• ८ मंसिर २०८१, शनिबार

निजीमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थी बढी

blog

इलाम, माघ १५ गते । इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । पालिकाभित्र सञ्चालित बाल कक्षादेखि कक्षा १२ सम्म सामुदायिक विद्यालयमा ६१ दशमलव ७४ प्रतिशत र संस्थागत विद्यालयमा ३८ दशमलव ३६ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “विसं २०७८ को तुलनामा गर्दा सामुदायिक विद्यालयमा ११ दशमलव २५ प्रतिशत विद्यार्थी वृद्धि भएको देखिन्छ ।” पालिकामा सामुदायिक विद्यालय, गुरुकूल र गुम्बासमेत गरी ६६ वटा, संस्थागत ३१ वटा र गुठीबाट सञ्चालित एउटा गरी  जम्मा ९८ वटा विद्यालय सञ्चालनमा छन् । साथै सामुदायिक सिकाइ केन्द्र तीन वटा र स्नातक तहसम्म अध्यापन हुने एउटा क्याम्पस पनि सञ्चालनमा छन् । 

क्याम्पसमा हाल करिब तीन सय विद्यार्थी अध्ययनरत रहेको प्रवक्ता भुजेलको भनाइ छ । उहाँका अनुसार नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी तीन सय ९८, माध्यमिक तथा आधारभूत तहका अनुदान कोटाको शिक्षक सङ्ख्या १४, बाल शिक्षक ६२ तथा विद्यालय सहयोगी र सहायक कर्मचारी ७८ गरी जम्मा पाँच ५२ जनाको दरबन्दी छ ।

नगरपालिका क्षेत्रभित्रका विद्यालय र समग्र शैक्षिक स्थिति सुधारका लागि पालिकाले आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७६ तथा नियमावली २०७६ लागू गरी समयसापेक्षरुपमा संशोधन गर्दै आएको नगरप्रमुख रणबहादुर राईले बताउनुभएको छ । 

“सबै सामुदायिक विद्यालयको दरबन्दी मिलान सम्पन्न गरी विषयगत शिक्षक व्यवस्थापन गरेका छौँ”, प्रमुख राईले भन्नुभयो, “सबै आधारभूत तहमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा शिक्षण सिकाइ भइरहेको छ । इन्टरनेटको पहुँच सबैतिर पुगेको छ ।” 

नगरपालिकाले सामुदायिक विद्यालयको आर्थिक व्यवस्थापन गर्न कार्यविधि २०७७ पारित गरी कार्यान्वयन गरिरहेको छ । विद्यालय कार्यसम्पादन निर्देशिका, २०७८ बमोजिम करार सम्झौता हुने गरेको र समयसमयमा स्वमूल्याङ्कन हुने गरेको राईले बताउनुभयो । 

विद्यार्थी गणित विषयमा कमजोर भएको पाइएपछि नगरपालिकाले ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ भन्ने नाराका साथ विद्यार्थीलाई गणित अभ्यास पुस्तिका वितरण गरेको छ भने आधारभूत विद्यालयमा विज्ञान तथा गणित प्रयोगशाला स्थापना र सञ्चालन भइरहेको छ । 

‘बाह्र महिना बाह्र कार्यक्रम’ अन्तर्गत हरेक महिना अतिरिक्त क्रियाकलाप पनि हुने गरेको छ । पालिकाले सञ्चालन गर्दै आएको ‘छोरी बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले बताउनुभयो । 

“कार्यक्रमअन्तर्गत नगरपालिकाले करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसमा अध्ययनरत एक सय ५४ जना छोरी बुहारीका लागि वार्षिक रू २५ लाख छात्रवृत्ति उपलब्ध गराइरहेको छ”, उहाँले भन्नुभयो, “यस वर्ष वितरण गरिएको रू २५ लाखबाट छोरी बुहारीलाई स्नातक तह उत्तीर्ण गराई उच्च शिक्षा प्र्राप्त गर्ने महिलाको दर बढाउने कार्य भइरहेको छ ।” 

यहाँका २४ वटा सामुदायिक विद्यालयमा ई-हाजिरी जडान भएका छन् । अविभावक परिचयपत्र वितरण, बाल बचतका लागि बैंक खाता, सूचना प्रविधि प्रयोगशालाको स्थापना, मेयर शिक्षा सुधार कोष सञ्चालन कार्यविधिबाट प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्तिलगायतका कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नगरपालिकाले प्रयास गरिरहेको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताउनुभएको छ । सूर्योदय प्रदेश नं १ को पर्यटकीय नगरी र तेस्रो बालमैत्री नगरपालिकासमेत हो ।