• १२ असोज २०८१, शनिबार

कोसी राजमार्ग विस्तार अभियान सुरु

blog

सचिन पोख्रेल 

इटहरी, माघ १५ गते । कोसी राजमार्गअन्तर्गत रानी– विराटनगर– इटहरी– धरान छ लेन सडक निर्माण तथा विस्तारका क्रममा इटहरी बजार क्षेत्रभित्र रहेका अवैध घरटहरा हटाउने अभियान सुरु गरिएको छ। भारतको जोगबनीदेखि चीनको किमाथाङ्कासम्म जोड्ने यो सडक राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको छ। 

इटहरी उपमहानगरपालिकाको सक्रियतामा सुरक्षाकर्मी तथा डोजर प्रयोग गरेर सडक क्षेत्रको संरचना हटाउन थालिएको हो। सडक निर्माण तथा विस्तारका क्रममा राजमार्ग क्षेत्रमा पर्ने घरटहरा हटाउन लामो समयदेखि सडक आयोजना असफल बनेको थियो। इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले इटहरी मुख्य चोकमा पर्ने घरसंरचना हटाउन सुरु गरेको जानकारी दिनुभयो। इटहरीको मुख्य चोकदेखि दक्षिण विराटनगर लाइनमा पर्ने ३४ वटा घर हटाउन बाँकी थिए। ती संरचना हटाएर आयोजनालाई पूर्णता दिइने प्रमुख पौडेलको भनाइ छ। 

इटहरी–६ र ९ स्थित विराटनगर लाइनको घर तथा टहराहरूमा डोजर लगाएर भत्काइएको छ । इटहरीका राजनीतिक दल, इलाका प्रहरी कार्यालय इटहरी, इटहरी वडा नम्बर ६ का अध्यक्ष दिवस पोख्रेल, ९ का अध्यक्ष जितेन्द्र थापालगायतको सक्रियतामा घर भत्काउन थालिएको हो। 

बजार क्षेत्रमा खोला, पैनी मिचेर बनाएका संरचनामाथि पनि डोजर चलाउने उपमहानगरपालिकाले जनाएको छ। उहाँले सर्वपक्षीय छलफल गरेर राजमार्ग क्षेत्रमा पर्ने घर हटाउने निर्णयअनुसार अभियान थालिएको र सडक आयोजनालाई जतिसक्दो चाँडो पूर्णता दिनुपर्ने बताउनुभयो। सडक परियोजनाअन्तर्गत सडकको बीच भागबाट ५५ फुट कायम हुने गरी संरचना भत्काउने अभियान चलाइएको बताइएको छ। रानी–किमाथाङ्का जोड्ने ३४५ किलोमिटर सडकअन्तर्गत अहिले खाँदबारीदेखि किमाथाङ्का जोड्ने ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ। रानी–धरानसम्मको छ लेन सडक निर्माण तथा विस्तार दुहबी, इटहरी र धरान बजार क्षेत्रका राजमार्गमा रहेका संरचनाका कारण सडक विस्तारको कामले गति लिन सकेको छैन।