• ३ मंसिर २०८२, बुधबार

साम्दोका होटेलमा पर्यटकको चाप

blog

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर ३ गते । उत्तरी गोरखाको मनासलु हिमालको काखमा रहेको साम्दोमा पर्यटकको चाप उच्च रहेको छ । दिनभर हिउँले छाएको पहाडको घमाइलो दृश्यमा हराउने पर्यटक चुमनुब्री गाउँपालिका–१, साम्दोमा साँझ पर्नेबित्तिकै आएर बस्ने ठाउँको खोजी हुन्छन् तर साम्दोमा तीन वटा मात्र होटेल रहेकाले क्षमताभन्दा धेरै पर्यटक आउँदा आवासको अभाव हुन थालेको छ । 

अघिल्लो वर्षको तुलनामा यस वर्ष मनासलु क्षेत्रमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेकाले होटेलले पर्यटक राख्न नसकेको साम्दोका जम्बोला होटेल सञ्चालक निमा दोर्जेले बताउनुभयो । 

उपलब्ध होटेल, लज र खाने बस्ने व्यवस्था अझै सीमित छ । सञ्चालक निमा दोर्जेका अनुसार होटेलमा कोठा छैन भन्दै कतिपय पर्यटकलाई फर्काउनु परेको छ । त्यसको हिसाबै छैन । होटेलमा भएका पर्यटक कोही डाइनिङमा सुत्छन् भने कोही बाहिर टेन्ट टाँगेर सुत्नुपर्ने अवस्था छ । 

साम्दोका केही घरधुरीले होमस्टे, शैलीमा सेवा विस्तार गर्न थाले पनि मागको तुलनामा आपूर्ति निकै कम छ । पर्यटकका झोला, बोरा, काँधमा टाँसेर घर घरको ढोकामा बस्ने ठाउँ भेटिन्छ कि भनेर सोध्दै हिँड्नुपर्ने अवस्था आएको आन्तरिक पर्यटक सुरेन गुरुङको भनाइ छ । 

साम्दोको भौगोलिक अवस्थाले ठुला संरचना निर्माण गर्न सकस भए पनि यहाँको प्राकृतिक सुन्दरताले खिच्ने पर्यटकको सङ्ख्या वर्षभरि नै बढ्दै गएको छ । मनासलु हिमालको सेतो ताज, निलो आकाश अनि चिसो हावामा मिसिएको हिमाली भेगको सुगन्धले मनासलु क्षेत्र आउने जोकोहीलाई पनि लट्ठै बनाउने गरेको छ । 

यसैले गर्दा साम्दोमा पर्यटकको बाक्लो उपस्थितिले गाउँको आर्थिक अवस्था बदल्न महत्वपूर्ण योगदान पुग्ने स्थानीय पर्यटन व्यवसायीको बुझाइ छ । मनासलु क्षेत्र पुग्ने पर्यटक साम्दोमा होटेल, लज र आधारभूत पर्यटक सेवा विकास भएमा मनासलु पदमार्ग विश्वकै आकर्षक हिमाली पर्यटन केन्द्र बन्न सक्ने आन्तरिक पर्यटक सुरेन गुरुङको भनाइ छ । 

अहिले साम्दोको आकाशमा निलोपन चम्किँदो छ । हिमालको छायामा ग्रामीण जीवनको धड्कन चलिरहेकै छ । अब पर्यटकलाई ओत लाग्ने ठाउँ, सुस्ताइने सुरक्षित घर र साम्दोको सुन्दरतासँग मेल खाने आतिथ्यको बन्धन हुनु आवश्यक छ ।