• १९ चैत २०८२, बिहिबार

करेन्ट लागेर एकको मृत्यु

blog

शिवकुमार रिजाल 

मनहरी (मकवानपुर), चैत १९ गते । मकवानपुर गढी गाउँपालिका –२ स्थित मोरे गाउँमा विद्युत बिस्तारका लागि फलामे पोल गाड्ने क्रममा हाइटेन्सनको तारमा ठोक्किएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

बिहीबार साँझ भएको घटनामा मृत्यु हुनेमा सोही स्थानका ३५ बर्षीय राजकुमार गोले रहेका छन् । गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि हेटौडा ११  स्थित सिएमसी चुरेहिल अस्पताल लगिएको थियो । उपचारका क्रममा रहेका गोलेलाई साँझ ५ः४५ बजे चिकित्सकले गोलेलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो । 

घटनामा घाइते भएका मकवानपुरगढी –७ सानडाँडा बस्ने ५० बर्षीय मानबहादुर गोले र मकवानपुरगढी गाउँपालिका –२ मोरे बस्ने राजकुमार स्याङ्तानको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

नयाँ बिजुली लाइन बिस्तारका लागि स्थानीयबासिन्दाहरुले फलामे पोल गाडिरहेका थिए । सो क्रममा फलामे पोल हाइटेन्सन लाइनको तारमा छुन गएर तीन जनालाई करेन्ट लागेको थियो ।