भएको पाइन्छ। तीमध्ये एक तिहाइ परिवारभित्रकै सदस्यबाट भएको देखिन्छ। यसको पृष्ठ भागमा सम्पत्ति र अवैध सम्बन्धलाई धेरै मात्रामा भेटिएको छ। सामाजिक दृष्टिकोणबाट पनि परिवारमा तनाव र द्वन्द्वबाट मुक्त हुन हत्या हुने गरेको तथ्याङ्क पाइन्छ। तीमध्ये राजा वीरेन्द्रको हत्यालाई उदाहरणका लागि लिन सकिन्छ।  आफूले स्वयं आफैँलाई अनेकौँ विधि (विष खाएर, झुन्डिएर, शरीरको संवेदनशील अङ्ग काटेर, हामफालेर आदि) अपनाएर मर्ने काम आत्महत्या हो। आत्महत्यालाई पनि समाजको दुष्कर्म भनिन्छ। मानसिक रोगी भएकाले मात्र आत्महत्या गर्न पुग्दछन्। मानसिक रोगी हुनुको पृष्ठ भागमा व्यक्तिको जीवनमा गहिरो प्रभाव पार्ने घटना घटेपछि एकान्त बस्ने र मौन बस्ने बन्दै जान्छ। अन्त्यमा आत्महत्या गर्न पुग्छ।

विश्वमा आत्महत्या गर्ने मुलुकमा नेपाल आठौँमा पर्छ। नेपालको कुल जनसङ्ख्यामा प्रति एक लाखमा २५ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको छ। तथ्याङ्कअनुसार १५ दखि २९ वर्षको मानिसको सङ्ख्या अधिक रहेको छ। व्यावहारिक रूपमा भने पारिवारिक विचलनको कारण देखाउँदै नौ वर्षको बालकले झुन्डिएर आत्महत्या गरेको देखिन्छ। त्यस्तै दीर्घरोगी भएको कारणले ६५ वर्षको पुरुषले अस्पतालबाट हामफालेर आत्महत्या गरेको सुनिन्छ। विशेषतः आधुनिक समाजमा मानिसले आत्महत्या गर्नुको कारणमा सहनशक्तिको अभाव‌, धैर्यता र सही निर्णय गर्ने क्षमताको कमी देखिन्छ। मूलतः मानिसले आत्महत्या गर्नुको मुख्य कारणमा रोजगार गुम्नु, परिवार टुक्रिनु (सम्बन्ध विच्छेद), नजिकको मानिसको मृत्यु हुनु, माया–प्रेममा बिछोड हुनु, नोकरीमा बढुवा नहुनु, पारिवारिक अपहेलना हुनु, परीक्षामा अनुत्तीर्ण हुनु आदि रहेको पाइएको छ। समाज विकास हुने क्रममा मानिसको महìवाकाङ्क्षी स्वभावले गर्दा आत्महत्या गर्नेको सङ्ख्या अझै बढ्ने देखिन्छ। यसलाई निराकरण गर्न सरकारले नै मानसिक रोगीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्छ। 

सहजीवन 

नेपाली समाजलाई गहिरोसँग असर पारेको विषयमा सहजीवन पनि एक हो। यसलाई ‘लिभिङ टुगेदर’ भनिन्छ। सहजीवन भन्नाले वैधानिक रूपमा विवाह नगरी पुरुष र महिला पतिपत्नीका रूपमा बस्ने शैलीलाई लिन सकिन्छ। नेपाली समाजमा सहजीवनशैली भुसको आगोजस्तै भएर फैलिएको छ। सहजीवनशैलीमा रमाउनेहरू ग्रामीण क्षेत्रबाट सहरमा पढ्न वा रोजगारका लागि मितव्ययिता अपनाउन जोडी बनेर बसेको पाइन्छ। तिनीहरू एक आपसमा दाजुबहिनी, मामा–भान्जी, दिदीभाइ आदिको साइनो लगाई बस्ने गर्छन्। यस किसिमको प्रथाले पूर्र्वीय संस्कृतिको विवाहलाई चुनौती दिएको छ। यसलाई पश्चिमी जगत्को नक्कल पनि भनिन्छ। 

विवाहेतर सम्बन्ध

महिला वा पुरुषको विवाहपछि परपुरुष वा महिलासँग अवैध सम्बन्ध राखिएमा विवाहेतर सम्बन्ध भनिन्छ। नेपाली समाजमा देखिएको समस्याहरूमध्ये यो पनि एक हो। विवाहित पुरुष र महिलाको विवाहेतर सम्बन्धले परिवार नै छिन्नभिन्न भएको छ। यस्तो समस्याले दुवैको नैतिक पतन भएको देखिन्छ। वर्तमान समयमा आएर सहरी क्षेत्रमा बसोबास गर्ने अधिकांशको विवाहेतर अवैध सम्बन्ध रहेको देखिन्छ। यसले गर्दा समाजमा इज्जत, सम्पत्ति र सन्तानको सुरक्षा भएको देखिँदैन।

यौन दुव्र्यवहार 

नेपाली समाजमा देखिएको अर्को अवस्था यौन दुव्र्यवहार हो। यस किसिमको प्रक्रिया कार्यालय, शिक्षालय र सौन्दर्य प्रतियोगिताको कार्यक्रममा रहेको पाइएको छ। वर्तमान समयमा आएर सुन्दर, शिक्षित, आर्थिक अवस्था राम्रो भएको व्यक्तिलाई यौन शोषण गर्ने अनेकौँ माध्यम खोजिरहेको भेटिन्छ। हाल यसमा कलाकार, पत्रकार, नेता, शिक्षक आदि जस्तो सामाजिक पदप्रतिष्ठा पाएका व्यक्तित्वबाट नै यौन दुव्र्यवहारको घटना दिन प्रतिदिन उदाङ्गो भइरहेको छ। आफ्नो स्वार्थ पूरा गर्न सामाजिक सञ्जालमा धम्काउने, पैसा माग्ने र इज्जतमा नै आँच आउने कार्य भइरहेको छ। यसलाई निराकरण गर्न कानुनी पक्षमा समेत परिमार्जित गर्नु आवश्यक भइसकेको छ।

लुटिखाने प्रवृत्तिको विकास

नेपाली समाजमा आधुनिकताको नाममा सफा देखिने व्यक्तित्वबाट लुटेर खाने प्रवृत्तिको विकास भइरहेको छ। १० वर्षयता आएर विभिन्न छद्मभेषी मानिसले सरकारी नोकरी लगाइदिने, विदेश पठाइदिने र विवाहको नाटक गरेर सम्पत्ति लुट्ने प्रवृत्तिको विकास भइरहेको छ। सामाजिक सञ्जालमा आकर्षक फोटो राखेर प्रेमको नाटक गरी सम्पत्ति लुट्ने क्रम दैनिकी रूपमा देख्न सकिन्छ। विशेषतः आर्थिक रूपमा सम्पन्न भएकाहरूसँग विवाहको नाटक मञ्चन गरी नक्कली कागजात बनाउने प्रचलन बढ्दो छ। यी विषयलाई मनन गर्दा सामाजिक सांस्कृतिक व्यवस्था, परिवार, नाता सम्बन्ध, विवाह, धर्म, संस्कार र संस्कृतिका समग्र पक्षमा निकै हेरफेर भएको छ‌। यस प्रक्रियामा संस्कृति विलयकरणको प्रक्रिया अघि बढेको छ। यसरी हेर्दा आजको नेपाली समाज मानवीयता हराएको जटिल समाजमा रूपान्तरण हुँदै छ।