माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), चैत १९ गते । नेपाली नयाँ वर्षको अवसरमा पोखरामा २१ औँ फेवा नववर्ष महोत्सवको तयारी गरिएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा हुने महोत्सव आगामी चैत २९ गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सव यस पटक पर्यटन, संस्कृति र खानालाई केन्द्रमा राखेर आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।
पोखराको खहरेदेखि सहिदचोकसम्मको बिच सडक क्षेत्रमा सञ्चालन हुने महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै विभिन्न कार्यक्रम समावेश गरिएको छ । महोत्सव अवधिभर सहभागी होटलहरूले दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । सुवेदीका अनुसार ई–सेवामार्फत बुकिङ गर्दा थप सुविधा दिइने छ ।
महोत्सवका प्रमुख आकर्षणमा प्रदेशस्तरीय सांस्कृतिक कार्यक्रम, खानाका परिकारहरूको प्रदर्शनी, परम्परागत भेषभूषा प्रतियोगिता, पञ्चैबाजा र पर्यटक दौड प्रतियोगिता लगायत छन् । साथै सांस्कृतिक, मनोरञ्जनात्मक, लोकदोहोरी तथा पप कन्सर्टका कार्यक्रम पनि सञ्चालन हुनेछन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र सडक सञ्जालको सुधारसँगै पर्यटक आगमन बढ्ने अपेक्षा होटल संघ पोखराको छ । अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्दै पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको होटल संघ पोखराका सचिव पार्वती पाण्डेले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा पर्यटन कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले पर्यटकीय राजधानी पोखराको पर्यटन प्रवर्धनमा महोत्सवले सघाउने बताउनुभयो ।