• १३ साउन २०८१, आइतबार

पाउद्वार तातोपानी कुण्ड प्राकृतिक उपचार स्थल बन्दै (फोटो फिचर )

blog

रोग निको हुने विश्वासका साथ कुण्डमा स्नान गरेका विरामी । तस्विर–ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, माघ १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारस्थित कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलका रुपमा विकास हुन थालेको छ । कुण्डमा स्नान गरेपछि रोग निको हुने विश्वास बढेका कारण पछिल्लो समय स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको हो । 

अन्नपूर्ण गाउँपालिकाले तातोपानी कुण्डलाई प्राकृतिक उपचार स्थलका रुपमा विकास गर्ने उद्देश्यले केही वर्ष पहिला पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाएपछि स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको कुण्डका व्यवस्थापक कुमार तिलिजाले बताउनुभयो ।  

बिरामीले शरीर डुबाएर स्नान गर्न मिल्ने गरी तीनवटा पोखरी निर्माण गरिएको छ । पिउने पानीका लागि धाराहरु र शौचालयको निर्माण गरिएको छ । स्नान गर्ने पोखरीमा ट्रस राखिएको छ ।

कुण्डमा स्नान गर्न म्याग्दीका साथै मुस्ताङ, पर्वत, बागलुङ, पोखरा र काठमाडाैंलगायतका जिल्लाबाट आउने गरेको कुण्ड व्यवस्थापक तिलिजाले बताउनुभयो । दैनिक रुपमा एक सयजनासम्म बिरामीहरु आउने गरेको उहाँले बताउनुभयो । 

चोटपटक लागेको, सर्केमर्केको, ग्यास्ट्रिक, चिसोका कारण लागेको रोग, गानोगोलालगायत समस्या भएका बिरामीका उपचारका लागि कुण्डमा स्नान गर्न आउने र एकहप्तामा निको भएर फर्किने गरेका छन् ।

निको हुने विश्वासका साथ एकहप्ता अघि कुण्डमा स्नानका लागि आउनुभएका पर्वतको जलजला गाउँपालिका ५ का रनबहादुर तिलिजाले भन्नुभयो ‘‘मलाई ग्यास्ट्रिक र ढाड सर्किएको थियो एकहप्ता डुबेपछि निको हुनथालेको छ ।’’ 

‘‘ग्यास्ट्रिक थियो र हड्डीको जोर्नीहरु दुख्ने, पुरानो घाउहरु बल्झिएर दुखेकाले कुण्डमा स्नान गर्न आएको हुँ । अहिले केही निको भएको छ,’’ अन्नपूर्ण गाउँपालिका ३ का पूर्व वडाध्यक्ष नरसिंह पुर्जाले भन्नुभयो,‘‘ यहाँको पानी अन्य तातोपानी कुण्डको भन्दा फरक छ । पानी नुन खाएजस्तै छ । पानी कडा तातो छ । एकहप्ता डुब्ने हो भने अधिकांश रोग निको हुन्छ ।’’ 

गाउँपालिकाले टहरा र पोखरी बनाइदिएपछि जुनसुकै समयमा पनि स्नान गर्न सहज भएको पुर्जाले बताउनुभयो । आकाशबाट पानी पर्दा र गर्मीका समयमा पनि सहज तरिकाले पोखरीमा शरीर डुबाएर स्नान गर्न मिल्ने भएको छ । यहाँको पानीको तापक्रम ६८ डिग्री सेल्सियस छ । मुस्ताङ भ्रमण गरेर फर्किएका पर्यटक पनि कुण्डमा स्नान गर्न पुग्ने गर्दछन् । 

गाउँपालिकालाई एकवर्षको १२ लाख रुपियाँ बुझाउने गरी कुण्ड व्यवस्थापकको जिम्मा लिएको उहाँले बताउनुभयो । कुण्डमा दिनभर डुबेको ५० रुपियाँ तोकिएको उहाँले बताउनुभयो ।