• १२ असोज २०८१, शनिबार

ओ शैलराज !

blog

नियालेको छु तिमीलाई

कहिले समीप त कहिले दूरबाट

धेरै वर्षदेखि सबै यामहरूमा 

ए शैलचुली !

म तिमीसँगै बात मारिरहेको छु । 

रङ्गियौ कहिले गुराँसे बैँससँग

सेताम्य चाँदीको गजुरझैँ सिँगारियौ पनि

हरियाली रङले ऋतुराजमा बन्यौ मोहिनी ।

यो पनि त देखेँ–

कहिले भिज्यौ झरीसँगै

गुम्सियौ बादलसँगै

हरायौ कुहिरोभित्र

उजाडियौ गृष्मसँगै ।

प्रकृतिका तिकडम झेलिरहेका छौ

तर पनि वेदनाहरू लुकाई अग्लिएका छौ

अनेक रङले सुरम्य छौ

अटल, निश्चल र सदाझैँ शान्त छौ ।

तिमीले नभनेका तिम्रा व्यथाहरू बुझेको छु

तिम्रा सुसेलीहरू सुनेको छु 

तिम्रा याम र घामजस्तै 

मेरा याम र घामहरू ।

जीवन–

केही उकालीहरूमा उक्लियो

केही ओरालीहरूमा गुज्रियो

समय चक्रसँगै

चैते डढेलो बेहोर्नुप¥यो

कालो रङहरू पनि पोतियो

कुटिए धेरै थान रहरहरू असिनाले ।

फेरि जुर्मुराए केही सपनाहरू

दिन र रात,  घाम र छायाँसँगै

अङ्कुरित भए आस्थाका बीजहरू ।

ओ शैलराज ! मलाई पनि

तिम्रो छातीमा जस्तै आफ्नो छातीमा

सतिसाल उभ्याउन मन छ

तिमीले जस्तै आकाश चुम्ने रहर छ

तिमीसँगै ढल्ने र मर्ने मन छ 

तिम्रै गर्भमा विलीन हुने मन छ ।