• १५ चैत २०८०, बिहिबार

युनाइटेडले जित्दा आर्सनल र लिभरपुल पराजित

blog

गोल गरेपछि खुशी मनाउँदै युनाइटेडका मार्कस रासफोर्ड । तस्बिर : एएफपी

काठमाडौं, माघ २२ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकाल्दा उपाधि दौडमा रहेको आर्सनल र लिभरपुलले हार खेपेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो ।

अर्को खेलमा शीर्षटोली आर्सनल एभर्टनसँग १–० गोलले स्तब्ध बन्यो । लिभरपुलले वल्भ्ससँग ३–० गोलको लज्जासपद हार खेप्यो । १० खेलाडीमा समेटिएको युनाइटेटलाई जिताउन ब्रुनो फर्नान्डेजले सातौं र मार्कस रासफोर्डले ६२औं मिनेटमा गोल गर्नुभयो ।

क्रिस्टलका जेफ्रे सचलुपले ७६औं मिनेटमा सान्त्वना  गोल गर्नुभयो । ७०औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटियो । क्यासमिरोले अनावश्यक फल खेलेपछि उहाँलाई रातो कार्ड देखाइएको थियो । जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडले २१ खेलबाट ४२ अङ्क बनाएको छ । पराजित क्रिस्टल २४ अङ्कसहित १२औं स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४५ अङ्क छ । 

यसैगरी आर्सनललाई हराउन एभर्टनका जेम्स तारकोस्कीले ६०औं मिनेटमा गोल गर्नुभयो । जितसँगै १८ अंक बनाएको एभर्टन १८औं नै स्थानमा छ । पराजित आर्सनल ५० अङ्कसहित शीर्षस्थानमा यथावत छ ।

अर्को खेलमा लिभरपुललाई हराउन वल्भ्सका क्रेइग डसन र रुवेन नेभेसले गोल गर्नुभयो । वल्भ्सले अर्को गोल लिभरपुलबाट आत्मघाती उपहार पाएको थियो । जितसँगै २० अङ्क बनाएको वल्भ्स १५औं स्थानमा छ । पराजित लिभरपुल २९ अङ्कसहित १०औं स्थानमा छ । एजेन्सी