- चालु आवमा छ लाख मेट्रिक टन रासायनिक मल खरिद लक्ष्य भए पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा लक्ष्य अनुसार खरिद गर्न नसकिने
- एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा २० देखि २५ प्रतिशत मलको मूल्यवृद्धि
- मलको खरिद मूल्य महँगो परे पनि अनुदानका कारणले किसानले सस्तोमा मल पाउने गरेका छन् । बिक्री मूल्य समायोजन गर्न सके थप मल आयात गर्न सकिने मन्त्रालयको दाबी छ ।
काठमाडौँ, मङ्सिर ३ गते । सरकारले आगामी बर्खे धानबालीका लागि रासायनिक मलको आपूर्ति व्यवस्था सहज पार्न गृहकार्य गरिरहेको छ । चैत/वैशाखसम्मका लागि रासायनिक मल पर्याप्त रहे पनि त्यसपछिको धान बालीका लागि डिएपी अभाव हुने देखिएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले व्यवस्थापन गर्न लागेको हो ।
मलको जोहो गर्न बजेटको नै व्यवस्था गर्नुपर्ने देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा रासायनिक मल खरिद गर्न २८ अर्ब ८२ करोड १४ लाख रुपियाँ विनियोजन भएको भए पनि नपुगेर बजेट व्यवस्थापन गर्न विभिन्न विकल्पमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।
मल खरिद गर्न अर्थ मन्त्रालयसँग थप १० अर्ब रुपियाँ बजेट माग गरेकामा निर्वाचनका बेला बजेट अपुग हुने भन्दै अर्थमन्त्री रामेश्वर खनालले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न भनेपछि मन्त्रालयले मलको मूल्य समायोजन गर्ने वा आन्तरिक स्रोत व्यवस्थापन गर्ने विषयमा गृहकार्य थालेको छ ।
मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले त्यसका लागि मन्त्रालयमा विनियोजन गरिएको अन्य बजेटबाट रकमान्तर गर्ने वा मूल्य समायोजन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । “पाँच लाख ५० हजार मेट्रिक टन मल खरिद गर्न थप साढे पाँच अर्ब लाग्ने देखिन्छ,” उहाँले भन्नुभयो, “बजेट खर्च नभएको कार्यक्रमबाट रकमान्तर गरेर बजेट व्यवस्थापन गर्न सकिन्छ भनेर लागिरहेका छौँ ।”
उहाँका अनुसार बर्खे धान बालीका लागि ६० हजार मेट्रिक डिएपी नपुग्ने देखिएको छ । धान रोप्ने बेला मल अभाव नभई कसरी आपूर्ति व्यवस्था सहज गर्न सकिन्छ भनेर गृहकार्य भइरहेको छ ।
चालु आवमा विनियोजन गरेको बजेटले चार लाख ७१ हजार तीन सय मेट्रिक टन मल टेन्डर गरिसकेको मन्त्रालयले जनाएको छ । थप मल किन्न बजेटको खोजी भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले कोटा अनुसार खरिद गर्न नसकिएको मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा युरिया प्रतिमेट्रिक टन ५४७ अमेरिकी डलर, डिएपी ८९९ अमेरिकी डलर र पोटास प्रतिमेट्रिक टन ४६२ अमेरिकी डलर रहेको छ ।
चालु आवमा छ लाख मेट्रिक टन रासायनिक मल खरिद लक्ष्य भए पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा लक्ष्य अनुसार खरिद गर्न नसक्ने देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा २० देखि २५ प्रतिशत मलको मूल्य बढेको छ ।
हिउँदे बालीका लागि डिएपी र युरिया गरेर एक लाख ८० हजार मेट्रिक टन मल खपत हुने मन्त्रालयले जनाएको छ । जसका लागि कात्तिक अन्तिम सातासम्म दुई लाख ३७ हजार ६१९ मेट्रिक टन मल आयात भइसकेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनसँग हाल एक लाख पाँच हजार २५९ मेट्रिक टन मल मौज्दात छ । मलको आयात नियमित भइरहेकाले राख्ने ठाउँमा नभएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
धान बालीका लागि वार्षिक सात लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्नेमा माग अनुसार मलको आपूर्ति नहुँदा बर्सेनि किसानले धान रोप्ने बेला मलको अभाव खेप्नु परेको छ ।
मलको खरिद मूल्य महँगो परे पनि अनुदानका कारणले किसानले सस्तोमा मल पाउने गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार युरियाको खरिद मूल्य प्रतिकेजी ६४ रुपियाँ रहेकोमा बजारमा बिक्री मूल्य १५ रुपियाँ रहेको छ । सबैभन्दा धेरै युरियामा ८० प्रतिशत अनुदान रहेको छ ।
यस्तै डिएपीको प्रतिकेजी खरिद मूल्य १२७ रुपियाँ रहेकोमा बजारमा बिक्री मूल्य भने ४४ रुपियाँ रहेको छ । प्रतिकेजी पोटासको खरिद मूल्य ६५ रुपियाँ रहेकामा बिक्री मूल्य ३२ रुपियाँ छ । बिक्री मूल्य समायोजन गर्न सके थप मल आयात गर्न सकिने मन्त्रालयको दाबी छ ।