• १२ असोज २०८१, शनिबार

साइक्लिङ दौडमा केलिङ विजयी

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ २३ गते । ओखलढुङ्गामा पर्यटन प्रवद्र्धनका लागि पहिलो पटक साहसिक साइक्लिङ दौड प्रतियोगिता गरिएको छ। जिल्लाको सदरमुकाम बजार क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि साइक्लिङ दौड प्रतियोगिता गरिएको हो। प्रतियोगितामा देश तथा विदेशका गरी ६२ जना प्रतियोगी सहभागी भएका थिए। 

चार विधामा प्रतिस्पर्धा गराइएको आयोजक ओखलढुङ्गा जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष राम शाक्यले बताउनुभयो। इलिट पुरुष, इलिट महिला, मास्टर ‘ए’, ‘बी’ र जुनियर विधामा साइक्लिङ दौड प्रतियोगिता गराइएको शाक्यको भनाइ छ। 

इलिट पुरुषतर्फ २५ जनाले भाग लिएका थिए। प्रतियोगितामा क्रिस्टोफर अशोक केलिङ प्रथम, निरव श्रेष्ठ दोस्रो र प्रचित थापामगर तेस्रो हुनुभएको छ। उहाँहरूले क्रमशः चार मिनेट ११ सेकेन्ड, चार मिनेट १७ सेकेन्ड र चार मिनेट १८ सेकेन्डमा ३.२ किलोमिटरको दूरी पार गर्नुभएको थियो। इलिट महिलातर्फ पाँच जनाले भाग लिएकामा निश्मा श्रेष्ठ प्रथम, अन्जा क्यामेनजिन दोस्रो र लक्ष्मी मगर तेस्रो हुनुभएको छ। श्रेष्ठ र क्यामेनजिनले पाँच मिनेट आठ सेकेन्ड तथा मगरले पाँच मिनेट २२ सेकेन्डमा उक्त दूरी पार गर्नुभएको थियो।  

मास्टर ‘ए’तर्फ आठ जनाले भाग लिएकामा उमङ्ग श्रेष्ठ प्रथम, सन्तोष राई दोस्रो र मनोज श्रेष्ठ तेस्रो हुनुभएको छ। उहाँहरूले क्रमशः चार मिनेट ५० सेकेन्ड, चार मिनेट ५२ सेकेन्ड र पाँच मिनेट एक सेकेन्डमा दूरी पार गर्नुभएको थियो। मास्टर ‘बी’तर्फ पनि आठ जनाले भाग लिनुभएको थियो। जसमा अनुप गुरुङ प्रथम, जोनाथन स्टुड दोस्रो र विकास महर्जन तेस्रो हुनुभएको छ। गुरुङले चार मिनेट ४६ सेकेन्डमा तोकिएको दूरी पार गर्नुभएको थियो भने स्टुडले चार मिनेट ५१ सेकेन्ड र महर्जनले चार मिनेट ५२ सेकेन्डमा उक्त दूरी पार गर्नुभएको थियो। 

जुनियर (१८ वर्षभन्दा मुनि)को प्रतियोगितामा ११ जना सहभागी थिए। जसमा विपुल थापा प्रथम, अनिश तामाङ दोस्रो र श्रीनेश श्रेष्ठ तेस्रो हुनुभएको छ। थापाले चार मिनेट २९ सेकेन्ड, तामाङले चार मिनेट ४२ सेकेन्ड र श्रेष्ठले चार मिनेट ५८ सेकेन्डमा उक्त दूरी पार गर्नुभएको हो। शनिबार सम्पन्न प्रतियोगिताको चार विधाका विजेतालाई दुई लाख पुरस्कार प्रदान गरिएको शाक्यको भनाइ छ। 

सिद्धिचरण नगरपालिका–११, झाँक्री ढुङ्गादेखि १२ नं. वडाको गणेश टोलसम्म गरी ३.२ किलोमिटरको दूरीमा साइक्लिङ दौड प्रतियोगिता गरिएको थियो। रमाइलो डाँडाको पुरानो बजारको बाटो, हुलाक टोलबाट गणेश टोलसम्मको बजारको बाटो, गणेश टोलबाट भैरव टोल हुँदै हुलाक टोलसम्मको बजारको भित्री बाटो, डाँडा टोल कृष्ण मन्दिरको बाटो, हाटबजार लाग्ने बाटो हुँदै हुलाक टोलसम्मको बाटोमा साइक्लिङ दौड प्रतियोगिता भएको आयोजक संस्थाका अध्यक्ष शाक्यले जानकारी दिनुभयो। 

यस प्रतियोगिताले नगरपालिकाको पर्यटन प्रवद्र्धनमा थप महत्त्वपूर्ण सहयोग पुगेको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताउनुभयो। प्रतियोगिताको सञ्चालनका लागि नगरपालिकाले पाँच लाख बजेट विनियोजन गरेको मेयर खनालले जानकारी दिनुभयो। यसका साथै पर्यटन प्रवद्र्धनकै लागि सदरमुकामस्थित हुलाक डाँडादेखि स्रष्टा पार्कसम्म पर्यटकीय झोलुङ्गे पुल निर्माणको काम अघि बढाइएको मेयर खनालको भनाइ छ।