कविराज घिमिरे
हिले, चैत १९ गते । बिहीवारदेखि देशभर सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कोसी प्रदेशबाट ७३ हजार ८५२ विद्यार्थी सहभागी भएका छन् । कुल ७५ हजार ६२ परीक्षार्थीमध्ये पहिलो दिन एक हजार २१० विद्यार्थी अनुपस्थित रहेको शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ ।
प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी मोरङबाट १६ हजार २८६ र सबैभन्दा कम तेह्रथुमबाट एक हजार ३७२ परीक्षार्थी सहभागी भएका छन् । कोसी प्रदेशका ३३२ परीक्षा केन्द्रमै शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
यस वर्ष नतिजा छिटो प्रकाशन गर्ने उद्देश्यले कोसीका अधिकांश जिल्लाका परीक्षा केन्द्रमा बिहीवारदेखि नै उत्तरपुस्तिका परीक्षण कार्य सुरु गरिएको छ । निर्देशक पोखरेलका अनुसार सम्भव भएसम्म सबै केन्द्रमा पहिलो दिनकै उत्तरपुस्तिका परीक्षण थालिएको हो ।
परीक्षालाई व्यवस्थित बनाउन प्रदेशभर ३३२ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, चार हजार ६३ निरीक्षक, ८१३ परीक्षक सहायक, एक हजार ६१५ सहयोगी कर्मचारी र चार हजार ९८० सुरक्षाकर्मी परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।