• १३ साउन २०८१, आइतबार

गहुँ अभावमा मैदा मिल बन्द

blog

काठमाडौँ, माघ १५ गते ।  कच्चा पदार्थ अभावले मुलुकभरका ६० प्रतिशत मैदा मिल बन्द भएका छन् । भारतले गहुँको निर्यातमा रोक लगाएपछि अभाव भई मैदा मिल बन्द भएका हुन् । मुलुकभर ३८ वटा मैदा मिल रहेकामा हाल ४० प्रतिशत सञ्चालनमा रहेका र बाँकी पूर्ण रूपमा बन्द भएको मैदा उद्योग सङ्घले जनाएको छ । विगत आठ महिनादेखि गहुँको आयात रोकिँदा कच्चा पदार्थ अभाव भई मैदा मिल बन्द भएका हुन् । 

सङ्घका अध्यक्ष कुमुद दुगडले गहुँ अभावले बिस्कुट, चाउचाउ, बेकरी, तन्दुरी/नान, भोजनालय, रेस्टुरेन्टलगायतका ठूलासाना होटलमा मागअनुसार मैदा, आँटा उपलब्ध गराउन नसकिएको बताउनुभयो । हाल ४० प्रतिशत मैदा उद्योग सञ्चालनमा रहेको र एक हप्ताका लागि मात्रै कच्चा पदार्थ रहेकाले त्यसपछि भारतबाट गहुँ आयात नभए पूर्ण रूपमा उद्योग बन्द रहने उहाँले बताउनुभयो । 

भारतबाट पहिलो चरणमा आउन लागेको ३० हजार टन गहुँले १० दिनको मात्र माग धान्ने हुँदा नयाँ उत्पादन बजारमा आउने बेलासम्मका लागि थप दुई लाख टन गहुँको माग गरिएको उहाँले जानकारी दिनुभयो । भारतबाट ल्याउन लागेको गहुँ आगामी एक साताभित्रमा आइपुग्ने उहाँले जानकारी दिनुभयो । 

सङ्घका अनुसार मुलुकभर रहेका मैदा मिललाई वार्षिक १० लाख टन गहुँ आवश्यक पर्छ । भारत सरकारले उपलब्ध गराएको ५० हजार टन गहुँले मैदा मिललाई २० दिनलाई पुग्ने र त्यसपछि फेरि अभाव हुने व्यवसायीको भनाइ छ । गहुँको नयाँ उत्पादन बजारमा आउन अझै तीन महिना लाग्ने गर्छ । तीन महिनाका लागि ३८ वटा उद्योगका लागि दुई लाख टन गहुँ आवश्यक पर्ने सङ्घको भनाइ छ । नयाँ उत्पादन बजारमा आउन समय लाग्ने हुँदा थप गहुँ आयात गर्न प्रक्रिया अगाडि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गरेको सङ्घले जनाएको छ । 

गत वैशाख ३० गते गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले पुस पहिलो साता चार महिनाभित्रमा आयात गरिसक्ने गरी नेपालका लागि ५० हजार मेट्रिक टन गहुँ निर्यातको अनुमति दिएको थियो । त्यसअनुसार पहिलो चरणको ३० हजार मेट्रिक टन गहुँ आयातका लागि कोटा निर्धारण गरिएको हो । गहुँ आयातको अनुमति पाएका उद्योगले आगामी चैत दोस्रो सातासम्म गहुँ आयात गरिसक्नुपर्नेछ ।

रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि भारतले नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । लामो समयसम्म आयातमा प्रतिबन्ध लाग्दा बजारमा गहुँको अभाव भई मिल बन्द हुन थालेपछि उद्योगीले खुला गर्न माग गरेका थिए । 

मैदा उद्योगले आव २०७७/७८ मा उत्पादन गरेको मैदाको परिमाणका आधारमा उद्योगलाई दामासाही ७ प्रतिशतका दरले गहुँ आयातको कोटा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । मैदा उत्पादनका आधारमा गरिएको कोटा वितरणमा न्यूनतम ८२ देखि अधिकतम दुई हजार ३७५ मेट्रिक टनसम्म गहुँ आयातको कोटा सिफारिस भएको मन्त्रालयले जनाएको छ । बजारमा गहुँको अभाव हुँदा चोरी तस्करीबाट आएको गहुँले माग धानिरहेको व्यवसायीको भनाइ छ । खुला सिमानाका कारण चोरी तस्करीबाट ठूलो परिणाममा गहुँ आयात हुने गर्छ । 

सङ्घका अनुसार स्वदेशी मैदा उद्योगलाई वार्षिक १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने गरेकामा चार लाख मेट्रिक टन स्थानीय उत्पादन र बाँकी छ लाख मेट्रिक गहुँ आयात गर्नुपरेको छ । मैदा, आँटा, पास्ता, बिस्कुटलगायतका उत्पादन गहुँबाट हुने गर्छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७८/७९ मा सात लाख १६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती भएकामा २१ लाख ४४ हजार ५६८ मेट्रिक टन उत्पादन भएको थियो । आव २०७७/७८ मा सात लाख ११ हजार हेक्टरमा खेती भई २० लाख नौ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।