• ११ असार २०८१, मङ्गलबार

एक हजार ५६५ पक्की पुलहरु निर्माणकाे तयारीमा

नेपालभर ७५० पक्की पुल निर्माण हुँदै

blog

काठमाडौं, माघ १७ गते । देशका विभिन्न सडकमा पक्की पुल निर्माणको काम द्रुत गतिमा बढेको छ । देशमा नयाँ सडक निर्माण तथा विस्तारको क्रम बढेसँगै विभिन्न ठाउँमा रहेका नदी तथा खोलामा पक्की पुलहरू निर्माणको क्रम बढेको हो । देशभर एक हजार ५६५ पक्की पुलहरू निर्माणको क्रममा छन् । सडक विभाग अन्तर्गतको पुल महाशाखाकाअनुसार यीमध्ये ७५० वटा पुलको ठेक्का लागेर काम भइरहेको छ ।

महाशाखाका इन्जिनियर उमेशविन्दु श्रेष्ठकाअनुसार यी पुलहरू रणनीतिक योजनाअन्तर्गतका मुख्य सडक र सहायक सडक अन्तर्गत बन्ने पुलहरू हुन् । बाँकी पुलहरू पनि निर्माणको प्रक्रियामा रहेकाले चाँडै ठेक्का लाग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सडक विभागअन्तर्गत बन्ने एक हजार ५६५ पुलमध्ये ७५० पुलको ठेक्का प्रक्रिया पूरा भएर काम जारी छ । बाँकी ८१५ पनि प्रक्रियामै रहेकाले चाँडै ठेक्का लाग्नेछ ।”

स्थानीय तहअन्तर्गत बन्ने पुलको पनि अहिले सडक विभागले नै जिम्मा लिएर काम गरिरहेको छ । आगामी वर्ष स्थानीय तहअन्तर्गतका पुलहरू प्रदेश वा स्थानीय तहलाई नै हस्तान्तरण गर्ने योजना पनि रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “देशभर निर्माणाधीन पुलहरू धेरै स्थानीय तहअन्तर्गतका छन् ।

हाल सडक विभागबाट नै निर्माण कार्य ढिला र लागत बढी लाग्ने गरेको छ । त्यसकारण आगामी वर्ष यी सबैको जिम्मा प्रदेश वा स्थानीय तहलाई नै दिने योजना छ ।” पुल निर्माणको अनुगमन पनि तल्लो तहबाट नै हुने भएकाले पुलको निर्माण तोकिएको समयमै पूरा हुने सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।

पुल सञ्चालनमा ल्याउने तयारी

सडक विभागले आगामी वर्ष तीन सयवटा पक्की पुलमा सवारी गुडाउने योजना छ । विभागअन्तर्गतको पुल महाशाखाका इन्जिनियर श्रेष्ठकाअनुसार देशभर अहिले निर्माणाधीन ७५० पुलमध्ये ३०० पुलहरू सञ्चालनमा ल्याउने तयारी छ ।

महाशाखाले २७० वटा पुल सञ्चालन ल्याउन सकिने यसअघि बताएको थियो । तर, अहिलेसम्मको पुलहरू कार्यप्रगति विश्लेषण गर्दा ३०० वटा पुलहरूको निर्माण पूर्णरुपमा सकिने भएकाले यी पुलहरू सञ्चालनमा ल्याउने योजना रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “आगामी वर्षमा पुल महाशाखाले २७० वटा पक्की पुलहरू निर्माण सकेर सञ्चालनमा ल्याउने योजना बनाएको थियो । अहिलेको पुलको प्रगति विवरण विश्लेषण हेर्दा ३०० वटा पुलहरू निर्माण सम्पन्न भएर सञ्चालनमा ल्याउने देखिएको छ ।”

रकम पर्याप्त

देशभर निर्माणाधीन पुलहरूको लागि अहिले तत्काल रकम अभाव भने नभएको महाशाखाको भनाइ छ । पुल महाशाखाका इन्जिनियर श्रेष्ठकाअनुसार कार्यप्रगति कम भएका पुलहरूको रकमलाई बढी प्रगति भएका पुलहरूमा रकमान्तर गरेमात्र पुग्ने भएकाले बजेट अभाव भने नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पुल निर्माणमा बजेट अभावले काम रोकिएको छैन । कम प्रगति भएका पुलको बजेटलाई बढी प्रगति भएका पुलमा रकमान्तर गरेमात्र पुग्ने भएकाले बजेटको अभाव भने हुँदैन ।”

नौ वटा पुलको ठेक्का रद्द

देशभर निर्माणाधीन पुलहरूमध्ये नौ वटाको पुलको ठेक्का तोडिएको छ । निर्माण कम्पनीहरूले बारम्बार काममा हेलचेक्र्याइँ गरेपछि ठेक्का तोडिएको हो । पुल महाशाखाले निर्माण कम्पनीलाई पटक–पटक सचेत गराए पनि बेवास्ता गरेको कारण ठेक्का नै तोड्नुपरेको उहाँको भनाइ छ ।

ठेक्का तोडिएका कम्पनीमा पप्पु कन्स्ट्रक्सन, सिरुवा कन्स्ट्रक्सन, गौरी–पार्वती कन्स्ट्रक्सन, स्वच्छन्द निर्माण सेवा, निलगिरी, सपना निर्माण सेवा छन् । यी कम्पनीले निर्माणको जिम्मा पाएका लाल बकैया नदी, अरुण नदी, सानीभेरी नदी, झाँझखोला पुल, गौरा पिपरा सडक, चाँदीखोला विश्रामपुर हजरियाको पुलको ठेक्का तोडिएको उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।