• ३ मंसिर २०८२, बुधबार

ताप्लेजुङको तेम्बा बजारमा आगलागी : चार घर जलेर नष्ट

blog

साँवाको तेम्बा बजारमा भएको आगलागीको दृश्य । तस्बिर सौजन्य : विजय साँवा

चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर ३ गते ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित साँवाको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । मङ्गलबार मध्यराति भएको आगलागीबाट तेम्बा बजारका चार घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।

मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार तेम्बा बजारमा मङ्गलबार राति करिव ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट तेम्बा बजारका इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवा लिम्बूको घर जलेर पूर्णरुपमा नष्ट भएको उपाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

उक्त सबै घरमा होटल तथा अन्य पसल रहेका थिए । खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, पसलका सामानलगायत घरभित्र रहेको सम्पूर्ण सामग्री र नगदसमेत जलेर नष्ट भएको फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष स्थानीय विजय साँवाले जानकारी दिनुभयो । साँवाका अनुसार मध्यराति आगलागी भएकाले घरमा रहेको कुनैपनि सागम्री झिक्न नपाइएको हो ।

यता मध्यराति आगलागी भए पनि मानवीय क्षति भने नपाएको गाउँपालिका उपाध्यक्ष शेर्पाले बताउनुभयो । आगलागीका कारण भने नखुलेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार बुधबार बिहानदेखि आगलागी घटनाबारे अनुसन्धान र क्षतिको विवरण सङ्कलनको कार्य हुने छ ।