• १३ साउन २०८१, आइतबार

‘सुत्र’मा राजस्व मोडल सुरु

blog

काठमाडौँ, माघ २३ गते । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)मा राजस्व मोडल सञ्चालनमा आएको छ । सरकारको कोष तथा लेखा व्यवस्थापन र सञ्चालन गर्ने महालेखा नियन्त्रक कार्यालयले उक्त मोडल सञ्चालनमा ल्याएको हो । 

कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त मोडलको आरम्भ गर्दै  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै यो मोडलको सही ढङ्गले सञ्चालन गर्न निर्देशन दिनुभयो । कार्यालय र सोअन्तर्गतका निकायले कानुनी अधिकारको प्रयोग गर्दै दैनिक कार्य सञ्चालनका कामभन्दा माथि उठेर सिर्जनशील प्रयास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै उहाँले आन्तरिक लेखापरीक्षण तथा सरकारी लेखा प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । 

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तोयम रायाले सञ्चालनमा रहेका प्रणालीको निरन्तरताका लागि स्रोतको सुनिश्चितता एवं सञ्चित कोष व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । सुत्रमा राजस्व मोडलको विकास गर्ने कार्य सही भएको उहाँको भनाइ थियो । त्यस्तै उहाँले कार्यालयबाट सञ्चालनमा रहेका प्रणालीको स्थायित्व र प्रभावकारी सञ्चालनका लागि अर्थ मन्त्रालयबाट सधैँ जस्तै सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

राजस्व सचिव डा. रामप्रसाद घिमिरेले सरकारी निकायमा निष्क्रिय रहेका खाताको खोजी गर्नुपर्ने र सरकारी बाँकी असुलीलाई तीव्रता दिनुपर्ने बताउनुभयो । त्यसका लागि राजस्व मोडलको सफल सञ्चालन आवश्यक हुने उहाँको भनाइ थियो । 

आइतबारदेखि सञ्चानमा आएको राजस्व मोडल प्रणाली धुलिखेल नगरपालिकामा पूर्ण रूपमा सञ्चालनमा आएको छ । 

यसबाहेक अन्य स्थानीय निकायमा क्रमशः लागू गर्दै लैजाने कार्यालयको लक्ष्य छ । यो प्रणालीले राजस्व व्यवस्थापन प्रणालीको प्रारम्भ, वित्तीय प्रतिवेदन ढाँचामा एकरूपता र सेवा प्रवाहमा सहजता, खर्चमा बचत तथा वित्तीय अनुशासनमा सुधार हुने अपेक्षा गरिएको छ ।