• १२ असोज २०८१, शनिबार

सञ्चारसम्बन्धी ऐन चाँडै जारी हुने

blog

प्रेस चौतारी नेपाल, मोरङ शाखाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत । तस्बिर : महेन्द्र विष्ट

मोरङ समाचारदाता

विराटनगर, माघ २३ गते । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश १ सरकारले चाँडै नै सञ्चारसम्बन्धी ऐन जारी गर्ने बताउनुभएको छ। प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो। 

उहाँले सञ्चार ऐनको मस्यौदा तयार भइसकेको जानकारी गराउँदै आवश्यक प्रक्रिया पु-याएर चाँडै जारी गर्ने र प्रदेशभित्र सञ्चार क्षेत्रलाई व्यवस्थित तथा मर्यादित बनाउन आवश्यक संरचना निर्माण गर्ने जानकारी गराउनुभयो। 

उहाँले यसअघि एमाले नेतृत्वको प्रदेश सरकारले स्थापना गरेको प्रादेशिक सञ्चार प्रतिष्ठानको खारेजीप्रति आक्रोश व्यक्त गर्दै उक्त कार्यलाई तानासाही प्रवृत्तिको संज्ञा दिनुभयो। प्रदेश १ मा एमालेको शेरधन राई नेतृत्वको सरकारले सञ्चार तथा पत्रकारिता क्षेत्रमा काम गर्ने गरी प्रादेशिक सञ्चार प्रतिष्ठानको स्थापना गरी कार्य अगाडि बढाएको थियो तर पछिल्लो राजेन्द्र राई नेतृत्वको गठबन्धन सरकारले कानुनबिना नै प्रतिष्ठान गठन गरेको भन्दै विघटन गरेको थियो। 

उहाँले प्रदेश सरकारले सञ्चार क्षेत्रमा काम गर्ने नयाँ संरचनाको निर्माण गरी सञ्चार क्षेत्रको अनुसन्धान र लेखनवृत्तिजस्ता कार्यलाई अघि बढाउने बताउनुभयो। मुख्यमन्त्री कार्कीले प्रदेशको नाम सकेसम्म सहमतिबाट नभए विधि र प्रक्रियाबाट टुङ्गो लगाउने बताउँदै कामको बोझ नथपिएसम्म प्रदेश सरकारले मन्त्री विस्तार नगर्ने स्पष्ट पार्नुभयो। 

सोही अवसरमा प्रेस चौतारी मोरङले पत्रकार तेजेन्द्र भण्डारी र दिनेश सुब्बालाई पुरस्कृतसमेत गरेको छ। जसमा १५ हजार पाँच सय रुपियाँ राशिको जनार्दन मैनाली स्मृति पुरस्कारबाट पत्रकार तेजेन्द्र भण्डारी र ११ हजार एक सय रुपियाँ राशिको कृष्णप्रसाद सिग्देल स्मृति पुरस्कारबाट पत्रकार दिनेश सुब्बा पुरस्कृत हुनुभएको हो । मुख्यमन्त्री कार्कीले पुरस्कृत पत्रकारलाई बधाई तथा शुभकामना दिँदै कुनै समयमा आफू पनि प्रेस चौतारीसँग आबद्ध रही पत्रकारिता गरेको स्मरण गर्नुभयो। नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रदेश सरकारका पूर्वमन्त्री जीवन घिमिरेले पत्रकारले व्यावसायिक मर्म र धर्मलाई स्थापित गर्नुपर्ने बताउनुभयो। विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले समाजलाई सुसूचित गर्ने पत्रकारिता क्षेत्र स्वच्छ र स्वतन्त्र हुनुपर्ने कुरामा जोड दिनुभयो।

प्रेस चौतारी नेपाल मोरङ शाखाका अध्यक्ष सुदीप कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेल, नेपाल पत्रकार महासङ्घ प्रदेश १ समितिका सभापति लीलावल्लभ घिमिरे, नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सञ्जीव खनाललगायतका वक्ताले बोल्नुभएको थियो। 

ब्याजदर घटाउन आग्रह 

यसैबीच अर्को छुट्टै कार्यक्रममा मुख्यमन्त्री कार्कीले व्यापारीका समस्यालाई उचित ढङ्गले सम्बोधन गरी निजी क्षेत्रलाई प्रोत्साहन हुने गरी ब्याजदर घटाउन नेपाल राष्ट्र बैङ्कसँग माग गर्नुभएको छ। उर्लाबारी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्वसको उद्घाटन गर्दै उहाँले उक्त कामको नेतृत्वसमेत आफैँले गर्नुपरे पछि नहट्ने उल्लेख गर्नुभयो। 

मुख्यमन्त्री कार्कीले देशको अर्थतन्त्र तिल्मिलाएका बेला उर्लाबारी वाणिज्य सङ्घले व्यापारीलाई त्राण भर्ने गरी महोत्सव आयोजना गरेको बताउनुभयो। कार्कीले भन्नुभयो, “नेपाल राष्ट्र बैङ्कले राम्रो मौद्रिक नीति ल्याउने हो भने अर्थतन्त्र सुधार गर्न धेरै समय लाग्दैन।” वर्तमान सरकार आएको थोरै समयमा नै अर्थतन्त्र सुधारोन्मुख भएको चर्चा गर्दै उहाँले उद्यमीले कर्जा लिँदैमा बैङ्क नडुब्ने बताउनुभयो।

प्रदेश १ का प्रदेश सभा सदस्य शोभा चेम्जोङले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि प्रादेशिक महोत्सव कोसेढुङ्गा हुने बताउनुभयो। धेरै खाले राजनीतिक परिवर्तन भए पनि चाहेजस्तो आर्थिक विकास नभएको बताउँदै कृषि उद्योगलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले बाधा अड्चनबिना व्यापारिक सफलता नमिल्ने बताउनुभयो। महोत्सव माघ २९ गतेसम्म सञ्चालन हुनेछ। नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको प्रदर्शन र बिक्री हुने महोत्सवबाट २५ करोडको व्यापार हुने अनुमान गरिएको छ।