• ३ मंसिर २०८२, बुधबार

चियामा चार करोडभन्दा बढीको क्षति

blog

नेपालमै पहिलो पटक विसं १९२० मा चिया रोपिएको इलामको बगानमा असोज १८ गते राति गएको पहिरो । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, मङ्सिर ३ गते । गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण इलामको चिया क्षेत्रमा चार कारोड रुपियाँभन्दा बढीको क्षति भएको छ । पहिरोले चिया सहकारीमा आबद्ध ९७ जना किसानको चिया बगान बगाउँदा चार करोड ७२ लाख ९० हजार रुपियाँभन्दा बढीको क्षति भएको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ । 

जिल्लाका ४१ सहकारीमा आबद्ध किसानको चिया बगानमा क्षति पुगेको सङ्घका महासचिव रविन राईले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण चार चिया किसान परिवारको घरमा पूर्ण र १८ परिवारको घरमा आंशिक क्षति भएको छ । 

“अहिलेसम्म हामीले सहकारीमा आबद्ध चिया किसान र चियाको क्षतिको विवरण सङ्कलन गरेका छौँ । अझै सहकारीमा आबद्ध नभएका साना किसानको क्षतिको विवरण सङ्कलन गर्न सकिएको छैन,” महासचिव राईले भन्नुभयो, “हामीले चिया क्षेत्रमा भएको क्षतिलाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा पेस गरेका छौँ तर अहिलेसम्म कुनै काम र सुनुवाइ भएको छैन ।” राईले चियाका लागि कुनै राहत र अनुदानको काम स्थानीय, प्रदेश र सङ्घ कुनै पनि तहका सरकारबाट नभएको बताउनुभयो । 

“इलामका क्षति भएका ४१ सहकारीमा तीन हजार तीन सय किसान आबद्ध छन् । अब क्षति भएका बगानमा पुनः बिरुवा लगाउनुपर्ने अवस्था छ । कति किसानको बगान नै बगेर नष्ट भएको छ । उनीहरूलाई पुनस्र्थापनाका लागि काम गर्नुपर्ने छ । चियाका लागि अहिलेसम्म केही हुन सकेको छैन,” राईले भन्नुभयो, “करिब २५० रोपनी जमिनको चिया पहिरोले बगाएको छ ।”  

यता जिल्लाको कृषिक्षेत्रमै भने २७ करोड ३९ लाख ९५ हजार रुपियाँको क्षति भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । केन्द्रका अनुसार करिब तीन हजार चार सय कृषकले लगाएको ८९२ हेक्टर जमिनमा लगाइएको करिब तीन हजार २० मेट्रिक टन उत्पादनमा क्षति पुगेको कार्यालयको तथ्याङ्क छ । 

असोज १८ को विपत्पछि इलाममा ३९ जनाले पहिरोमा परी ज्यान गुमाएका छन् । एक जनाको अवस्था अझै बेपत्ता छ । यस्तै ३३८ घर पूर्ण रूपले क्षति भएका छन् र ८२८ घरमा आंशिक क्षति भएको छ । ४४९ परिवार विस्थापित भएका छन् भने ११ परिवार सामुदायिक भवनमा बस्दै आएको र बाँकी आफन्त र छिमेकीकोमा बस्दै आएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । 

असोज १८ को विपत्पछि इलामलाई सरकारले तीन महिनाका लागि सङ्कटग्रस्त जिल्ला घोषणा गरेको थियो । सङ्कटग्रस्त जिल्ला घोषणा भए पनि इलाममा अहिलेसम्म पुनर्निर्माणको ठोस काम भने हुन नसकेको सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।